वाणिज्य बैंकहरूको नाफा ४५ बाट ५१ अर्ब पुग्यो

बिहिबार, १६ बैशाख, २०७८
डिजिटल संस्करण

गत आर्थिक वर्षको ९ महिनामा ४५ अर्ब २५ करोड खुद नाफा कमाएका वाणिज्य बैंकहरूले यो वर्ष त्यही अवधिमा १२ प्रतिशत बढाएर ५० अर्ब ७४ करोड पुर्याएका छन्

वाणिज्य बैंकहरूको चालू आवको तेस्रो त्रैमासमा नाफा १२ दशमलव १४ प्रतिशतले वृद्धि भएर ५१ अर्ब रुपैयाँ पुगेको छ । गत आवको यही अवधिमा बैंकहरूको नाफा ४५ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । 

गत असोजअघि कर्जा लगानीमा केही समस्या व्यहोरेका बैंकहरूले त्यसपछि भने आक्रामक कर्जा विस्तार गर्न सफल भए । यद्यपि, यसले बढाएको प्रतिस्पर्धाका कारण बैंकहरूको मूल व्यवसायबाट हुने आम्दानी घटेपछि अन्य आम्दानी बढेको हो । यसअघि राखिएका प्रावधानहरू राइटब्याक गर्न सकेको कारणले पनि नाफा बढ्न सफल भएको हो । कोभिडकै कारण कर्जाको ब्याज नियमित नभइरहेकोमा हाल यस्तो कर्जा उठाउन सकेका कारण बैंकहरूले उच्चदरमा यसअघिको प्रावधान फिर्ता (राइटब्याक गरेका) ल्याएका हुन् । 

‘बैंकहरूबीच तीव्र प्रतिस्पर्धाका कारण राष्ट्र बैंकले तोकेको स्प्रेडदरभन्दा पनि कम कायम गरेर कर्जा लगानी गर्नुपरेको छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘यद्यपि असोजपछि लगानीमा सुधार देखिएको र केही बैंकहरूले सेयर कारोबारबाट पनि कमाएको, पुरानो प्रावधानमा राखिएको कर्जा असुल हुन सकेकाले पनि नाफा बढ्न सहयोग पुगेको देखिन्छ ।’ 

बैंकहरूको मूल व्यवसाय कर्जा लगानी हो । निक्षेपमा दिएर र कर्जामा लिएर हुने खुद ब्याज आम्दानी नै २ दशमलव २१ प्रतिशतले घटेर ९५ अर्ब ९० करोडमा सीमित भएको छ । यसअघि यस्तो आम्दानी ९८ अर्ब ८ करोड रुपैयाँ थियो । बैंकहरूको निक्षेप र कर्जाको ब्याजदर अन्तरऔसतमा ३ दशमलव ७७ प्रतिशत छ । जबकि राष्ट्र बैंकको नियमअनुसार यो ४ दशमलव ४ प्रतिशत कायम गर्न सक्छन् । १७ वाणिज्य बैंकको यो दर ४ प्रतिशतभन्दा पनि कम छ । बैंकहरूको कर्जा लगानी भने अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढेर ३५ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरूको निक्षेप संकलन पनि २४ प्रतिशतले नै बढेर ३९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । 

कोरोनाकालमा कर्जा बढाउन सके पनि तीव्र प्रतिस्पर्धाले मूल व्यवसायबाट हुने आम्दानी घट्यो, सेयर कारोबार, राइटब्याकलगायतको आम्दानी बढ्यो

बैंकहरूको अन्य सञ्चालन आम्दानी दुई गुणाले बढेको छ । ३ अर्ब ३५ करोड रुपैयाँबाट बढेर अन्य सञ्चालन आम्दानी ६ अर्ब ९० करोड पुगेको हो । यसमा बैंकहरूले सेयर कारोबार गरेर बुक गरिसकेको आम्दानीको ठूलो हिस्सा हुने गर्छ । बैंकहरूपिच्छे यस्तो आम्दानी भने दोब्बरदेखि ११ गुणासम्म भएको छ । 

कृषि विकास बैंक, नेपाल बंगलादेश बैंक, एनसिसी बैंक, लक्ष्मी, मेगा, नबिल बैंकलगायतको यस्तो आम्दानी बढेको हो । नेपाल एसबिआई बैंक, सानिमा, सेञ्चुरी कमर्सियल बैंकको भने यस्तो आम्दानी सबैभन्दा कम छ । बैंकरको ट्रेडिङबाट हुने आम्दानी पनि करिब १६ प्रतिशतले बढेर ८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यस्तो आम्दानीमा धेरैजसो हिस्सा विदेशी मुद्राको विनिमयबाट हुने भए पनि बैंकहरूले सेयरमा लगानी गर्न पाउने कुल पुँजीको १ प्रतिशतको आम्दानी पनि जोडिएको हुन्छ । 

बैंकहरूले असारयता ६ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी बढाएका छन् । असल कर्जाकै लागि एक प्रतिशतबराबर रकम राख्दा पनि ६ अर्ब ६८ करोड जोखिम प्रावधान राख्नुपर्छ । तर, बैंकहरूको प्रावधान राखेर पनि बैंकहरूले १ अर्ब २१ करोड रुपैयाँ खुद प्रावधान (एक्सपेरिमेन्ट चार्ज) मात्र राखे पुगेको देखिन्छ । 

‘बैंकहरूले राख्नुपर्ने जोखिम प्रावधान रकम राखेर पनि राइटब्याक गर्दा करिब १ अर्ब २१ करोड मात्र राख्नुपरेको देखिन्छ,’ दाहालले भने, ‘यसको अर्थ बैंकहरूले ५ अर्ब ४७ करोडभन्दा बढी रकम राइटब्याक गर्न सफल भएका हुन् ।’ 

बैंकहरूको लाभांश वितरण गर्ने क्षमता पनि औसतमा ११ प्रतिशत देखिएको छ । यद्यपि नबिल बैंक, एनएमबि बैंक र प्राइम बैंकको यो दर उच्च छ । यी बैंकको यस्तो दर क्रमशः २८, १३ र १३ प्रतिशत छ । चैतसम्म कायम चुक्तापुँजीका आधारमा यो प्रतिफल दर देखिएको हो । 

बैंकहरूले उठ्न नसकेको कर्जाको ब्याजको ६३ प्रतिशत रकम राष्ट्र बैंकको नियामकीय व्यवस्थामा राख्नुपर्छ । हाल यो रकम १३ अर्ब ६७ करोड रुपैयाँ छ । बैंकहरूको खराब कर्जा औसतमा १ दशमलव ३८ प्रतिशत छ । एनसिसी, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट, सेन्चुरी कमर्सियलको यो अनुपात २ प्रतिशत हाराहारी छ । त्यस्तै, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको यो दर ३ प्रतिशतभन्दा माथि छ । 

बैंकहरूले आगामी दिन चुनौतीपूर्ण रहे पनि निषेधाज्ञाको यो अवधि नलम्बिने अवस्था बनेमा धेरै समस्या नहुने बताएका छन् । ‘हामी योबीचमा पनि अत्यावश्यक सेवा रोक्दैनौँ,’ दाहालले भने, ‘यो अवस्था नलम्बियोस् भन्नेमा नै छौँ, अन्यथा भएमा सोही अनुसार छलफल गरेर अगाडी बढ्नुपर्ने हुन्छ ।’ 

See More On

सुझावित समाचार