डढेलोले चार करोड क्षति

शुक्रबार, २७ चैत, २०७७
डिजिटल संस्करण

करिब एक महिनादेखि मकवानपुरका विभिन्न स्थानमा लागेको डढेलोका कारण करिब चार करोडबराबरकाे क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार डढेलोका कारण चालू आर्थिक वर्ष ०७७/७८ को हालसम्म तीन करोड ७० लाख क्षति भएको हो । प्रहरीको तथ्यांकअनुसार डढेलोका कारण ३८ घर जलेर नष्ट भएका छन् । डढेलोले एक साताअघि मकवानपुरमा एक वृद्धा महिलाको मृत्यु र पाँच घाइते भएको प्रहरीले जनाएको छ । 

डढेलोले तीन पक्की र ३५ कच्ची घर जलेर नष्ट भएकोे प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । जिल्लामा २३ गोठ र ५० चौपाया जलेर नष्ट भएका छन् । डढेलोका कारण खानेपानीका पाइप नष्ट हुँदा खानेपानी समस्या जटिल बन्दै गएको छ । गतसाता मकवानपुरगढी गाउँपालिका– २ सानोगढीबाट सुरु भएको डढेलोले मकवानपुरगढी बृहत् खानेपानीको एक सय ४० एमएमको सय मिटर पाइप जलेर नष्ट भएको गाउँपालिकाले जनाएको छ । 

मकवानपुरगढीमा प्रथम धवाडी सिँचाइ, माथिल्लो धवाडी सिँचाइ, धवाडी दोस्रो खानेपानी र धरमपानी खानेपानीअन्तर्गत चार सय मिटर पाइप नष्ट भएको धवारी दोस्रो खानेपानी उपभोक्ता समूहका सचिव इमनाथ तिमल्सिनाले बताए । 

मकवानपुरगढी बृहत् खानेपानी योजनाअन्तर्गत एक सय ५० मिटर पाइप डढेलोका कारणले नष्ट भएको खानेपानी उपभोक्ता समूह अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । पाइप नष्ट भएकाले गाउँपालिकाको वडा नं. २, ३ र ४ का करिब दुई हजार घरपरिवार खानेपानीबाट प्रभावित भएका छन् । 

डढेलो नियन्त्रणका लागि हदैसम्म प्रयास गर्दा पनि स्थानीय बासिन्दाको लापरबाहीका कारण कम गर्न नसकिएको डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख इमनाथ पौडेलले बताए । कार्यालयले डढेलो नियन्त्रणका लागि सरोकारवाला निकायसम्म निरन्तर समन्वय गरिरहेको उनको दाबी छ ।
 

See More On

सुझावित समाचार