कमरेड मानन्धर हामीबीच रहनुभएन, तर उहाँको कम्युनिस्ट आदर्शले हामीलाई जहिल्यै मार्गनिर्देश गरिरहनेछ
नेपाली राजनीतिमा एउटा निष्ठावान् तथा सिद्धान्तनिष्ट कम्युनिस्ट र इमानदार राजनेताका रूपमा स्थापित तथा सादा जीवन र उच्च विचारका नेताको रूपमा सबैतिरबाट सम्मानित नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का आदरणीय नेता तथा पथप्रदर्शक कमरेड विष्णुबहादुर मानन्धरको देहावसानबाट नेकपा (संयुक्त)ले आफ्नो प्यारो नेता तथा अभिभावक गुमाएको छ । साथै नेपालको कम्युनिस्ट आन्दोलनले एउटा आदर्श कम्युनिस्ट तथा क्रान्तिकारी नेता गुमाएको छ । वाम एकता तथा वाम–प्रजातान्त्रिक एकताका निष्ठावान् पक्षधर तथा अथक क्रान्तिकारी र नेपालको ऐतिहासिक किसान आन्दोलनका अग्रणी नेता मानन्धरजीले आफ्नो राजनीतिक जीवन ००७ सालको क्रान्तिमा सुदूरपश्चिमको कैलाली मोर्चाबाट सुरु गर्नुभएको थियो । क्रान्ति सम्पन्न भएपछि उहाँ कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभयो र तराईमा सामन्तका निर्मम शोषण दमनमा परेका किसानलाई आफ्नो मुक्तिका लागि संगठित गर्नुभयो । जाली तमसुक बनाएर गरिब किसान तथा जोताहाको शोषण समाप्त गर्न सबभन्दा पहिले प्रसिद्ध ‘तमसुक फट्टा आन्दोलन’को नेतृत्व गर्दै जाली तमसुकको आधारमा दास बनाइएका किसानलाई मुक्त गर्नुभयो ।
सच्चा कम्युनिस्ट बन्नका लागि निर्णायक विषय उसले कस्तो परिवारमा जन्म लिएको थियो भन्ने होइन । निर्णायक भनेको कम्युनिस्ट राजनीतिको बाटो समातेपछि उसले आफ्नो सोच, चरित्र, व्यवहार र नैतिकतालाई सर्वहाराकरण गर्न सक्यो कि सकेन भन्ने हो । यसको ज्वलन्त प्रमाण मानन्धरजीको जीवन हो । एउटा धनाढ्य सामन्ती परिवारमा हुर्किनुभएका उहाँ मनसा, वाचा कर्मणा श्रमजीवी वर्गका नेता बन्नुभयो र सिंगो जीवन शोषित पीडित श्रमजीवी जनताको मुक्तिका लागि अर्पण गर्नुभयो । ००९ सालमा पार्टी सदस्य बनेका उहाँ ०१६मा पार्टीको केन्द्रीय सदस्य तथा ०२४ मा पोलिटब्युरो सदस्य हुनुभयो । मानन्धर जीवनपर्यन्त संघर्षको मैदानमा सक्रिय हुनुहुन्थ्यो । सबैले इमानदार तथा सिद्धान्तनिष्ट नेताको रूपमा आदर गर्ने मानन्धरले २९ वर्ष पार्टीको नेतृत्व गर्नुभयो । उहाँको सम्पूर्ण क्रान्तिकारी जीवनका कृतित्वबारे सानो लेखमा समेट्न सम्भव छैन । यहाँ वैचारिक पक्ष तथा वाम आन्दोनका लागि गरिएका केही स्मरणीय बुँदा उल्लेख मात्र गरिनेछ ।
रायमाझीविरुद्ध संघर्ष : मानन्धरको ठूलो र कठिन कार्य भनेको पार्टीको शुद्धीकरणका लागि रायमाझीविरुद्धको लामो अन्तरसंघर्ष हो । पार्टी विभाजनपछि पुष्पलालजीले उहाँलाई रायमाझीपन्थी भनेर अनर्गल प्रचार गरी लाञ्छित गर्नुभयो । तर, यथार्थ त्यसको विपरीत छ । न त उहाँ रायमाझीको समर्थक हुनुहुन्थ्यो, न रायमाझीलाई महासचिव बनाउनमा उहाँको कुनै हात थियो । दोस्रो महाधिवेशनमा उहाँ सम्मिलित नै हुनुहुन्नथ्यो । बरु रायमाझीको नेतृत्वशैलीको कट्टर आलोचक हुनुहुन्थ्यो उहाँ । तर, जनवादी केन्द्रीयताको सिद्धान्तको कडाइका साथ पालना गर्नुपर्छ र पार्टी विधानको अक्षरशः पालना हुनुपर्छ भन्ने मतमा उहाँ दृढ हुनुहुन्थ्यो । त्यसैले पुष्पलालजीले गरेको फुटसँग सहमत हुन सक्नुभएन । तर, रायमाझीविरुद्ध केन्द्रीय समितिमै संघर्ष गर्नुपर्छ भन्ने मत राख्नुहुन्थ्यो । विभाजनपछि पनि पुनः पार्टी एकता गर्न भारत गएर पुष्पलालजीलाई पटक–पटक भेट गर्नुभयो, तर सफल हुनुभएन ।
संसद्लाई श्रमिक वर्गको प्रतिनिधि संस्थामा परिणत गर्नुपर्छ, समाजवादी रूपान्तरणका लागि तलबाट जनताको हस्तक्षेपकारी भूमिका अनिवार्य सर्त हो, अन्यथा कम्युनिस्ट पार्टी संसद्वादी दलदलमा फस्ने र दक्षिणपन्थी सुधारवादी भड्काउको खाडलमा जाकिन्छ भन्ने उहाँको दृढ विश्वास थियो
रायमाझीलाई नेतृत्वबाट हटाउने पटक–पटकका प्रयास विफल भएपछि पुष्पलाल, तुलसीलाल, हिक्मत सिंहजस्ता हस्तीले पार्टी अन्तरसंघर्षबाट पलायन गरी अलग्गिएपछि रायमाझीको साथमा रहेका इमानदार कम्युनिस्टको पहिलो काम थियो, रायमाझी कल्टबाट पार्टीलाई मुक्त गर्नु । तर, स्थापित नेताको अभावमा यो काम त्यति सजिलो थिएन । लामो र चरणबद्ध संघर्षको आवश्यकता थियो । रायमाझीमाथि पहिलो प्रहार ०२४ सालमा सम्पन्न तेस्रो महाधिवेशनमा गरियो । तर, रायमाझीलाई विस्थापित गर्ने व्यक्तित्वको अभावमा विफल भयो । लामो संघर्षपछि ०३४को चौथो महाधिवेशनबाट महासचिव पदबाट हटाई आलंकारिक अध्यक्ष र विष्णुजीलाई महासचिव बनाएपछि रायमाझीलाई निष्कासनतर्फको पहिलो संघर्ष जितियो ।
०३६ सालको विद्यार्थी आन्दोलनले रायमाझीसँग आमनेसामनेको टक्करको स्थिति उत्पन्न गरायो । रायमाझीको निर्देशनमा केही विद्यार्थीले पर्चाबाजी गरेपछि तिनलाई निष्कासन गरियो र विद्यार्थी फाँटलाई र त्यसपछि एकपछि अर्को गरी जनवर्गीय संगठनलाई रायमाझीको प्रभावबाट मुक्त गरियो । जनमतसंग्रहका वेला रायमाझीले आन्दोलन स्थगित गरी राजाबाट सोझै बहुदलीय व्यवस्था घोषणाको माग गर्ने भनेर बिथोल्ने नीति लिएपछि उनलाई निष्कासन गर्न सहज वातावरण बन्यो । यसप्रकार मानन्धरको नेतृत्वमा पार्टीलाई रायमाझीबाट मुक्त गरियो र उहाँकै नेतृत्वमा सिद्धान्तनिष्ट, सम्यक र स्पष्ट राजनीतिक चिन्तन, राजनीतिप्रति इमानदार तथा वाम एकता र वाम–प्रजातान्त्रिक एकताको पक्षधर पार्टीको रूपमा नेपालको राजनीतिमा स्थापित हुन पुग्यो ।
वैचारिक तथा राजनीतिक पक्ष : चौथो महाधिवेशनपछि उहाँको नेतृत्वमा पार्टीले समाजवादी क्रान्तिले तीन चरण अर्थात् निर्दलीयताको अन्त्य र बहुदलीय संसदीय प्रणालीको स्थापना, समाजवादमा संक्रमणपूर्व समाजवादउन्मुख संक्रमणकालीन संरचना ‘राष्ट्रिय जनवाद’को स्थापना तथा समाजवादमा संक्रमणको रणनीति अगाडि सारे । संक्रमणकालीन संरचनाको चरणलाई आज सबैले स्विकारेका छन् र संविधानमै ‘समाजवादउन्मुख व्यवस्था’ भनी स्वीकार गरेको छ । तर, त्यसवेला ‘संशोधनवादीको भर्याङवादी नीति’ भनी आलोचना गरियो । तर, समयले यस प्रस्थापनलाई सत्य साबित गर्यो ।
अर्कोतर्फ, पञ्चायतको अन्त र समाजवादमा संक्रमणका लागि वाम एकतालाई अपरिहार्य सर्त र त्यसको बलमा व्यापक वाम–प्रजातान्त्रिक एकताको अनिवार्यतामा जोड दिँदै वाम–प्रजातान्त्रिक एकताको कार्यनीति अगाडि सार्नुभयो । कम्युनिस्ट एकतालाई स्पष्ट परिभाषित गर्दै– ‘आजको अवस्थामा कम्युनिस्ट एकता र एकीकरणबीचको भिन्नतालाई स्पष्ट रूपमा छुट्याउनुपर्छ । विभिन्न पार्टी नेतृत्वको अहं पदलोलुपता तथा स्कुलिङले गर्दा तत्काल एकीकरण गरी एउटै पार्टी निर्माण गर्न सम्भव छैन । आजको अवस्थामा एकताको अर्थ पार्टीबीच पारस्परिक समन्वय र एकता कायम गरी काम गर्नु हो । यस्तो एकता कार्यक्रममा आधारित दीर्घकालीन मोर्चा हुन सक्छ । यसले नै कम्युनिस्ट पार्टीलाई नजिक ल्याउनेछ र आउँदा दिनमा एकीकरणका लागि आधार निर्माण गर्नेछ ।’ भनी वाम एकताबारे अवधारण अघि सार्नुभयो ।
पञ्चायतविरुद्ध निर्वाचनको उपयोग : ०३६ सालको आन्दोलनपछि पार्टीका नामका अगाडि प्रतिबन्धितको ‘प्र’ जोडिएपछि पर्चा पोस्टरिङ गर्न सकिने भयो । यसमा पार्टीले ‘निर्वाचनकै मञ्चबाट पञ्चायतमाथि प्रहार’को नीति लिएर आमनिर्वाचनमा ओर्लियो । पञ्चायती निर्वाचनमा भाग लिएकोमा ‘राजावादी पार्टी’ भनी व्यापक आलोचना गरिए पनि यस नीतिले राम्रो काम गर्यो । प्रचारका दौरान पार्टीकै नाममा अनेकाैँ उम्मेदवार तथा कार्यकर्ता गिरफ्तार भए । चितवनबाट निर्वाचित भीमबहादुर श्रेष्ठले राष्ट्रिय पञ्चायतको रोस्ट्रमबाटै पञ्चायती व्यवस्थाको अन्त र संसदीय व्यवस्थाको माग गरेपछि कुटाइमा परे । र, राष्ट्रिय पञ्चायतमा प्रवेश निषेध गरियो । यसको अनुसरण गर्दै ०४३ को निर्वाचनमा नेकपा (माले)ले पनि जनपक्षीय उमेदवारको नामबाट निर्वाचनमा भाग लियो र विजय प्राप्त गर्यो ।
नेकपा (संयुक्त)को गठन : ०४६को वाममोर्चा निर्माणमा पार्टीले विशेष भूमिका निर्वाह गरेको सर्वविदितै छ । विशेष गरेर तत्कालीन माले ‘राजनीतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता’को आन्तरिक विवादमा पर्यो । ‘संसदीय व्यवस्थाको पुनस्र्थापना’को नाम सुन्नसमेत तयार थिएन । पटक–पटकको वार्तापछि उसलाई मोर्चामा आबद्ध गराउन सकियो । तर, निर्वाचनमा आर्थिक अभाव र व्यवस्थापनमा रहेका कमजोरीका कारण अनपेक्षित हार व्यहोर्नुपर्यो । संसद्मा दुई स्थान जिते पनि राष्ट्रिय पार्टी बन्न सकेन । यसको फाइदा उठाई एमालेले योजनाबद्ध रूपले पार्टीमाथि प्रहार गर्यो र पार्टीले ठूलो संगठनात्मक संकट व्यहोर्नुपर्यो । त्यसपछि नेकपा (बर्मा), नेकपा (आमात्य)सँग एकता गरी ०४८ मा नेकपा (संयुक्त)को गठन गरेर एकता महाधिवेशन गरी पुनः संगठनात्मक गतिविधि अगाडि बढाइयो । सोभियत संघको विघटनपछि विश्वको नयाँ अवस्था र शक्ति सन्तुलनलाई मध्यनजर गरी ०४८ सालमै ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम परित्याग गरी समाजवादउन्मुख ‘राष्ट्रिय जनवाद’को कार्यक्रम अगाडि सारियो ।
प्रजातन्त्रको पुनस्र्थापनापछि पार्टीले अन्तरिम सरकारमा रहँदा र आमनिर्वाचनपछिको अवस्थामा समेत ‘आजको अवस्थामा कुनै एक पार्टीले देशका समस्या समाधान गर्न सक्ने अवस्था छैन । अतः आधारभूत राष्ट्रिय सवालमा साझा दृष्टिकोण तयार गरी वाम–प्रजातान्त्रिक एकताको आधारमा सत्ता चलाउनुपर्छ’ भन्ने दृष्टिकोण अगाडि सारेको थियो । तर, तत्कालीन एमाले र कांगे्रसको टकरावका कारण एकता कायम हुन सकेन । दोस्रो जनक्रान्तिपश्चात देशमा आमूल परिवर्तन र जनमुखी विकासका लागि क्रान्तिका दौरान कायम भएको वाम–प्रजातान्त्रिक एकता भंग हुनुहुँदैन भन्ने पक्षमा विशेष जोड दिँदै आएको हो । तर, संविधान निर्माणपछि व्यवहारतः यो अवस्था कायम रहन सकेन ।
मानन्धरजीको नेतृत्वमा पार्टी वामपन्थी उग्रवाद, जातिवाद, जातीय विभेद, जातीय, धार्मिक, भाषिक विशिष्टताको विरोध संवैधानिक सर्वोच्चताजस्ता विषयमा आफ्ना स्पष्ट विचारसहित प्रत्येक कठिन राजनीतिक मोडमा दृढतापूर्वक संघर्षको मैदानमा रहेको हो । ‘कम्युनिस्टले राजनीति गर्दा अधिनायकवाद होइन, प्रतिस्पर्धात्मक राजनीतिमा बाँच्न सिक्नुपर्छ’ भन्ने पार्टीको दृढ नीति रहेको हो । अनेकौँ आलोचनाका बाबजुद यिनै विशिष्टता संयुक्तको पहिचान बने । वाम एकताप्रति पूर्ण निष्ठासहित यो पार्टी विभिन्न कालखण्डमा गठन गरिएका सात वाम, नौ वाम, पाँच वामजस्ता यावत् मोर्चाको गठन र निष्ठापूर्वक सहभागी रहेको ऐतिहासिक तथ्य सर्वविदित छ । समाजवादको निर्माणका लागि कम्युनिस्टले सत्ता प्राप्त गरेपछि राजनीतिक सत्तालाई पार्टीको होइन, आमश्रमजीवी जनताको सत्तामा रुपान्तरित गर्न भरपूर मिहिनेत गर्नु उसको दायित्व हुन आउँछ भन्ने उहाँको अडान थियो ।
संसदीय परिपाटी र निर्वाचन प्रणालीको विषयमा मानन्धरजीको स्पष्ट मान्यता थियो– आमरूपमा संसद् समाजको व्यवस्थापन र सुपरिचालनका लागि स्थापित गरिने जनप्रतिनिधिको निकाय हो । त्यसकारण कम्युनिस्टको विरोध संसद् वा संसदीय प्रणालीजस्ता शब्दावलिसँग नभई यसको वर्गीय स्वरूप र प्रतिनिधित्वको अवस्था र परिपाटीसँग हुनुपर्छ । आजको निर्वाचन प्रणालीमा आमश्रमिक र शोषित पीडित तथा सीमान्तीकृत जनताको पहुँच सम्भव छैन । यसको चरित्र परिवर्तन गरी संसद्लाई श्रमिक वर्गको प्रतिनिधि संस्थामा परिणत गर्नुपर्छ । त्यसबाट ‘जनताको संसद्’ गठन गर्न सकिन्छ र समाजवादमा संक्रमणको बाटो लिन सकिन्छ । तर, समाजवादी रूपान्तरणका लागि तलबाट आमश्रमजीवी जनताको हस्तक्षेपकारी भूमिका अनिवार्य सर्त हो, अन्यथा कम्युनिस्ट पार्टी संसद्वादी दल–दलमा फस्ने र दक्षिणपन्थी सुधारवादी भड्काउको खाडलमा जाकिन्छ भन्ने उहाँको दृढ विश्वास थियो । उल्लिखित यी केही सैद्धान्तिक र राजनीतिक चिन्तनका बुँदा मात्र हुन् । आज कमरेड मानन्धर हामीबीच रहनुभएन । तर, उहाँको कम्युनिस्ट आदर्शले हामीलाई जहिल्यै मार्गनिर्देशन गरिरहनेछ ।