नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन आह्वान गरेको छ । शनिबार काठमाडौंमा बसेको बैठकले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि दुवै पार्टी पूर्ववत् अवस्थामा फर्केकाले २०७५ साल जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्ष ओलीलाई आह्वान गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने ‘फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला दुवै पार्टीलाई पूर्ववत् अवस्थामा फर्कनका निम्ति निर्देशन दिएको छ अदालतले त्योअनुसार नै जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन हामीले पार्टी अध्यक्षलाई समेत आह्वान गरेका छौँ ।’
बैठकले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै प्रशिक्षणका दुईमहिने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि नेता भट्टराईले बताए । उनले भने ‘आगामी दुई महिनाका लागि देशभर पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ । यो अभियानको मूल नारा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मूल नारा तय भएको छ र दुई महिना व्यापक अभियान चल्नेछ ।’
यस्तै, बैठकले चैत्र ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणापत्रलाई पूर्ण रूप दिएको छ । उक्त अवधारणापत्रलाई प्रकाशित गरी पार्टीगत रूपमा देशभर वितरण गरिने नेता भट्टराईले बताए । उनले भने ‘चैत्र ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणपत्र (प्रतिवेदन)मा राष्ट्रिय भेलामा आएका सुझाब र अहिले स्थायी कमिटी र केन्द्रीय कमिटीका सुझाब र केन्द्रीय कमिटीका कमरेडहरूबाट प्राप्त सुझाबलाई समेत समावेश गरीकन यसलाई अन्तिम रूप दिएको छ । अब यो प्रकाशित भएर पार्टीगत रूपमा वितरणमा जानेछ ।’
यस्तै,पार्टीमा उत्पन्न भएको अन्तर्विरोधको राजनीतिक, सैद्धन्तिक, साङ्गठनिक र कार्यशैगीगत भिन्नताको पक्षलाई समेटेर प्रशिक्षण सामग्री बनाई पार्टीगत रूपमा देशभर प्रशिक्षणका लागि वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ । नेता भट्टराईले भने ‘पार्टीमा उत्पन्न भएको अन्तर्विरोध यसको राजनीतिक पक्ष, सैद्धान्तिक पक्ष, वैचारिक पक्ष, संगठनात्मक पक्षका साथै पार्टीभित्र देखिएका कार्यशैलीगत भिन्नताहरूलगायतका विषयमा हामीले उठाउँदै आएका मुद्दालाई समग्रमा समेटेर प्रशिक्षण सामग्री बनाइनेछ र त्यसलाई पनि प्रकाशित गरेर पार्टीव्यापी रूपमा प्रशिक्षणका निम्ति पठाइनेछ ।’
बैठकले २०७५ साल जेठ २ गते कायम भएका कमिटीहरूलाई पुनर्सञ्चालन गर्ने र आवश्यकतानुसार गठन, पुनर्गठन गरी देशभर प्रशिक्षण अभियान चलाउने निर्णय पनि गरेको छ । यसका निम्ति केन्द्रीय कमिटीका सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा तोकेर जिल्ला पठाउने निर्णय पनि बैठकले गरेको छ ।
वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा कम्युनिस्ट आन्दोलनको एकताका लागि ध्यान दिँदै देशव्यापी रूपमा कार्यक्रम गरी मनाउने र काठमाडौंमा भव्य कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै, वैशाख १३ गते मनमोहन अधिकारीको स्मृति दिवस देशव्यापी रूपमा मनाउने र विराटनगरमा केन्द्रीयस्तरको कार्यक्रम गर्ने भएको छ । जेठ ३ गते मदन–आश्रित स्मृति दिवसलाई पनि एकताकै सिलसिलामा जोडने र चितवनमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।