धुवाँधुलोबाट यसरी जोगाऔँ आँखा

सोमबार, ९ चैत, २०७७
डिजिटल संस्करण

अहिलेको मौसम यसै पनि धुवाँधुलो बढी उड्ने वेला हो । त्यसमाथि पनि सहरी क्षेत्रमा सवारीसाधनको चाप, विकास निर्माणका गतिविधिले हावा प्रदूषित भइरहेको हुन्छ । यसवेला धुवाँधुलो र प्रदूषणबाट आँखालाई जोगाउनु निकै मुस्किल हुन्छ । यसकारण चस्माको अनिवार्य प्रयोग गर्नुपर्छ । धुवाँधुलोबाट आँखालाई जोगाउन यस्ता विधि उपायोगी हुन्छन् । 

प्रदूषणले आँखामा यस्ता असर
धुवाँधुलो र प्रदूषणले आँखा रातो हुने, आँखा सुक्खा हुने र संक्रमण हुने जोखिम हुन्छ । धुलो आँखामा परेर संक्रमण फैलिए कर्नियामा क्षति पुग्न सक्छ । समयमै यो समस्याको उपचार नगरे दृष्टि गुम्ने जोखिमसमेत हुन्छ । सामान्यतया आँखामा धुलो पर्दा मिच्ने बानी हुन्छ, धुलोको कणले आँखाको नानीमा चोट पुगेमा सजिलै उपचार गर्न सकिँदैन । चोटका कारण आँखाको नानीमा दाग भएमा उपचारका लागि नानी प्रत्यारोपण गर्नुपर्ने पनि हुन सक्छ । 

आँखामा सामान्य धुलोको कणले सीधै असर नगरे पनि धुलोको ठूला कण र लामो समयसम्म प्रदूषणमा बस्ने व्यक्तिहरूको दृष्टिमा बिस्तारै असर पुर्याइरहेको हुन्छ । धुवाँका कारण आँखाको ओसिलोपन (लुब्रिकेन्ट) सुक्दै जाने हँुदा सुक्खापनको समस्या हुन्छ । 

आँखामा धुवाँधुलोले पार्ने असर प्रदूषणको किसिममा पनि निर्भर हुन्छ । सामान्य माटोको कण अथवा सडकपेटीबाट उड्ने धुवाँधुलोको तुलनामा केमिकलयुक्त धुवाँधुलोले आँखामा बढी प्रभाव पारिरहेको हुन्छ । जस्तै, सवारीसाधन, उद्योग, कलकारखाना, निर्माण सामग्रीबाट निस्कने प्रदूषण आँखाका लागि घातक हुन्छ । खासगरी गाडी मर्मत गर्ने, निर्माण कार्यमा प्रत्यक्ष संलग्न रहने व्यक्तिहरू यसबाट बढी प्रभावित भएको पाइन्छ । 

आँखालाई कसरी जोगाउने ?

  • धुवाँधुलो र प्रदूषण बढी हुने क्षेत्रमा रहँदा अनिवार्य रूपमा मास्क र चस्माको प्रयोग गर्नुपर्छ । 
  • आँखामा धुलो परिहालेमा मिच्नु हुँदैन । सफा पानीले
  • सफा गर्न सकिन्छ । 
  • आँखामा चोटपटक लागेमा सकेसम्म छिटो सम्बन्धित चिकित्सकको सहयोग लिनुपर्छ । आँखामा जथाभावी औषधिको प्रयोग भने गर्नुहँुदैन । 
  • कारणवश चोटका कारण आँखाको नानीमा दाग लागेमा आँखा प्रत्यारोपण नै गर्नुपर्ने वा दृष्टि नै पूर्ण रूपमा जाने हुँदा सजग हुन आवश्यक छ ।  

सुझावित समाचार