संसदीय समितिले भन्यो– पूर्वतयारीका काम नसकी हनुमन्ते करिडोरको ठेक्का नलगाउनू

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण
संसदीय समितिले भन्यो– पूर्वतयारीका काम नसकी हनुमन्ते करिडोरको ठेक्का नलगाउनू

फाइल तस्बिर

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले हनुमन्ते खोलाको करिडोर निर्माणका सन्दर्भमा आयोजना पूर्वतयारीका काम सम्पन्न नगरी ठेक्का नलगाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

समितिको निर्णय सुनाउँदै सभापति कल्याणी खड्काले भनिन्, ‘आयोजना पूर्वतयारीका काम सम्पन्न नगरी ठेक्का नलगाउन समितिले यसअघि नै मन्त्रालयहरूलाई र सम्बन्धित निकायलाई निर्देशन दिएको विषयमा पुनः स्मरण गराउँदै आगामी दिनमा सोहीअनुसार प्रक्रिया पूरा गरी आयोजनाको काम अगाडि बढाउन र कडाइका साथ समितिको निर्देशनलाई कार्यान्वयन गरी काम अगाडि बढाउन समिति नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन गर्दछ ।’

करिडोर निर्माणका क्रममा विभिन्न ठाउँमा समस्या देखिएको भन्दै ती समस्यालाई समाधान गरेर अघि बढ्नुपर्ने समितिले बताएको छ । ‘हनुमन्ते करिडोर निर्माणको कार्यमा उल्लेख्य प्रगति भएको देखिए पनि मध्यपुरथिमि नगरपालिका– ३ र सूर्यविनायक नगरपालिका– २ का केही स्थानमा देखिएको अवरोध जनताका समस्या समाधान स्थानीय तह, जिल्ला प्रशासन र सम्बन्धित आयोजनाहरूले आवश्यक समन्वय गरी उपयुक्त निकास निकाल्न आवश्यक देखिएको छ । यसर्थ निकास निकाल्न समिति सुझाब दिन्छ,’ खड्काले भनिन् ।

सुझावित समाचार