बिहीबार साँझ शव भेटिएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ९ का घनश्याम कोइरीको उनकै साथीहरूबाट हत्या भएको प्रहरीले जनाएको छ । २ चैतदेखि बेपत्ता रहेका कोइरीको शव बिहीबार अपराह्न रुपन्देहीको ओमसतिया गाउँपालिका–४ पर्सौनीस्थित परासी भैरहवा सडकदेखि उत्तरतर्फ शिव्वन यादवको गहुँखेतमा फेला परेको थियो ।
अनुहार तथा शरीर सड्न लागिसकेको अवस्थामा भेटिएको शव हराइरहेका आफ्ना श्रीमान्को रहेको भन्दै मृतककी श्रीमती शिला कोइरीले पुष्टि गरेकी थिइन् । त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा शुक्रबार बिहान हत्यामा संलग्न चार युवा पक्राउ परेका हुन् ।
पक्राउ परेका चारैजनाले हत्या स्विकारे : प्रहरी
प्रहरीले कोइरीको हत्या आरोपमा सिद्धार्थनगर नगरपालिका– ९ का १९ वर्षीय रहेमान अली, २६ वर्षीय सुनील गुरुङ, २८ वर्षीय मुख्तार पठान र सिनपा– १२ का २१ वर्षीय धर्मराज अहिरलाई पक्राउ गरेको छ । पक्राउ परेका चारैजनाले प्रारम्भिक बयानका क्रममा हत्यामा संलग्न रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए । मृतकका परिवार तथा पक्राउ परेका युवाहरूसँगको सोधपुछबाट हत्या हुनुको कारण रिसिइबी र लागुऔषध दुव्र्यसन रहेको प्रहरीले जनाएको छ ।
पारिवारिक झगडाको बदला लिन हत्या
पक्राउ परेकामध्येका गुरुङ र मृतक कोइरीको परिवारबीच करिब आठ महिनाअघि सामान्य झगडा भई गत १३ साउनमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र भएको थियो । जिल्ला प्रहरी कार्यालयमा मिलापत्र भएपछि पनि दुई परिवारबीच विभिन्न समयमा झगडा र वादविवाद भइरहन्थ्यो । सोही झगडाको बदला लिन लागुऔषध दुर्व्यसनको कुलतमा परेका उनीहरूले हत्या गरेको प्रहरीले जनाएको छ ।
एसपी पोखरेलले हत्या आरोपमा पक्राउ परेका आरोपित चारैजना लागुऔषध दुव्र्यसनीको कुलतमा संलग्न रहेको र हत्याअघि पनि लागुऔषध सेवन गरेपछि विवाद निकाली हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए ।