नेपालमा १४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किँदै छ । यही शनिबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स, मलेसिया र नेपाल सम्मिलित त्रिदेशीय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।
प्रतियोगितामा सहभागी हुन नेदरल्यान्ड्स र मलेसियाको टोली मंगलबार मात्रै काठमाडौं आइपुगेका छन् । यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) वा एसियाली क्रिकेट काउन्सिल (आइसिसी) को आधिकारिक प्रतियोगिता होइन ।
यद्यपि, नेपाली टोलीले घरेलु त्रिवि क्रिकेट मैदानमा १४ महिनापछि पहिलोपटक विदेशी टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले आफ्नो अन्तर्राष्ट्रिय स्तरको एक मात्र रंगशालामा पछिल्लोपटक ०७६ माघमा आइसिसी विश्वकप लिग दुईअन्तर्गत ओमान र अमेरिका सम्मिलित शृंखला खेलेको थियो ।
दोहोरो राउन्ड रोविन लिग प्रणालीमा भएको उक्त प्रतियोगितामा नेपालले ओमानसँगको दुईमध्ये दुवै खेल गुमाएको थियो भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । त्यसको झन्डै महिना दिनपछि ११ चैत २०७६ बाट कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण नेपालमा लकडाउनको घोषणा हुँदा अन्य गतिविधिसँगै खेलकुद ठप्प बनेको थियो ।
लकडाउनका कारण लामो समयसम्म कुनै पनि प्रतियोगिता आयोजना हुन सकेन । भाइरस संक्रमण बिस्तारै कम हुँदै गएपछि घरेलु प्रतियोगिता आयोजना सम्भव भयो । संक्रमण कम भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर महिला र पुरुषतर्फ प्रधानमन्त्रीकप र मेयरकप क्रिकेट प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ ।
यद्यपि, अन्य देशमा भाइरस संक्रमण नियन्त्रणबाहिरै देखिएका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता सम्भव भइरहेको थिएन । पछिल्लो समय नेदरल्यान्ड्स र मलेसिया नेपालमा खेल्न इच्छुक देखिएपछि त्रिदेशीय शृंखला सम्भव भएको हो ।
नेपाल आइपुगेका दुवै देशका खेलाडीहरू केही दिनको क्वारेन्टिन बसाइमा हुनेछन् । उनीहरूको बुधबार पिसिआर परीक्षण गरिनेछ । पिसिआर परीक्षणको नतिजा ‘नेगेटिभ’ आएपछि मात्रै उनीहरूले अभ्यास गर्न अनुमति पाउनेछन् ।