१७ जेठ ०७३ मा सरकारले पाँच वर्षको अवधिमा काम सक्ने गरी ठेक्का दिएकोमा १६ जेठमा इम्बोस्ड नम्बरप्लेट जडानको अवधि सकिँदै छ, तर अहिलेसम्म ७ हजार सवारीसाधनमा मात्रै जडान, साढे २ वर्ष म्याद थप्ने तयारी
पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नब्बर जडान गर्न सुरु गरेको समय०७८ मा पूरा हुँदै छ । तर, तोकिएको म्याद पूरा हुन करिब १ महिना बाँकी हुँदा लक्ष्यको शून्य दशमलव ३० प्रतिशत मात्रै नम्बरप्लेट जडान भएको छ । विभागका अनुसार हालसम्म ७ हजार ३ सय १८ सवारीसाधनमा मात्र इम्बोस्ड नम्बरप्लेट जडान सम्पन्न भएको छ । यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलका अनुसार जडान भइसकेका समेत गरी अहिलेसम्म १० हजार ५ सय ७० सवारीसाधनका लागि इम्बोस्ड नम्बरप्लेट प्रिन्ट गरेर सम्बन्धित कार्यालयमा पुर्याउने काम सकिएको छ ।
यसअघि १७ जेठ ०७३ मा सरकारले ६० महिनाको समयावधि दिएर ठेकेदार कम्पनी बंगलादेश र अमेरिकाको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) डेकाटुर टाइगरसँग सम्झौता गरेको थियो । जडान थालनी भने ५ भदौ ०७४ मा भएको हो । तत्कालीन पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले तत्कालीन यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईको गाडीमा प्लेट जडान गरेर इम्बोस्ड नम्बरप्लेट थालनी गरिएको थियो ।
सर्वोच्च अदालतले नम्बरप्लेट जडान कार्य रोक्ने आदेश दिनुअघि ०७४ फागुनसम्ममा करिब ४ हजार सवारीसाधनमा जडान गरिएको थियो । पछिल्लोपटक १ साउन ०७७ देखि इम्बोस्ड नम्बर जडान थालिएको हो । यो अवधिमा ३ हजार सवारीसाधनले इम्बोस्ड नम्बरप्लेट जडान गरेका छन् ।
साढे दुई वर्ष म्याद थप गर्ने तयारी
तोकिएको समयमा काम नभएपछि ३० महिना म्याद थप गर्ने तयारी गरिएको छ । यातायात व्यवस्था विभागले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारीमा रहेको निर्देशक पौडेलले जानकारी दिए । ‘कुनै पनि ठेक्काको ५० प्रतिशत समयावधि मन्त्रालयका सचिवले थप गर्न सक्ने भएकाले त्यसैअनुसार प्रक्रिया अघि बढाउँदै छौँ,’ उनले भने ।
यातायात व्यवस्था विभाग वा ठेकेदार कम्पनीका कारण नभएर अदालतको आदेशअनुसार ढिलाइ भएकाले म्याद थप गर्नुपरेको विभागका अधिकारीहरूको भनाइ छ । जेठमा ठेकेदार कम्पनी डेकाटुर टाइगरसँगको सम्झौता समाप्त हुँदै छ । तर, दुवै पक्षको कमजोरी नभई अदालतमा परेको मुद्दाका कारण ढिलाइ भएकाले म्याद थप गरेर काम गर्न लगाइनेछ । त्यसका लागि न्यूनतम साढे दुई वर्ष म्याद थप गरिनेछ । त्यसपछि पनि म्याद थप गर्नुपरे मन्त्रिपरिषद् बैठकमा लैजानुपर्नेछ ।
म्याद थपे पनि लागतमा कुनै परिवर्तन नहुने
सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने गरी डेकाटुरसँग ४ अर्ब ७८ करोड ७७ लाख (४ करोड ३७ लाख ८७ हजार ५ सय अमेरिकी डलर) मा बुट मोडलमा सम्झौता गरेको थियो । त्यसमा समय थप गर्दा पनि कुनै किसिमको थप लागत सरकारले दिनुनपर्नेमा दुवै पक्ष सहमत रहेको विभागका अधिकारीहरूको भनाइ छ ।
यसरी भयो इम्बोस्ड नम्बरमा ढिलाइ
इम्बोस्ड नम्बरमा नेपाली भाषा राख्ने कि अंग्रेजी राख्ने भन्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि काम ठप्प भएको थियो । अंग्रेजी भाषामा इम्बोस्ड नम्बरप्लेट जडान वा वितरण गर्न रोक लगाउन माग गर्दै दायर भएको रिटलाई सर्वोच्च अदालतले २७ मंसिर ०७६ मा खारेज गरेको थियो । संवैधानिक इजलासमा चलेको उक्त मुद्दामा इम्बोस्ड नम्बर जडान तथा वितरण रोकिएको २१ महिना १७ दिनपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ न्यायाधीशको इजलासबाट रिट खारेज गर्ने फैसला गरेको थियो । यसअघि १० फागुन ०७४ मा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको अन्तरिम आदेशले अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट जडान–वितरण गर्ने कार्य रोकिएको थियो । अदालती प्रक्रियामा गएपछि फैसला नहुन्जेल साढे दुई वर्ष कुनै काम नै नभएको यातायात व्यवस्था विभागको भनाइ छ ।
त्यस्तै, विभागले ०७६ माघदेखि नै इम्बोस्ड नम्बर वितरण थाल्ने तयारी गरे पनि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरूले प्रधानमन्त्रीलाई भेटी संस्कृतिको जगेर्नाका लागि भन्दै नेपालीमै इम्बोस्ड नम्बर बनाउन माग गरे । प्रधानमन्त्रीले प्राज्ञको मागमा सकारात्मक भएपछि पुनः ढिलाइ भएको थियो । त्यसका साथै अदालतले गरेको फैसलाको पूर्णपाठ पनि असार ०७७ मा आयो । त्यसपछि विश्वव्यापी मान्यताअनुसार अंग्रेजीमै गर्नु उपयुक्त हुने विषयमा प्रधानमन्त्री सकारात्मक भएपछि साउन ०७७ देखि पुनः वितरण थालिएको हो ।
विभागले सकेसम्म आवेदन दिएकै दिन इम्बोस्ड नम्बरप्लेट उपलब्ध गराउने गरी तयारी गरेको दाबी गरेको छ । ‘अहिलेसम्म झन्झटिलो प्रक्रिया थियो, त्यसलाई सरल र सहज बनाउँदै छौँ,’ निर्देशक पौडेलले भने । निवेदन दिएकै दिन त्यसलाई स्वीकृत गराउने र राजस्व बुझाएको भने हुनुपर्नेछ । राजस्व बैंकमार्फत बुझाउनुपर्ने भएकाले त्यहाँ केही समय लाग्न सक्ने उनको भनाइ छ । बढी भिड भएको खण्डमा पनि भोलिपल्टसम्ममा जडान हुनेछ । अर्कोतर्फ इम्बोस्ड नम्बर लगाउने काम अनिवार्य गरेर पनि छिटो सम्पन्न गर्न चाहेको सरकारी अधिकारीहरूको भनाइ छ ।
के हो इम्बोस्ड नम्बरप्लेट ?
सवारीसाधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको प्रविधिमा आधारित नम्बरप्लेटलाई इम्बोस्ड नम्बरप्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो । हाल सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ । प्लेटको लेबलभन्दा अक्षरको लेबल माथि उठेकाले इम्बोस्ड भनिने यस्तो नम्बरप्लेट आधुनिक र सुरक्षित मानिन्छ । इम्बोस्ड नम्बरप्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन नम्बर’ रहनेछ । यसले कति नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा रहेको छ भन्ने पत्ता लगाउँछ ।