नेपालको गोलविहीन यात्रा रोकिएन

शुक्रबार, १३ चैत, २०७७
डिजिटल संस्करण

बिहीबारको खेलमा एकपछि अर्काे नियमित अवसर सिर्जना गरेको नेपालले गोल गर्न भने सकेन, नेपाल पछिल्लो ६ खेलमा जित र गोलविहीन छ 

नेपाली सिनियर राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो जित र गोलविहीन यात्रालाई टुंग्याउने अवसर खेर फालेको छ । थ्री नेसनकपअन्तर्गत बुधबार सम्पन्न खेलमा किर्गिस्तानको यु–२३ टोलीसँग नेपाल गोलरहित बराबरीमा रोकियो । 

यससँगै नेपाल लगातार ६ अन्तर्राष्ट्रिय खेलमा जित हात पार्न मात्रै होइन गोल गर्नसमेत असफल भएको छ । नेपालले पछिल्लो १९ महिनादेखि कुनै पनि विदेशी टोलीविरुद्ध गोल गर्न सकेको छैन । १० सेप्टेम्बर २०१९ मा विश्वकप २०२२ र एसिया कप २०२३ छनोटअन्तर्गतको खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेयता नेपालले फेरि यो सफलतालाई दोहो¥याउन सकेको छैन ।

नेपाली सिनियर टोली ६ वर्षपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उत्रदा प्रशिक्षक बालगोपाल महर्जनले पहिलो रोजाइमा युवा खेलाडीलाई अवसर दिएका थिए । यस क्रममा चार खेलाडीले पहिलोपटक सिनियर राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाए । मिडफिल्डर त्रिदेव गुरुङ र सन्जोक राई पहिलो रोजाइमै मैदानमा उत्रिएका थिए । रक्षक निशान खड्का र स्ट्राइकर दर्शन गुरुङले दोस्रो हाफमा मैदानमा प्रवेश गर्ने अवसर पाए । 

प्रतियोगिताका लागि अहिले भएका खेलाडीमध्ये उत्कृष्ट टोलीको छनोट गरेको हुँ । समग्रमा खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु । हामीले धेरै अवसर सिर्जना गरेका हौँ । बालगोपाल महर्जन, प्रशिक्षक नेपाली टोली

नेपालले पहिलो हाफमा एकतर्फी दबाब बनाउँदै केही राम्रा अवसर सिर्जना गरेको थियो । यद्यपि, नेपालले ती कुनै पनि अवसर सदुपयोग गर्न सकेन । खेल सुरु भएको तेस्रो मिनेटमै त्रिदेवले प्रहार गरेको कर्नरमा अन्जन विष्टको हेडिङ पहिलो बारको निकै नजिकबाट बाहिरियो । त्यसको ६ मिनेटपछि त्रिदेवकै कर्नरमा अनन्त तामाङको हेडिङ पनि त्यही दिशाबाट बाहिरियो । 

खेलको १३औँ मिनेटमा अञ्जनले डी बक्सभित्रबाट प्रहार गरेको बल दोस्रो बारमा लागेर फर्किनु नेपालको दुर्भाग्य बन्यो । खेलको ३२औँ मिनेटमा रवि पासवानको क्रसमा अन्जनको अर्काे सशक्त प्रहार पोस्टको नजिकैबाट बाहिरियो । यसको तुलनामा किर्गिस्तानले कुनै सशक्त आक्रमण गर्न सकेको थिएन । 

खेलको ७३औँ मिनेटमा निदेश राजवंशीले उपलब्ध गराइदिएको बललाई सुजल श्रेष्ठले सिक्स यार्ड बक्स कर्नरबाट सीधै बाहिर प्रहार गरिदिए । विपक्षी खेलाडीको निगरानीमा नरहेका उनीसँग उक्त बललाई नियन्त्रणमा लिएर प्रहार गर्ने समय थियो । सुजल हडबडिँदा उक्त अवसर खेर गएको थियो । 

खेलको अन्तिम २३ मिनेट नेपालले किर्गिस्तानको १० जनासँग खेलेर पनि गोल निकाल्न सकेन । दुई पहेँलो कार्डमा कप्तान तासिइभ कमोलिदिनले ६७औँ मिनेटमा मैदान छाडेपछि किर्गिस्तान १० जनामा सीमित भएको थियो । यद्यपि, नेपालले त्यसको फाइदा उठाउन सकेन । 

स्ट्राइकरको कमजोरीले जितबाट चुक्नुपर्‍यो : महर्जन
नेपाली टोलीका प्रशिक्षक बालगोपालले आफ्ना स्ट्राइकरको कमजोरीका कारण जितबाट चुक्नुपरेको प्रतिक्रिया दिए । यद्यपि, समग्रमा भने उनले खेलाडीको प्रदर्शनमा सन्तुष्टि जनाए । ‘प्रतियोगिताका लागि मैले अहिले भएका खेलाडीमध्ये उत्कृष्ट टोलीको छनोट गरेको हुँ । समग्रमा खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु । हामीले धेरै अवसर सिर्जना गरेका हौँ,’ उनले भने, ‘यद्यपि, ती अवसर सदुपयोग हुन सकेनन् । तुलनात्मक रूपमा स्ट्राइकरले आवश्यकताअनुसार खेल्न सकेनन् ।’ उनले किर्गिस्तानविरुद्धको खेलमा देखिएको कमजोरीलाई आगामी खेलमा सुधार गरिने बताए ।

किर्गिस्तानका प्रशिक्षक झोल्दोसोभ नुर्बेकले बराबरीको नतिजामा सन्तुष्टि जनाए । ‘नेपाल बलियो टोली हो । नेपालको खेल छिटो छ । आज हाम्रो कप्तानले रातो कार्ड पाएका कारण पनि हामीलाई केही मुस्किल भयो,’ प्रशिक्षक झोल्दोसोभले भने, ‘त्यसका बाबजुद पनि एक अंक सुरक्षित गर्न सफल भएका छौँ । खेलाडीको प्रदर्शनमा खुसी छु ।’

नेपाल र किर्गिस्तानको युवा टोली बराबरीमै रोकिँदा बंगलादेश फाइनलमा प्रवेश गरेको छ । नेपाललाई भने फाइनल खेल्नका लागि अब शनिबार हुने समूहगत चरणको अन्तिम खेलमा बंगलादेशसँग अंक खोस्नुपर्नेछ । नेपाल पराजित भएको अवस्थामा किर्गिस्तानको भाग्य खुल्न पनि सक्छ । 

See More On

सुझावित समाचार