गत बिहीबार किर्गिस्तान र शनिबार बंगलादेशसँग गोलरहित बराबरीमै रोकिएको नेपाल दुई अंक जोड्दै तीन देश सहभागी प्रतियोगिताको फाइनलमा
आयोजक नेपाल एकै गोल नगरी थ्री नेसन कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग पनि गोलरहित बराबरीमा रोकियो । यसअघि गत बिहीबार किर्गिस्तानको यू–२३ टोलीसँग पनि नेपाल गोलरहित बराबरीमै रोकिएको थियो । दुई बराबरीबाट दुई अंक जोड्दै नेपाल तीन देश सहभागी प्रतियोगिताको फाइनलमा पुगेको हो ।
योसँगै नेपालले जित हात पार्न मात्रै होइन, गोलसमेत गर्न नसकेको अन्तर्राष्ट्रिय खेल सातौँ पुगेको छ । नेपाली सिनियर राष्ट्रिय फुटबल टोलीले झन्डै पछिल्लो २० महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन ।
पछिल्लोपटक १० सेप्टेम्बर २०१९ मा फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटअन्तर्गत नेपालले चाइनिज ताइपेलाई पराजित गरेको थियो । त्यसपछि विदेशी टोलीविरुद्ध भएका कुनै पनि खेलमा नेपालले गोलसम्म गर्न सकेको छैन ।
यो सिनियर नेपाली टोलीको कुनै पनि विदेशी टोलीविरुद्ध हात पारेको लगातार तेस्रो बराबरीको नतिजा पनि हो । बंगलादेशविरुद्ध गत नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलसँगै जारी थ्री नेसन कपको दु्ई खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ । यो नतिजाले नेपाली राष्ट्रिय टोलीमा कुनै समय देखिएको ‘स्कोरिङ’को पुरानै समस्या बल्झिएको छ । नेपाली टोली कुनै समय स्कोरिङको यही समस्याबाट गुज्रिएको थियो ।
राष्ट्रिय टोलीको अग्रपंक्तिमा विमल घर्तीमगर, नवयुग श्रेष्ठलगायत खेलाडी जम्न थालेपछि त्यो समस्या अन्त्य भएको जस्तो देखिएको थियो । नेपालले त्यसै अवधिमा बंगलादेशको बंगबन्धु गोल्डकप, एसियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गरेको सोलिडारिटी कप जस्ता प्रतियोगिताको उपाधि जितेको थियो । त्यसकै प्रभावस्वरूप नेपालले १२औँ र १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा फुटबलतर्फको स्वर्ण पदक पनि जित्यो ।
बालगोपाल महर्जन प्रशिक्षक, नेपाली टोली
सम्भव भएसम्म जितको नतिजा निकाल्ने, नभए कम्तीमा एक अंक खोस्ने रणनीति थियो । गोल नहुनुले सबैलाई निराश त पारेको छ । यद्यपि, खेलाडीहरूले योजनाअनुसार नै खेलेका हुन् । अहिलेसम्म सम्भव नभएको गोल फाइनलमा अपेक्षा गरौँ । हाम्रो उद्देश्य उपाधि नै हो ।
यद्यपि, पछिल्लो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले आफ्नो त्यो लय बिर्सिएको जस्तो देखिएको छ । प्रशिक्षक बालगोपाल महर्जन पनि स्कोरिङको समस्या बल्झिएको बताउँछन् । यद्यपि, त्यो समस्यालाई सम्बोधन गर्ने उपाय उनीसँग पनि छैन । ‘स्कोरिङको पुरानै समस्या बल्झिएको जस्तै देखिएको छ,’ उनी भन्छन्, ‘हाम्रा खेलाडीमा बंगबन्धु गोल्डकप र सोलिडारिटी कप जित्दाको जस्तो स्कोरिङ क्षमता देखिएको छैन । खेलाडीलाई त्यही लयमा फर्काउने प्रयास गर्नेछौँ ।’
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही राम्रा अवसर सिर्जना गरे पनि नेपाली खेलाडीले गोल निकाल्न सकेनन् । नेपालले पहिलो रोजाइमा किर्गिस्तानको यू–२३ टोलीविरुद्ध खेलेको खेलाडीलाई नै बंगलादेशविरुद्ध पनि अवसर दिएको थियो । बंगलादेशले भने आफ्नो अघिल्लो खेलबाट पहिलो रोजाइमा पूरै खेलाडीलाई परिवर्तन गरेको थियो ।
विश्व फुटबल महासंघ (फिफा)द्वारा मान्यताप्राप्त यो खेल सुरुवातबाटै निकै प्रतिस्पर्धात्मक देखियो । तुलनात्मक रूपमा नेपालले केही राम्रा अवसर सिर्जना ग¥यो । ती अवसर सदुपयोग गर्न नसक्नु नेपालको दुर्भाग्य बन्यो ।
खेलको २१औँ मिनेटमा त्रिदेव गुरुङको क्रसमा अञ्जन विस्टको फ्री हेड क्रसबार नजिकबाट बाहिरियो । त्यसपछि खेलको दोस्रो हाफमा ५९औँ मिनेटमा अञ्जनले एउटा उत्कृष्ट ‘मुभ’ बनाएका थिए । डी–बक्स लाइनमा बंगलादेशका एक रक्षकलाई छक्याएर उत्कृष्ट अवसर सिर्जना गरेका उनको प्रहार भने सशक्त हुन सकेन । बंगलादेशका गोलरक्षक सहिदुल अलामले सहज नियन्त्रणमा लिएका थिए ।
खेलको ६५औँ मिनेटमा रञ्जित धिमालको क्रसमा अभिषेक रिजालले सिक्स यार्ड बक्सबाट फ्री हेडिङको अवसर पाएका थिए । यद्यपि, उनको प्रहारले पनि सही दिशा लिन सकेन । खेलको ८२औँ मिनेटमा दर्शन गुरुङको हेडिङ क्रस बारमा लागेर फर्कनु नेपालका लागि अर्काे दुर्भाग्य बन्यो ।
नेपाली टोलीका प्रशिक्षक बालगोपालले अंक नगुमाउने रणनीति सफल भएको प्रतिक्रिया दिए । ‘हामीले सम्भव भएसम्म जितको नतिजा निकाल्ने, कम्तीमा एक अंक खोस्ने रणनीति थियो,’ खेलपछि उनले भनेका छन्, ‘गोल सम्भव नहुनुले सबैलाई निराश त पारेको छ । यद्यपि, आज खेलाडीहरूले योजनाअनुसार खेलेका छन् । अब अहिलेसम्म सम्भव नभएको गोल फाइनलमा अपेक्षा गरौँ । हाम्रो उद्देश्य उपाधि नै हो ।’
समूह चरणमा एक जित र एक बराबरीको नतिजा हात पारेको बंगलादेशको चार अंक भएको छ भने नेपालको दुई अंक छ । एक बराबरी र एक पराजय व्यहोरेको किर्गिस्तानको यू–२३ टोलीको एक अंक मात्रै रह्यो । नेपाल र बंगलादेश बराबरीमा रोकिएपछि किर्गिस्तानको ओलम्पिक टोली प्रतियोगिताबाट बाहिरिएको छ ।
‘स्कोरिङमा समस्या एसियाकै’
जारी प्रतियोगितामा सबै टोलीको स्कोरिङमा समस्या देखिएको छ । प्रतियोगितामा सहभागी तीन टोलीले राउन्ड रोबिन लिग प्रणालीमा तीन खेल खेल्दा मात्रै एक गोल सम्भव भएको छ, त्यो पनि आत्मघाती । बंगलादेशले किर्गिस्तानको यू–२३ टोलीलाई पराजित गर्दा उक्त आत्मघाती गोल सम्भव भएको थियो ।
गोल किन भइरहेको छैन ? यो प्रश्न बंगलादेशका विदेशी प्रशिक्षक जेम्स डेलाई पनि थियो । उनी भन्छन्, ‘यो समस्या एउटा मात्रै टोलीको होइन । यस्तो समस्या सिंगो एसियाली टोलीहरूमा देखेको छु ।’ प्रशिक्षक बालगोपालले जस्तै उनले पनि फाइनलमा गोल सम्भव हुने अपेक्षा गरे । ‘अहिले जस्तै फाइनल खेल पनि गोलरहित हुने सम्भावना पनि छ । त्यसले साँच्चिकै दर्शकलाई निराश बनाउनेछ,’ उनी भन्छन्, ‘तर, फाइनल खेलमा गोल हुन्छ भन्ने अपेक्षा गरौँ ।’
