नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीलाई बलियो बनाउन आफूले गरिरहेको संवादको प्रयासलाई कमजोरी नठान्न माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन् । पार्टीको ७३औँ स्थापना दिवस एवं लेनिनजयन्तीको अवसर पारेर बल्खुमा आयोजना गरिएको पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतिविधिलाई मान्यता दिन नसकिने र नेताहरूलाई सम्झाउन–बुझाउन आफूले गरिरहेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिएका हुन् ।
उनले भने, ‘सकेसम्म साथीहरूलाई, हरेकलाई गल्ती महसुस गर, अराजकता छोड, अनुशासित भएर पार्टीमा आएर काम गर, त्यो अवसर अहिले पनि दिन चाहिरहेका छौँ, अहिले पनि हामी कुरा गरिरहेका छौँ । तर, यसलाई यदि कसैले कमजोरी ठान्यो भने, यदि कसैले अब पार्टीलाई फेरि बिथोल्न सकिन्छ, बिथोल्ने मनसायले व्यवहार गर्न खोज्छ भने अथवा समूहगत रूपमा गुटको प्रतिनिधित्व गर्दै कसैले कुरा गर्न खोज्छ भने त्यो कुरा सम्भव छैन ।’
कुनै वेला आफ्नो पक्षलाई सडकबाट हटाउनेहरूले अहिले अर्को पार्टी खाेलेर हिँड्दा पनि आफूले कारबाही नगरेर सम्झाइबुझाई गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष ओलीले बताए । उनले भने, ‘उनीहरूले सडकबाट हामीलाई विभिन्न ढंगले कारबाही गरेर निकाल्यौँ, हटायौँ भनेर तमासा गरेका हुन्, नगरा पिटाएका हुन् । हाम्राविरुद्ध हामीले आन्दोलनबाट पाखा लगायौँ भनेर हाम्राविरुद्ध भएको छ । तर, यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभरि खोलेर हिँड्दा पनि अहिलेसम्म हामी कारबाही नगरेर सम्झाइबुझाई गर्ने प्रयास गरिराखेका छौँ । अहिले पनि हाम्रो प्रयास सम्झाइबुझाई गर्नेमा छ । अहिले पनि हाम्रो प्रयास सम्झाउनेमा छ, सच्याउनेमा छ । अहिले पनि हाम्रो प्रयास भरसक पार्टीमा क्षति नहोस् भन्ने कुरामा छ ।’
पार्टीमा अराजकता निम्त्याउन नपाइने पनि अध्यक्ष ओलीले प्रस्ट पारे । अनुशासनहीनतासँग आफूले कहिल्यै सम्झौता गर्न नसक्ने पनि ओलीले बताए । अनुशासनहीनता, अराजकता, पार्टीविरोधी गतिविधि, गुटगट गतिविधिलाई अब कुनै पनि हालतमा मान्यता दिन नसकिने बताए । यदि कुनै व्यक्ति व्यक्तिगत तवरमा कुराकानी गर्न सक्ने, जिम्मेवारी लिन सक्ने, तर पार्टीभित्र गुट बनाएर भागबन्डा नचल्ने बताए ।
उनले भने, ‘पार्टी जे पनि गर्न पाइने अराजकता पनि हुने, अनुशासनहीनता पनि चल्ने, यस्तो खालको ठाउँचाहिँ होइन । पार्टी अनुशासित बनाउनुपर्छ, हामी अनुशासनहीनतासँग हामी सम्झौता गर्न सक्दैनौँ । अराजकतासँग हामी सम्झौता गर्न सक्दैनौँ । हामी अनुशासनहीनता, अराजकता, पार्टीविरोधी गतिविधि, गुटगत गतिविधिलाई अब कुनै पनि हालतमा मान्यता दिन सक्दैनौँ । त्यसकारण मैले भनेको छु– व्यक्तिगत तवरमा कुराकानी हुन सक्छ, व्यक्तिगत तवरमा कुरा गर्ने, व्यक्तिगत कुरामा सच्याउने, व्यक्तिगत तवरमा जिम्मेवारी दिने कुरा हुन सक्छ । समूहगत रूपमा पार्टीभित्र गुट बनाउने, अनि मेरो गुटको यति भाग भन्ने यस्ता भागबन्डाहरू अबउप्रान्त पार्टीमा चल्दैन ।’
कुनै वेला आफूलाई कारबाही गर्नेहरूबाट अहिले संसदमा फ्लोर क्रस गर्ने काम भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो किसिमको अराजक गतिविधि नेपालको संसदीय इतिहासमा कहिल्यै नभएको पनि बताए । संसदमा फ्लोर क्रस गरेर कम्युनिस्ट पार्टीलाई सिध्यायौँ भनेर गर्व गर्नेहरूसँग आफूहरू जुधिरहेको पनि बताए ।