वातावरण परिवर्तन सम्मेलन सुरु

शुक्रबार, १० बैशाख, २०७८
डिजिटल संस्करण

वातावरण परिवर्तन सम्मेलन बिहीबारदेखि अमेरिकामा सुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा विश्वका ४० देशका राष्ट्राध्यक्षहरूको सहभागिता रहेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । सम्मेलनको पहिलो सेसनमा ‘२०३० सम्म वातावरण परिवर्तन’ सम्बन्धी छलफल भएको थियो । शुक्रबारसम्म चल्ने सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा वातावरण रक्षा गर्न सबै एक भएर काम गर्नुपर्ने बताएका छन् ।

‘मानवता रक्षा गर्नका लागि हामी एक हुनुपर्छ,’ मोदीले भने । अमेरिकी राष्ट्रपति बाइडेनले कोइला तथा पेट्रोलियम पदार्थबाट हुने प्रदूषण घटाउन अमेरिकामा यसको प्रयोग ५० प्रतिशत कम पार्ने योजना रहेको बताएका छन् । उनी भन्छन्, ‘अमेरिकामा कोइला र पेट्रोलियम पदार्थले पनि वातावरणमा नोक्सानी पुर्याइरहेको छ, आउँदा दिनमा यसबाट हुन सक्ने नोक्सानी घटाउन हामी यसको प्रयोगमा ५० प्रतिशतले कमी ल्याउने योजनामा छौँ,’ बाइडेनले भने । 

यस कार्यक्रममा भारत तथा चीनजस्ता धेरै जनघनत्व भएका देशले सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘यदि विश्वमा वातावरणसम्बन्धी राम्रो काम गर्नु छ भने चीन र भारतले पनि साथ दिनुपर्छ,’ बाइडेनले भने, ‘हामी वातावरण रक्षार्थ मिलेर काम गर्छौं भने भविष्य राम्रो हुनेछ ।’ 

गत २० जनवरीमा राष्ट्रपतिको शपथ लिएपछि बाइडेनले आफ्नो पहिलो भाषणमै क्लाइमेन्ट चेन्जको मुद्दा उठाएका थिए । त्यसवेला उनले भनेका थिए, ‘यदि विश्वमै वातावरण परिवर्तनमा सुधार ल्याउनु छ भने सुरुवातमै चीन र भारतजस्ता ठूलो देशको यसमा अहम् भूमिका रहन सक्छ, साथै यसमा अर्थ व्यवस्थाको काम पनि उत्तिकै छ ।’ कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय वातावरण परिवर्तनसम्बन्धी खासै काम नभएको भारतीय प्रधानमन्त्री मोदीको भनाइ छ ।

‘अहिले हामीले पहिलो प्राथमिकतामा कोरोना महामारीलाई राखेका छौँ, यसका साथै वातावरण परिवर्तनसम्बन्धी काम पनि उत्तिकै हुनुपर्छ,’ उनले भने, ‘विकासका चुनौतीलाई ध्यानमा राखेर सबै देशले यससम्बन्धी काम गर्नुपर्छ ।’ 

See More On

सुझावित समाचार