सातामा नेप्सेले जोड्यो १६ अंक, दैनिक औसत कारोबार रकम घट्यो

आइतबार, ८ चैत, २०७७
डिजिटल संस्करण

गत साता उच्च उतारचढाव देखिएको सेयर बजार परिसूचक नेप्से अघिल्लो साताको तुलनामा १६ अंक (०.६७ प्रतिशत)ले वृद्धि भएर २४ सय ७५ बिन्दुमा आएको छ । 

बैंकहरूको अधिक तरलतामा कमी आउन थालेसँगै आत्तिएका लगानीकर्ता अहिले धैर्य देखिएका छन् । बैंकहरूले एक–आपसमा कारोबार गर्ने अन्तरबैंक ब्याजदर पनि बढेर करिब ४ प्रतिशत हाराहारी पुगेपछि तरलता कमीको तर्कलाई बल पुगेको थियो । तर, बैंकहरूको ब्याजदर कम्तीमा एक महिनाका लागि सीमान्तदरमा मात्रै बढेपछि लगानीकर्ता सम्हालिएका हुन् । ४ प्रतिशत हाराहारी पुगेको अन्तरबैंक ब्याजदर पुनः २ प्रतिशत हाराहारीमा ओर्लिएको छ । मुलुकमा ‘तरलता सर्टटर्म फेनोमेना’ बन्ने गरेको र प्रक्षेपण गर्न नसकिने, तर यसको अवस्थामा परिवर्तन भइरहने गरेकाले लगानीकर्ताले विवेक पु¥याएरै लगानी गर्नु सही हुन्छ । 

आर्थिक वर्षको तेस्रो त्रैमास अन्तिम हुन लागेकाले पनि सधैँझैँ लगानीकर्ता सिजनल प्रभावको अपेक्षामा आशावादीसमेत हुन थाालेपछि बजारमा सुधार हुँदै गएको हो । तेस्रो त्रैमासबाट कम्पनीहरूले वार्षिक नाफा–घाटाको अनुमान गर्न सकिने र नाफा देखिएमा वैशाखपछि हालको मूल्यमा वृद्धि हुन सक्ने भएकाले पनि लगानी बढ्न थाल्छ । कम्पनीहरूको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हेरेर राम्रा कम्पनीहरू यो अवधिमा छान्नु सही हुन्छ । 

गत साता भने कारोबार रकममा ४७ प्रतिशतले वृद्धि भएर २० अर्ब रुपैयाँ पुगेको छ । यद्यपि, अघिल्लो साता तीन दिन मात्र कारोबार भएकाले गत साता कारोबार रकम बढेको देखिएको हो । औसत कारोबार रकममा यस साता कमी आएको छ । दैनिक औसत कारोबार रकम ११ दशमलव ४४ प्रतिशतले घटेर ४ अर्ब ४८ लाखमा सीमित भएको छ । गत साता नेपाल पूर्वाधार बैंकको सबैभन्दा धेरै १२ अर्ब रुपैयाँको कारोबार भएको छ । कारोबार संख्याका आधारमा भने नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै २९ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । बैंकको मर्जरको हल्ला चलाइएकाले खरिद–बिक्री बढेको हो । 

समग्रमा लघुवित्त, जलविद्युत्, होटेल तथा पर्यटन, उत्पादनमूलक समूहगत परिसूचक उच्चदरमा बढेका छन् । यी परिसूचक २ देखि ९ प्रतिशतसम्म बढेको हो । अन्यमा सीमान्तदरमा परिवर्तन भएको छ । 

प्राविधिक विश्लेषण  
नेप्से परिसूचक हालसम्मको उच्च बिन्दु (२ हजार ६ सय ४० बिन्दु) बाट १ सय ६५ बिन्दुको दूरीमा छ । रेखाचित्रअनुसार नेप्से २ हजार ३ सय ७० आसपासबाट फर्किने गरेको देखिन्छ ।

यद्यपि, २ हजार ६ सय ४० को बिन्दु प्रतिरोधका रूपमा समेत रहेकाले बजार यसबीचको रेन्जमै केही समय संघर्ष गर्ने सम्भावना भने छ । नेप्सेको मैनबत्ती चित्रमा अन्तिम दुई दिन सेतो (हरियो) मैनबत्ती आकृति बनेको छ । यसले बजार केही समय बढ्न सक्ने संकेत गरिरहेको छ । 

नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा समानान्तर दूरी बनाएर अगाडि बढेको छ । अहिले २१ दिने रेखा ७ दिनेभन्दा माथि रहेकाले प्रवृत्ति भने बियरिस नै छ । बियरिस प्रवृत्तिमा पनि परिसूचक घटबढ (दुवै) भइरहन्छ । नेप्सेको १४ दिने आरएसआई सूचक ३८ स्केलमा आएको छ । यो सूचकमा समेत केही सुधार देखिएको हो । 

See More On

सुझावित समाचार