शनिबार बंगलादेशलाई पराजित गर्न सके नेपालले प्रतियोगिताको फाइनल स्थान सुरक्षित मात्रै गर्ने छैन, १९ महिना १७ दिनपछि सातौँ अन्तर्राष्ट्रिय खेलमा आएर आफ्नो गोलविहीन यात्रालाई पनि टुंग्याउनेछ
फिफा वरीयता
- नेपाल १७१
- बंगलादेश १८६
नेपाली सिनियर राष्ट्रिय टोलीले ६ वर्षपछि दशरथ रंगशालामा आधिकारिक खेल खेल्दै छ । थ्री नेसनकपअन्तर्गत शनिबार नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा विश्व फुटबल महासंघ (फिफा)ले मान्यता दिएको खेल हुनेछ । आफ्नो एक मात्र अन्तर्राष्ट्रिय रंगशालामा लामो समयपछि आधिकारिक प्रतिस्पर्धामा उत्रँदा नेपाली टोली ठूलो दबाबमा हुनेछ । झन्डै २० महिनाको अवधिमा ६ अन्तर्राष्ट्रिय खेल खेल्दा नेपालले एक गोलसम्म गर्न सकेको छैन । बरु, समग्रमा ११ गोल व्यहोर्दै चार खेलमा पराजित सामना गरेको नेपाल दुई खेलमा बराबरीमै रोकिएको छ । नेपाली टोलीसामु बंगलादेशविरुद्धको खेलमा आफ्नो गोलविहीन यात्रालाई रोक्नुपर्ने दबाब हुने नै छ । थ्री नेसनकपको फाइनलमा स्थान सुरक्षित गर्न पनि बंगलादेशविरुद्ध गोल गर्नुपर्ने दबाब नेपाली टोलीसामु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तानको युवा टोलीलाई १–० ले पराजित गर्दै बंगलादेश यसअघि नै फाइनलमा पुगिसकेको छ । बंगलादेशले पराजित गरेको त्यही टोलीसँग बिहीबार गोलरहित बराबरीमै रोकिएपछि तीन टोली सहभागी थ्री नेसनकपको फाइनलमा पुग्न नेपाललाई केही मुस्किल देखिएको हो । फाइनलमा स्थान सुरक्षित गर्न नेपाललाई जित वा कम्तीमा बराबरीको नतिजा आवश्यक छ ।
नेपाल एकभन्दा बढी गोलअन्तरको पराजित भए किर्गिज युवा टोलीको भाग्य खुल्नेछ । त्यसैले नेपालले बंगलादेशविरुद्ध पराजयबाहेकको रणनीति तय गरेको छ । शनिबार बंगलादेशलाई पराजित गर्न सके नेपालले प्रतियोगिताको फाइनल यात्रा मात्रै तय गर्ने छैन, १९ महिना १७ दिनपछि सातौँ अन्तर्राष्ट्रिय खेलमा आएर आफ्नो गोलविहीन यात्रालाई पनि टुंग्याउनेछ । तर, किर्गिस्तानको युवा टोलीविरुद्धको प्रदर्शनलाई आधार मान्ने हो भने नेपालका लागि यो नतिजा सहज पक्कै हुनेछैन । प्रशिक्षक बालगोपाल महर्जनले अहिले रहेका खेलाडीमध्ये उत्कृष्टहरूलाई छनोट गरेको दाबी गरेको यो टोलीमा धेरै समस्या देखिएको छ ।
विशेष गरी अग्रपंक्तिमा नेपाली खेलाडी निक्कै कमजोर देखिएका छन् । किर्गिस्तान यु–२३ विरुद्ध नेपाली स्ट्राइकरले नियमित प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन् । यो तथ्यलाई प्रशिक्षक बालगोपाल आफैँले पनि स्वीकार गरेका छन् । बंगलादेशविरुद्ध यही कमजोरीलाई सुधार नगर्ने हो भने नेपाललाई जित मुस्किल छ । ‘हामी पछिल्लो तीन महिनादेखि बन्द प्रशिक्षणमा छौँ । तर, यो अवधिमा हामीले कहिल्यै अभ्यास खेल खेल्न पाएनौँ,’ प्रशिक्षक बालगोपाल भन्छन्, ‘त्यसैले यो प्रतियोगिताले आगामी प्रतिस्पर्धालाई तयार रहन मद्दत गरेको छ । किर्गिस्तानविरुद्ध देखिएको कमीकमजोरीलाई आगामी खेलमा सुधार गर्नेछौँ ।’
किर्गिस्तानको यु–२३ टोलीविरुद्ध प्रशिक्षक बालगोपालले आफ्ना चारै स्ट्राइकरलाई प्रयोग गरे । अञ्जन विष्ट र अभिषेक रिजाललाई पहिलो रोजाइमै मैदानमा उतारेका प्रशिक्षक बालगोपालले दोस्रो हाफमा भरत खवास र दर्शक गुरुङलाई अवसर दिएका थिए । यद्यपि, चारै स्ट्राइकरबाट गोल सम्भव भएन । प्रतियोगिता सुरु हुनुअघि बंगलादेश र किर्गिस्तान दुवैले सशक्त मानेको टोली हो, नेपाल । उमेर समूहको टोली त्यसमाथि थोरै समयको मात्रै तयारीमा प्रतियोगिता खेल्न आएको किर्गिस्तानसँग बराबरीमै रोकिएपछि नेपाल दबाबमा देखिएको छ ।
बंगलादेश नेपालको परम्परागत प्रतिद्वन्द्वी हो । सन् १९८३ देखियता विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २१ पटक प्रतिस्पर्धा गर्दा बंगलदेशले १३ खेलमा जित हात पारेको छ । नेपालले ६ खेल आफ्नो पक्षमा पर्दा दुई खेल बराबरीमै टुंगिएको छ । पछिल्लोपटक नेपालले बंगलादेशसँग गत नोभेम्बरमा प्रतिस्पर्धा गरेको थियो । दुई मैत्रीपूर्ण खेलमध्ये पहिलोमा २–० ले पराजय बेहोरेको नेपालले दोस्रो खेलमा भने बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो ।
यसपटकको भेट नेपाललाई बंगलादेशसँगको पछिल्लो पराजयको बदला लिने अवसर पनि हुनेछ । त्यसका लागि नेपाली खेलाडीले आफ्नो प्रदर्शनमा धेरै सुधार भने गर्नुपर्नेछ ।
