उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सबै काम बन्द (भिडियोसहित)

आइतबार, १२ बैशाख, २०७८
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सबै काम स्थगित भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार संयुक्त बैठक बसेर अत्यावश्यकबाहेकका काम बन्द गर्ने निर्णय गरेका हुन् । अत्यावश्यकबाहेकका सेवा १३ देखि २० वैशाखसम्म स्थगित गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । 

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि परीक्षण गर्नुपर्ने भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरिएको पराजुलीले बताए । यसबाहेक भिडभाड हुने अन्य कार्यालयहरूमा पनि सेवा प्रवाहका वैकल्पिक विधि अपनाउन आग्रह गरे । 

स्थगित गरिएका सेवाहरूमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता रहेका छन् । तर, शान्तिसुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्यहरू र अन्य अत्यावश्यक सिफारिसका सम्बन्धमा सेवा सुचारु रहने बताए । 

आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर अनावश्यक भिडभाड हुने कार्यालयको सेवा प्रवाहलाई कार्यतालिका बनाई आलोपालो गरी वैकल्पिक व्यवस्था मिलाई भिडभाड कम गर्ने, सचेतना अभियान चलाउने, प्रचार प्रसार गर्ने र भिडभाड कम गर्न सबैलाई अनुरोध गर्ने निर्णय गरेको पनि पराजुलीले बताए । मास्क नलगाई हिँड्ने व्यक्तिलाई जरिवाना गर्न प्रहरीलाई निर्देशन दिइएको पनि उनले बताए । 

अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरूले अनावश्यक भिडभाड नगरी जनस्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गर्दै अनिवार्य रूपमा मास्क लगाएर मात्रै कार्यालय प्रवेश गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

सुझावित समाचार