एक करोड लागतमा बालाजु बाइपासमा सूचना केन्द्र

बिहिबार, १९ चैत, २०७७
डिजिटल संस्करण

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भने– बाइपासलाई विवादित बनाउने काम असफल भयो

स्थानीयको विरोधका बाबजुद काठमाडौं महानगरपालिकाले सूचना केन्द्र निर्माण सुरु गरेको छ । करिब एक करोड लागतमा बालाजु बाइपासमा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माण हुन लागेको हो ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बुधबार संयुक्त रूपमा शिलान्यास गरेसँगै केन्द्र निर्माणको काम अगाडि बढ्ने भएको हो । बाइपासमा निर्माण हुने सूचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने, सूचना केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिने राज्यमन्त्री मानन्धरले बताए ।

‘बाइपासलाई विवादित बनाउने प्रयास भए पनि अहिले जनताको जित भएको छ । सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व हो । सार्वजनिक सम्पत्तिको संरक्षणमा सरकार सचेत छ,’ उनले भने । स्थानीयले आफ्नो भन्दै दाबी गर्दै आएको बालाजुको कित्ता नम्बर ९९ र १२५ जग्गामा सूचना केन्द्र निर्माण हुन लागेको हो । 

महानगरका अनुसार काठमाडौँबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौँबारे जानकारी दिने उद्देश्यले सूचना केन्द्रको निर्माण गर्ने तयारी भएको हो । राज्यमन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिए । ‘राजधानीको फोहोर व्यवस्थापनमा महानगरसँग नेपाल सरकारले सहकार्य गर्छ,’ उनले भने, ‘उपत्यकामा खानेपानी र फोहोरको समस्या चाँडै दीर्घकालीन रूपमा समाधान हुनेछ ।’ 

महानगर प्रमुख शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्यान्डफिल्ड साइट जाने फोहोरका गाडीको लगत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताए । ‘सूचना केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइनेछ,’ उनले भने, ‘सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौं र उत्तरी क्षेत्र हुँदै पुगिने नुवाकोट, रसुवा, गोरखा जाने बाटोलगायतबारे पनि सूचना दिइनेछ ।’ शाक्यले सार्वजनिक सूचना केन्द्रसँगै आधुनिक शौचालय निर्माण हुने पनि जानकारी दिए ।

सूचना केन्द्रको काम उपभोक्ता समितिमार्फत
सूचना केन्द्र निर्माणका लागि महानगरपालिकाको ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार व्यहोर्ने उपभोक्ता समितिमा अध्यक्ष हरिओम मानन्धरले जानकारी दिए । कार्यक्रममा वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले महानगरका थुप्रै ठाउँमा यस प्रकारका सूचना केन्द्र र सार्वजनिक शौचालय स्थापना गर्न आवश्यक रहेको बताए । 

सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको छ । घर भत्काएर शौचालय निर्माणका लागि महानगर लागेको भन्दै स्थानीयले विरोध गरेका थिए । सो विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । महानगरले गत वर्ष नै सार्वजनिक शौचालय बनाउने घोषणा गरेको थियो । त्यसका लागि ४० स्थान तोकेको थियो । ती ठाउँमध्ये बालाजु बाइपास  पनि एक हो । बजेट विनियोजन गरे पनि आफ्नो स्वामित्वमा जग्गा नभएकाले बनाउन नसकिएको बताउँदै आएको महानगरले अहिले बालाजु बाइपासका ३८–४० वर्ष पुराना घरमा डोजर चलाएर सूचना केन्द्र निर्माणको काम थालेको हो । 
 

सुझावित समाचार