स्वेज नहरको अवरोध खोलिएपछि नहरमा लागेको ट्राफिक जाम बिस्तारै खुल्दै जानेछ, तर जामका लागि जिम्मेवार भीमकाय कन्टेनर जहाजको प्रयोग रोकिनेछैन । एफेल टावरभन्दा लामो इभर गिभन नामक कन्टेनर स्वेज नहरमा एक हप्तासम्म जाम हुँदा विश्वको सबैभन्दा महत्वपूर्णमध्ये एक समुद्री मार्ग अवरोध भयो । परिणामस्वरूप विश्वव्यापी सप्लाई चेन नै प्रभावित हुन पुग्यो । ठूलो प्रयासपछि सोमबार इभर गिभनलाई नहरमा तैराउन सम्भव भयो । विश्वको सबैभन्दा ठूलो ढुवानी कम्पनी एपी मोलर–मेअरस्कका अनुसार इभर गिभनले सिर्जना गरेको ट्राफिक चाप पूर्वअवस्थामा फर्किन केही हप्ता अझ महिना लाग्न सक्छ । संकट छोटो समयमै समाधान त भयो, तर यो अवस्था आउनका लागि वर्षौंदेखि विकसित एक क्षेत्र जिम्मेवार छ ।
समुद्री ढुवानी कम्पनीले दशकौँदेखि विशाल कन्टेनर जहाजको आकार निरन्तर बढाइरहेका छन् । इलेक्ट्रोनिक्स, पहिरन, खेलौना तथा अन्य मालसामानको बढ्दो विश्वव्यपी प्रयोगले त्यस्ता यातायात वाहनको माग बढाइरह्यो । जहाजको आकारसँग आर्थिक लाभ जोडिएकाले पछिल्ला केही समयदेखि तिनको आकार झनै तीव्रताका साथ बढिरहेको थियो । ठूला जहाजको निर्माण तुलनात्मक रूपमा सस्तो पर्छ र प्रतिकन्टेनरका आधारमा सञ्चालन खर्च न्यून हुन्छ । तर, अति ठूला जहाजले समस्या पनि निम्त्याउँछन्, जुन नहर वा बन्दरगाहले मात्र होइन, जहाजनिर्माता कम्पनीले समेत भोग्छन् ।
‘ढुवानी कम्पनीले आफूलाई फाइदा हुने गरी ठूला जहाज बनाए । त्यसक्रममा अरूका चासो ओझेलमा परे,’ अर्थशास्त्री मार्क लेभिन्सनले बताए, ‘तर, भीमकाय जहाज ढुवानी कम्पनीले परिकल्पना गरेजस्तो प्रभावकारी भने ठहरिएनन् ।’ भीमकाय जहाजले ठूलो चुनौती सिर्जना गर्ने भए पनि विश्वव्यापी ढुवानीमा अझै पनि तिनकै दबदबा छ । तथ्यांक फर्म अल्फालाइनरका अनुसार विश्वमा १८ देखि २४ हजार कन्टेनरसम्म बोक्न सक्ने जहाजको संख्या १३३ वटा छन्, ५३ वटा निर्माणाधीन छन् ।
विश्व व्यापारको वृद्धिसँगै ढुवानी कम्पनीले जहाजको आकार बढाइरहे, तर स्वेज नहरको अवरोधले ‘ठूला सधैँ राम्रा हुन्छन्’ भन्ने विचारमाथि धक्का लागेको छ
विश्वको पहिलो व्यावसायिक कन्टेनर जहाज केही दर्जन कन्टेनर बोकेर सन् १९५६ मा न्यु जर्सी र टेक्सासबीच चलेको थियो । यस्ता जहाजको आकार सुरुमा बिस्तारै बढ्दै गयो । तर, सन् १९८० को दशकमा विश्व व्यापारले द्रुत गति लिएसँगै ढुवानी उद्योग बढ्न थाल्यो र सँगसँगै जहाजको आकार पनि बढ्यो । इन्टरनेसनल ट्रान्सपोर्ट फोरमका अनुसार सन् ८० को दशकमा एउटा कन्टेनर जहाजको औसत क्षमता २८ प्रतिशतले वृद्धि भयो । सन् ९० को दशकमा तिनको आकार थप ३६ प्रतिशतले बढ्यो । त्यसपछि सन् २००६ मा मेअरस्कले एम्मा मेअरस्क नामक विशाल जहाज ल्यायो । अन्य जहाजभन्दा झन्डै ७० प्रतिशत ठूलो यो जहाजले एकैपटक १५ हजार कन्टेनर बोक्न सक्थ्यो ।
आज सबैभन्दा ठूला कन्टेनर जहाजले लगभग २४ हजार कन्टेनर बोक्न सक्छन् । विशाल ढुवानी उद्योग र जहाजले आधुनिक अर्थतन्त्र निर्माणमा महŒवपूर्ण भूमिका निभायो । यसकै बलमा चीन आजको निर्माण पावरहाउस भएको हो । यसले इकिया र अमेजनजस्ता ई–कमर्स रिटेलरको वृद्धिलाई सम्भव बनायो । कन्टेनर प्रयोगकर्तालाई ठूला जहाजले फाइदा नै गर्छ । ठूला जहाजको निर्माण, इन्धन तथा कर्मचारीमा धेरै कटौती हुन्छ । ‘विश्वका कुनाकुनामा ठूलो परिमाणको मालसामान पुर्याउन अल्ट्रा लार्ज कन्टेनर भेसल (युएलसिभी) अत्यन्त प्रभावकारी हुन्छ,’ विशाल ढुवानी कम्पनी हपङ–ल्योयिडका प्रवक्ता टिम सेइफर्टले एक वक्तव्यमा खुलाएका छन् ।
मेअरस्कले स्वेज नहरमा भएको घटनाका लागि इभर गिभनको आकारलाई दोष लगाउनु अपरिपक्व हुने टिप्पणी गरेको छ । मंगलबार कम्पनीका प्राविधिक अधिकारीले जारी गरेको वक्तव्यमा ‘युएलसिभी लामो समयदेखि प्रयोगमा रहेका र यतिका वर्ष तिनले स्वेज नहरमा कुनै समस्या ननिम्त्याएको’ भनिएको छ । तर, जहाजका आकारले समस्या निम्त्याएका धेरै उदाहरण छन् । विशाल जहाजलाई बाटो बनाउनकै लागि सन् २०१६ मा पानामा नहरले पाँच अर्ब डलरको विस्तार परियोजना सञ्चालन गर्यो । अमेरिकामा ठूला जहाजलाई तान्नका लागि पूर्वी तटका बन्दरगाहबीच प्रतिस्पर्धा छेडिएको छ । बाल्टिमोर, मियामी र नोरफोक, भर्जिनियाले त आफ्नो बन्दरगाहले ठूला जहाजका लागि समुद्री तट गहिरो बनाउन खनिरहेका छन् । न्युयोर्क बन्दरगाह प्राधिकरणले ठूला कार्गोयुक्त जहाजको आवागमन सहज बनाउन बेओन पुल अग्ल्याउने १.७ अर्ब डलरको परियोजना सञ्चालन गर्यो ।
ठूला आकारको जहाजको विकास र ढुवानी उद्योगहरूको संख्यामा संकुचन एकै समयमा देखियो । ठूला आकारको जहाजको खरिद र प्रयोग महँगो पर्छ । जुन कम्पनीले ती जहाजको मूल्य वहन गर्न सकेनन्, उनीहरूले ठूला हुने बाटो समाए । यसका कारण केही फर्म मर्ज भए, केहीले गठबन्धन बनाए । यसका कारण ढुवानी कम्पनीबीचको प्रतिस्पर्धा साँघुरिँदै गएको छ, जसका कारण भविष्यमा विश्व आपूर्तिमा अवरोध उत्पन्न हुन सक्छ ।
यो ट्रेन्ड आफैँमा खराब भने होइन । ढुवानी कम्पनीबीचको गठबन्धनले आमउपभोग्य सामानको मूल्य कम रहन्छ । र, ठूला जहाजले इन्धनको उपभोग घटाउने भएकाले यसले कार्बन उत्सर्जन न्यूनीकरण गर्ने कम्पनीको दाबी छ । तर, अहिलेका भन्दा पनि ठूला जहाजको निर्माण अलोकप्रिय बन्दै गएको छ । ठूला जहाजले सबै बन्दरगाह र नहर उपभोग गर्न सक्दैनन् । ती जहाज सबै अवस्थामा भर्न पनि समस्या हुन्छ । तिनको बिमामा निकै ठूलो रकम खर्च हुन्छ । स्वेज नहरको जस्तो अवरोधले विश्वकै सप्लाई चेनमा असर गर्छ ।
विशाल जहाज तीव्र आर्थिक वृद्धिलाई ध्यानमा राखेर डिजाइन गरिन्छ । अमेरिका र चीन, ब्रिटेन र युरोपेली संघबीच बढ्दो भूराजनीतिक तथा आर्थिक तनावका कारण आर्थिक वृद्धि सुनिश्चित छैन ।
नीरज चोक्सी यातायात व्यवसाय विषयमा लेख्छन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य