कोकाकोलाले १ सय ७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । कम्पनीले २५ रुपैयाँ मूल्य तोकिएको सिसाको बोतल नेपाली उपभोक्ताका लागि डिजाइन गरेर बजारमा ल्याएको हो ।
यो बोतलमा छापिएको, नेपाली भाषामा लेखिएको नयाँ कोकाकोलाको लोगोले स्थानीय रूपमा नेपाली उपभोक्तासँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्रान्डको प्रतिबद्धता झल्काउने कम्पनीले जनाएको छ । कोकाकोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजिबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल भएको कम्पनीले जनाएको छ ।
आरजिबी बोतलहरू रियुजेबल बोतल भएकाले वातावरणमैत्री पनि रहेको कम्पनीको दाबी छ । ग्लास प्याकेजिङले गर्दा कोकाकोलाको स्वाद सधैँ ताजा रहने जनाइएको छ । १ सय ७५ मिलिलिटर आरजिबी बोतल कोकाकोला, स्प्राइट र फ्यान्टामा उपत्यकाका किराना पसलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नयाँ बोतल सार्वजनिक गर्दै नेपालका लागि कोकाकोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोकाकोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सन उपलब्ध गराएको बताए । नयाँ बोतलको लन्चले उपभोक्तालाई आफ्नो मनपर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्नुका साथै दिगो प्याकेजिङ प्रदान गर्नु पनि कम्पनीको मिसन रहेको उनको भनाइ थियो ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले किफायती मूल्यबाहेक कम्पनी आफ्ना उपभोक्ताको प्रिय पेय पदार्थ प्रदान गर्न प्रतिबद्ध रहेको बताए । ‘दिउँसै झप झप, कोकले अप’ भन्ने ट्यागलाइनको साथ रहेको बोतलले युवा उपभोक्तालाई दिउँसो ब्रेकको दौरानमा कोक पिएर ऊर्जा प्रदान गर्न र अपलिफ्टेड हुन प्रेरित गर्ने उनको भनाइ छ ।