घरैमा यसरी बनाउनुहोस् पिज्जा

आइतबार, ८ चैत, २०७७
डिजिटल संस्करण

पिज्जा भन्नेबित्तिकै महँगो रेस्टुरेन्टको मेन्युमा हुने खानामध्ये एक हो भन्ने धेरैको दिमागमा आउँछ ।

यसको स्वादमा युवायुवती मात्रै होइन, वयस्क तथा वृद्धवृद्धा पनि लोभिने गरेका छन् । स्वादिलो हुँदाहुँदै पनि सबै मानिस रेस्टुरेन्टमा गएर पिज्जा खान भने सक्दैनन् । कतिपयको समय नमिल्न सक्छ भने कतिपय महँगो हुने भएकाले रेस्टुरेन्ट जान सक्दैनन् । उनीहरूमा घरैमा पनि पिज्जा बनाउन सकिन्छ कि सकिँदैन होला भन्ने प्रश्न रहिरहन्छ । यस्तै व्यक्तिलाई सहज होस् भनेर यहाँ घरैमा स्वादिलो पिज्जा बनाउने तरिका प्रस्तुत गरिएको छ । 

पिज्जा शब्दको सुरुवात सन् ९९७ मा इटालीको दक्षिणी प्रान्तबाट सुरु भएको हो । त्यसवेला विभिन्न प्रकारका रोटीहरूमध्ये पिज्जालाई एक परिकारका रूपमा लिइन्थ्यो । बिस्तारै यसमा समावेश गरिने अन्य खाद्यवस्तुबाट आधुनिक रूपमा बाहिर आउन थालेको इतिहास छ । पिज्जा इटालीको स्थानीय खानामध्येको एक परिकार हो, जुन दोस्रो विश्वयुद्धपछि संसारभर फैलिएको थियो ।

बनाउने विधि
पिज्जा खासगरी गहुँको पिठो, गोलभेँडाको सस, पनिर, मसाला र अन्य सागसब्जी मिसाएर बनाइन्छ । स्वादका आधारमा यो विभिन्न किसिमको हुन्छ ।

डो
पिज्जाका लागि सबैभन्दा पहिले डो बनाउनुपर्छ । यसका लागि मात्रा मिलाएर गहुँको पिठो, पानी, चिनी, ओलिभ तेल राखेर राम्ररी मुछ्नुपर्छ । मुछ्नका लागि सजिलो बनाउन सानो–सानो डल्लो पार्न सकिन्छ । मुछिसकेपछि एकदेखि डेढ घन्टासम्म हावा नछिर्ने ठाउँमा राख्दा डो रोटी बनाउन तयार हुन्छ । 

सस
गोलभेँडाको सस बनाउन सबैभन्दा पहिले गोलभेँडालाई उसिनेर बाहिरको बोक्रा र बिज निकाल्नुपर्छ । यसलाई काटेर लेदो पार्नुपर्छ । तताएको तेलमा अदुवा, प्याज, तेजपत्ता र सेलरी नामक हर्ब राखेर एकछिन चलाउनुपर्छ । यसमा एकदमै मसिनो गरी काटेको गाँजर पनि राख्न सकिन्छ । अन्तिममा अगाडि उसिनेर काटेको गोलभेँडा राख्नुपर्छ । यसमा नुन र मरिच राखेर पकाउनुपर्छ । धेरै अमिलो भएमा अलिकति चिनी र धेरै गुलियो भएमा भिनेगर राख्न सकिन्छ । यसमाथि ओरिगानोको पात राखेर चलाउँदा छुट्टै खालको स्वाद बन्छ ।

डोलाई बेलेर रोटी बनाउने र त्यसमाथि सस राख्नुपर्छ । त्यसमाथि ठीक मात्रा मिलाएर मोजरेला चिज राख्नुपर्छ । यसरी मार्गेरिटा पिज्जा बन्छ, जुन प्रमुख हो । यसमा मन पर्ने खानेकुरा राखेर ओभनमा राखेर पकाइन्छ ।

पिज्जा विभिन्न किसिमको हुन्छ । आफ्नो इच्छाअनुसार मसरुम, चिकेन, अन्य सागसब्जी राखेर पिज्जा बनाउन सकिन्छ । यसका लागि पहिले चिज राखेर मार्गेरिटा पिज्जा तयार गर्नुपर्छ, त्यसपश्चात् मन पर्ने खानेकुरा मसिनो गरेर काटेर ओभनमा राख्दा पिज्जा तयार हुन्छ । 

See More On

सुझावित समाचार