नेप्सेमा दोहोरो अंकको वृद्धि

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण

सेयर बजारमा वृद्धि कायमै रहेको छ । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबारको प्रिसेसनलगत्तै २४ अंकमुनिसम्म पुगेको नेप्से बजार बन्द हुँदा १४ दशमलव ५७ अंकले बढेर २ हजार ५ सय २८ बिन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्गको सेयर कारोबारमापक सेन्सेटिभ इन्डेक्स ० दशमलव ९ अंकले बढेर ४ सय ४८ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको बढेको छ । ट्रेडिङ समूहको सूचक सबैभन्दा धेरै ९ दशमलव ३४ प्रतिशतले र अन्य समूहको सूचक ० दशमलव १८ देखि करिब ६ प्रतिशतसम्म बढेको हो । २ सय ८ किसिमका धितोपत्र र ऋणपत्र खरिद–बिक्री हुँदा कुल ५ अर्ब १४ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन १ करोड २७ कित्ता–इकाइ सेयर किनबेच भएको छ ।

 निफ्राको सबैभन्दा धेरै कारोबार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सबैभन्दा धेरै रकमको कारोबार भएको छ । बैंकको ५२ करोड ६० लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, ३२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको अपर तामाकोसी  हाइड्रोपावर दोस्रो स्थानमा छ । नेपाल बैंकको पनि २८ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

 साल्ट ट्रेडिङ कर्पोरेसनमा सर्किट
साल्ट ट्रेडिङ कर्पोरेसनको यस दिन १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक लागेको छ । चन्द्रागिरि हिल्स, रसुवागढी हाइड्रोपावर, कालिका पावर कम्पनी र सान्जेन जलविद्युत्को पनि करिब १० प्रतिशतले मूल्य बढेको छ । त्यस्तै, यस दिन सबैभन्दा धेरैले मूल्य घट्नेमा पञ्चकन्या माई हाइड्रोपावर, सप्तकोसी डेभलपमेन्ट बैंक रहेका छन् । यिनको ३ दशमलव ६१ देखि ४ दशमलव १५ प्रतिशतसम्म मूल्य घटेको छ ।

 सिंगटी हाइड्रो इनर्जीमा १६ लाखको आवेदन
सिंगटी हाइड्रो इनर्जीमा १६ लाख २३ हजार ४ सय ५० जनाको आवदेन परेको छ ।आवेदन दिने अन्तिम दिन मंगलबार साँझसम्म सिडिएससीले दिएको जानकारीअनुसार २ करोड ४७ लाख २० हजार ४ सय ५० कित्ता सेयर आवेदन 
परेको हो । कम्पनीले शुक्रबारदेखि बिक्रीमा ल्याएको २९ लाख कित्ता आइपिओमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि बाँडफाँड गरिएको छ । बाँकी रहने २६ लाख ९७ हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याएको हो ।  

 ५ करोड ५५ लाख कित्ताबराबरको आइपिओ आउँदै
नेपाल धितोपत्र बोर्डमा १५ कम्पनीले साधारण सेयर (आइपिओ) जारी गर्ने अनुमति मागेका छन् । यी कम्पनीले कुल ५ अर्ब ५५ करोड ४२ लाख मूल्यबराबरको ५ करोड ५५ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेका हुन् ।  यिनमा अधिकांश कम्पनी जलविद्युत् क्षेत्रका रहेका छन् ।

हाइड्रोपावर क्षेत्रका साहस ऊर्जा हाइड्रोपावर, सामलिङ साहस ऊर्जा, बुद्धभूमि नेपाल, सयपत्री हाइड्रो, बलेफी हाइड्रो, ग्रिन भेन्चर्स हाइड्रो, हिमालयन हाइड्रो, मैलुङ खोला हाइड्रोपावर रहेका छन् । जलविद्युत् क्षेत्रबाट विन्ध्यवासिनी हाइड्रो, सिइडिबी हाइड्रो, न्यादी हाइड्रो र मध्य भोटेकोसीसमेत पाइपलाइनमा रहेका हुन् । 

त्यसैगरी, लघुवित्त कम्पनीहरूमा जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सेयर जारी गर्ने भएका हुन् । डिस मिडिया नेटवर्कले समेत सेयर निष्कासन गर्न लागेको छ ।

See More On

सुझावित समाचार