बाग्लुङमा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई घाइते

बिहिबार, १९ चैत, २०७७
डिजिटल संस्करण

जिल्लाको बडिगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई युवा घाइते भएका छन् । बडिगाड गाउँपालिका– २ सिमलचौरको दुर्गाबहादुर भुजेलको घरमा माछा मार्ने बम बनाउने क्रममा बिहीबार दिउँसो करिब २ बजे अचानक बम विस्फोट हुँदा दुई युवा घाइते भएका हुन् । 

घाइते हुनेमा सोही ठाउँका ३१ वर्षीय मित्र राना र गुल्मीको मुसिकोट नगरपालिका– १ घर भई बडिगाड गाउँपालिका– २ सिमलचौर बस्ने अन्दाजी २७/२८ वर्षीय अरुणकुमार पुन रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए । 

घाइते दुईजनाको अवस्था जटिल रहेका कारण थप उपचारका लागि पाल्पाको प्रभास अस्पतालमा पठाइएको छ । घाइते  मित्र रानाको हात, खुट्टा र टाउकोमा चोट लागेको छ भने अरुणको टाउको र कञ्चटमा चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न बाग्लुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगर नेतृत्वको टोली घटनास्थल पुगेको छ । 
 

सुझावित समाचार