- भारतबाट प्राप्त अनुदान : १० लाख
- कोभ्याक्स सुविधामार्फत : २२ लाख घोषणा भएकोमा ३ लाख ४८ हजार प्राप्त
- सेरमसँग सरकारले खरिद गरेको : २० लाख खरिद गर्न ९३ करोड ६० लाख अग्रिम भुक्तानी गरेकोमा १० लाख मात्र प्राप्त
- हालसम्म प्राप्त जम्मा : २३ लाख ४८ हजार
- अहिलेसम्म प्रयोग भएको खोप : १६ लाख ७३ हजार
- बाँकी खोप : ६ लाख ७४ हजार
- आउन बाँकी : चिनियाँ अनुदान ८ लाख डोज
..... .......
पहिलो डोज लगाउने अभियान जारी रहेको र दोस्रो डोजको तयारी भइरहेको वेला नेपाल सरकारसँग खोप अभाव भएको छ । भारतीय कम्पनी सेरमसँग नेपाल सरकारले २० लाख डोज खरिद गरेकोमा १० लाख डोज मात्रै आएको छ ।
नेपालमा खोप अभियान १४ माघमा सुरु भएको हो । बढीमा आठ सातामा दोस्रो डोज लगाउनुपर्नेमा सरकारले ११ सातापछि (७ वैशाखमा) मात्र लगाउने सरकारी तयारी छ । बाँकी १० लाख कहिले आउने निश्चित छैन ।
स्टक अभावले खोप अभियान नै प्रभावित भएको छ । अहिले केन्द्रीय खोप भण्डारण स्टोर टेकु र प्रदेश आपूर्ति केन्द्रहरूमा गरी दुई लाख ९८ हजार डोज खोप मौज्दात छ । त्यस्तै, ७७ जिल्लामा तीन लाख ७६ हजार गरी कुल ६ लाख ७४ हजार खोप प्रयोग हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । जब कि अहिलेकै अंकमा पनि दोस्रो खोप लगाउन १६ लाख ७३ हजार डोज आवश्यक छ ।
६५ वर्षमाथिका मात्रै १२ लाख ३४ हजारले खोप लगाएका छन् । ६५ वर्षमाथिको संख्या कुल १७ लाख ८२ हजार चार सय ६९ छन् । नेपालमा गत १४ माघदेखि कोभिडविरुद्धको खोप अभियान सुरु भएको हो ।
सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई लगाउने सूची बनाएको थियो । तर, दश लाख मात्रै खोप आएपछि सूची परिवर्तन गरी पाँच लाख सात हजार ६ सय ६ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । सो अवधिमा चार लाख ३८ हजार आठ सय ७९ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५५ वर्षभन्दा माथिका उमेर समूहमा दोस्रो चरणको खोप लगाउने निर्णय गर्दै सूची सार्वजनिक गरेको थियो । तर, समयमा खोप नआएपछि उमेर समूह ५५ बाट ६५ पुर्याइएको थियो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार सेरमसँग २० लाख खरिद गरिए पनि १० लाख मात्र र कोभ्याक्स सुविधाले तीन लाख ४८ हजार मात्रै आएपछि खोप लगाउने उमेर समूह नै परिवर्तन गर्नुपरेको हो ।
देशभर ५५ वर्षमाथिका ३७ लाख १२ हजार ६ सय २१ जना नागरिक छन् । स्वास्थ्य मन्त्रालयले तत्काल ५५ वर्षदेखि ६४ वर्ष उमेरमा खोप सञ्चालन हुने अवस्था नभएको बताएको छ । सरकारले ७ वैशाखदेखि दोस्रो डोज लगाउने तयारी गरेको छ । तर, सरकारसँग स्टक सकिँदै छ, थप खोप आउने निश्चित भएको छैन ।
सेरमले समयमा खोप नदिँदा चार रुपैयाँ महँगो पर्यो
सेरम इन्स्टिच्युट अफ इन्डियाले २० लाख खोपको पैसा लिए पनि १० लाख डोज दिन बाँकी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ फागुनमा रकम पठाए पनि खोप आएको छैन ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सेरमले ५० करोड २९ दिनदेखि होल्ड गर्दा खोपको मूल्य चार डलरबाट बढ्न गएको छ, यो आमनेपालीको पैसा हो । ती अधिकारीका अनुसार जति रकम होल्ड गरेर खोप पठाउँदैन सेरमलाई त्यति नै फाइदा छ ।
सरकारी काम गर्दा वर्षको १० प्रतिशतले ब्याज बढ्ने प्रावधान छ । यसबीचमा ५० करोडको ब्याज २९ दिनमा ३९ लाख ७२ हजार पाँच सय ९४ रुपैयाँ हुन्छ । सेरमले जति ढिला खोप दिन्छ यसको मूल्य महँगो पर्दै जान्छ । अहिलेसम्म १० लाख डोजको मूल्य प्रतिडोजमा नेपाली चार रुपैयाँ महँगो भइसकेको छ । यसलाई आधार मान्दा हरेक दिन एक लाख ३६ हजार नौ सय ८६ रुपैयाँ घाटा लाग्छ ।
‘खोप आउने आसले निश्चित वर्गमा लगाउने सूची तयार पारेको हुन्छ । सोहीअनुसारको तालिम, यातायात खर्च, भत्तालगायतको व्यवस्था गरिएको हुन्छ । तर, योजनाअनुसार नआउँदा पुनः नयाँ रूपमा कार्यक्रमको योजना बनाउनुपर्ने भएकाले ठूलो रकम थप खर्च हुन्छ,’ प्रवक्ता अधिकारीले भने ।