लहानमा सुनचाँदी व्यवसायीको हत्या

हत्याको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित, पसल बन्द गरेर राजमार्गमा प्रदर्शन

सोमबार, ३० चैत, २०७७
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिका– २३ का सुनचाँदी व्यवसायी प्रदीप मिझार विश्वकर्माको धारिलो हतियार र गोली प्रहार गरी हत्या भएको छ । शनिबार राति १ बजेतिर सुनचाँदी पसलमा लुटपाट गर्न आएको समूहले उनीमाथि आक्रमण गरेको थियो । विश्वकर्माको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । 

४५ वर्षीय विश्वकर्माले लहान नगरपालिका– २२ बर्छवा घर भए पनि लहान– २३ गढिया चोकमा रहेको वडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । उनको परिवारसमेत सोही घरमा बस्दै आएको छ । लुटेराहरूले विश्वकर्माकी ३५ वर्षीया पत्नी अनिताकुमारी दुलालमाथि पनि आक्रमण गरेका थिए । सप्तऋषि अस्पतालमा उपचारपछि उनी घर फर्किएको मृतकका दाजु वीरेन्द्रले जानकारी दिए । 

२० वर्षअघि गाउँ छोडेर बुटवल, नेपालगन्ज, दाङ हुँदै लहानमा सुनचाँदी पसल सञ्चालन गरेका विश्वकर्मा पछिल्लो एक वर्षदेखि भने वडाध्यक्ष गुप्ताको घरमा पसल सञ्चालन गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा. तपनकुमार दाहालले लुटपाट गर्ने उद्देश्यले ६–७ जनाको समूह विश्वकर्माको घरमा प्रवेश गरेको र खुकुरी, रड प्रहार गरी अचेत बनाएपछि गोली प्रहार गरेको पाइएको जानकारी दिए । खुकुरी, रड प्रहारसँगै छातीमा गोली प्रहार गरेपछि अत्यधिक रक्तस्राव हुँदा विश्वकर्माको ज्यान गएको सप्तऋषि अस्पतालले जनाएको छ ।

सुनचाँदी पसल लुट्न शनिबार मध्यराति आएका लुटेराले सुतिरहेका व्यवसायी प्रदीप मिझार विश्वकर्मालाई धारिलो हतियारले आक्रमण गरेपछि गोली हानेर हत्या गरेको लहान प्रहरीले जनाएको छ

प्रहरीले घटनास्थलबाट फलामको छिनोसहित लहान– ७ का करिब २६ वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ गरेको छ । उनले दिएको सूचनाका आधारमा लहान– २३ घर भएका २९ वर्षीय सूूर्य सहनीलाई पनि पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी डा. दाहालले जानकारी दिए । 

 व्यवसाय र व्यवसायी सुरक्षाको माग
हत्याको विरोधमा आइतबार व्यवसायीहरूले लहानमा प्रदर्शन गरेका छन् । व्यवसायी सुरक्षाको माग गर्दै करिब तीन सय व्यवसायीले प्रदर्शन गरेका हुन् । सुनचाँदी व्यवसायी संघ सिराहा जिल्ला समितिका अध्यक्ष विकास शारडाले व्यावसायिक सुरक्षाको माग गर्दै जिल्लाभरका व्यवसायी प्रदर्शनमा सहभागी भएको बताए । ‘आ–आफ्ना पसल बन्द गरेर करिब तीन सय सुनचाँदी व्यवसायी प्रदर्शनमा सहभागी भए,’ अध्यक्ष शारडाले नयाँ पत्रिकासँग भने, ‘व्यवसाय र व्यवसायी सुरक्षाका साथै हत्यामा संलग्नलाई कारबाही, पीडित परिवारलाई क्षतिपूर्तिलगायत माग पनि हामीले उठाएका छौँ ।’ 

महासंघको जिल्ला समिति, लहान नगर समिति र विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालले हत्याको भत्र्सना गर्दै अपराधीलाई तत्काल पक्राउ गर्न माग गरेको छ । तीनवटै संस्थाले आइतबार विज्ञप्ति निकाली पीडित परिवारलाई क्षतिपूर्ति र व्यावसायिक सुरक्षाको माग गरेको महासंघका केन्द्रीय उपाध्यक्ष भरत अग्रवालले बताए । आफ्ना माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने उपाध्यक्ष अग्रवालले चेतावनी दिए । 

 ६ सदस्यीय वार्ता समिति गठन
पीडित परिवारले विश्वकर्माको शव बुझ्न मानेको छैन । स्थानीय प्रशासनले शव उठाउन आग्रह गरे पनि पीडित परिवारले आफ्ना माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान राखेको छ । उनको शव लहनस्थित रामकुमार–उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

पीडितका माग सम्बोधन गर्न पीडित परिवार र व्यवसायीहरूको सहमतिमा ६ सदस्यीय वार्ता समिति गठन गरिएको महासंघले जनाएको छ । महासंघका जिल्ला अध्यक्ष शारडाको संयोजकत्वमा गठन गरिएको समितिमा नगर अध्यक्ष श्यामप्रसाद साह भोरेभोर, हरि विश्वकर्मा, उमेश विश्वकर्मा, जितेन्द्र रसाइली, सञ्जीव विश्वकर्मा र ललितनारायण विश्वकर्मा 
सदस्य छन् । 

 शृंखलाबद्ध आक्रमणले व्यवसायी आतंकित
एकपछि अर्को गरी व्यवसायीमाथि भइरहेका आक्रमणबाट व्यवसायी आतंकित भएका छन् । महासंघका उपाध्यक्ष अग्रवालका अनुसार सात वर्षअघि सिराहा चोहर्वा सडकखण्डमा पर्ने विष्णुपुरमा सुनचाँदी व्यवसायी सुरेश साहको हत्या भएको थियो । 

९ चैत ०७५ मा लहान– ७ स्थित विकास ट्रेडर्स सुनचाँदी पसलमा अज्ञात समूहले विस्फोट गराउँदा आधा दर्जनभन्दा बढी घाइते भएका थिए । त्यसअघि अर्नमा गाउँपालिकाको लौवापोखर, धनगढीमाई नगरपालिकाको कसाहा र तेनुवापट्टीमा सुनचाँदी पसलमा डकैती भएको थियो ।

केही वर्षयता लगातार भइरहेका यस्ता घटनाले व्यवसाय र व्यवसायीको सुरक्षामा गम्भीर चुनौती देखापरेको उपाध्यक्ष अग्रवालले बताए । ‘लगातार भएका आक्रमणका घटनाबाट व्यवसायी हतोत्साही हुने अवस्था उत्पन्न भएको छ । त्यसैले हामी यसपटक प्रशासनबाट व्यवसाय र व्यवसायीको सुरक्षाको दरिलो प्रत्याभूति खोजिरहेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

See More On

सुझावित समाचार