एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् । एमालेको नेपाल–खनाल पक्षीय अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेलालाई राजधानीमा मंगलबार सम्बोधन गर्दै नेपालले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताएका हुन् ।
उनले भने, ‘आज एकजनाले विनम्र भावले भन्दै हुनुहुन्थ्यो केपी ओलीसँग मिल्नका लागि के गर्नुप¥यो भने उहाँले जे–जे कारबाही गर्नुहुन्छ सहेर भए पनि, पार्टीबाट निकालिदिनुहुन्छ भने पनि पार्टीबाट निकालिए पनि चुप लागेर सहेर बसिदिनुहोस् । के त्यही बाटोमा हामी जाने हो ? के घुँडा टेक्ने बाटोमा हामी जाने हो ? हामी के आत्मसमर्पणको बाटोमा जाने हो ? के केपी ओलीको टाङमुपन छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन । त्यसो हुनाले केपी ओलीको यो कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौँ । हामी आतंकित भएका छैनौँ । त्यसको सामना गर्न तयार छौँ ।’
ओली पक्षले सोधेको स्पष्टीकरणबाट भागेर मैदान नछाड्ने र पार्टी नफुटाउने पनि उनले बताए । अध्यक्ष ओली पार्टी विभाजनको पक्षमा रहे पनि आफूले पार्टी नफुटाउने उनको भनाइ छ । उनले भने, ‘मलाई एकजनाले भन्नुहुन्थ्यो स्टेजमा बस्दाखेरि अनुहार उज्यालो गर्नुहोस्, अलि अँध्यारो–अँध्यारोजस्तो भयो मुसुक्क हासिदिनुहोस्, म हाँस्ने प्रयत्न गर्दै थिएँ तपाईंहरूमा अलिकता पनि नपरोस् कि हामी तर्सेका छौँ, केपी ओलीको स्पष्टीकरणबाट तर्सेका छैनौँ । हामी मैदान छोडेर भाग्नेवाला छैनौँ, पार्टी हामी फुटाउँदैनौँ । पार्टी फुटाउने केपी ओली हुन् । पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौँ । पार्टीलाई एकताबद्ध बनाउँछौँ ।’
आफू कहिले अलमलमा र द्विविधामा नपरेको पनि नेपालले स्पष्ट पारे । चुनौतीको सामना गर्दै अगाडि बढ्ने उनको भनाइ छ । उनले भने, ‘कस्ता–कस्ता कहाँ आए केपी ओली मेरो सामुन्नेमा ।’ ओलीको अहिलेको चुरिफुरी प्रधानमन्त्रीको कुर्सीमा बस्दासम्म मात्रै हुने नेपालको भनाइ छ ।
नेपालले एमाले आफूहरूको भएको पनि जिकिर गरे । उनले भेन, ‘नेकपा एमाले हाम्रो हो । केपी ओलीको होइन । अब केपी ओलीले जालझेल गरेर कानुनी हिसाबले कब्जा गरे भने विचार गरौँला, होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बिमाले हुन, सिमाले हुन्, उनी यो पार्टी छोडेर गए हुन्छ ।’