शेरबहादुर देउवा भन्छन्– विजय गच्छदारलाई फसाइयो, कांग्रेसलाई दुःख दिनेलाई छोड्दैनौँ

मंगलबार, १० चैत, २०७७
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति विजय गच्छदारलाई फसाउने काम भएको भन्दै न्याय पाउने विश्वास लिएका छन् । ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघले सुनसरीको धरानमा मंगलबार आयोजना गरेको ‘समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रमको उदघाटन समारोहमा देउवाले भने, ‘विजय गच्छदार हाम्रो पार्टीको नेता हो, उहाँलाई फसाइएको छ, मलाई विश्वास छ, उहाँले न्याय पाउनुुहुनेछ ।’

उनले कम्युनिस्ट सरकारको प्रभावमा प्रहरी र सरकारी कर्मचारीले कांग्रेसका कार्यकर्तालाई दुःख दिएको भन्दै आक्रोश पोखे । ‘जनताको करबाट तलब खाएर पार्टीको काम गर्ने ?’ झोक्किँदै देउवाले भने, ‘हाम्रो पार्टीको साथीलाई दुःख दिनेलाई छोड्दैनौँ, छोड्दैनौँ, छोड्दैनौँ ।’ 

देउवाले आफूले चाहेर पनि प्रधानमन्त्री बन्ने अवस्था नरहेकोसमेत बताए । उनले भने, ‘शेरबहादुरले प्रधानमन्त्री खाएन–खाएन भन्ने हल्ला छ, तर त्यस्तो होइन, सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र दुइटा पार्टी भए, अहिले बहुमतको सरकार छ । बहुमतको सरकार हुँदाहुँदै मैले चाहेर प्रधानमन्त्री हुने हो र ? त्यसैले मैले चाहेर पनि हुँदैन । शेरबहादुरले प्रधानमन्त्री खाँदै खाएन भन्ने हल्ला छ । खान्छु भनेर मात्रै भएन नि ।’

उनले पार्टी संगठनलाई बलियो बनाउने गरी अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । ‘जनसम्पर्क बढाएर भोट लिने काम गर्नू,’ उनले भने, ‘कांग्रेसले दलित, महिला, आदिवादी जनजाति सबैको भोट लिएर समावेशी सरकार बनाउनुपर्छ । आगामी चुनावमा बहुमत ल्याउने गरी जनसम्पर्क बढाउनुस् ।’
 

सुझावित समाचार