निर्माण नहुँदै ३४ लाख ऋणमा पुष्पलाल स्मृति प्रतिष्ठान भवन, रकम नजुटेपछि भत्काउने तयारी

शनिबार, ७ चैत, २०७७
डिजिटल संस्करण

जिल्ला सदरमुकाम दुनैमा बन्न लागेको पुष्पलाल स्मृति प्रतिष्ठान भवन लाखौँ ऋणमा डुबेको छ । तीन वर्षअघि जग मात्र उठाइएको भवन पहिलो चरणमै ३४ लाख ऋणमा डुबेको हो ।

जग्गाधनीको २७ लाख र  कामदारको सात लाख गरेर ३४ लाख रकम उधारो तीर्न बाँकी छ । उधारो सम्झौतामा किनिएको जग्गामा भवन निर्माण कार्य सुरु गरिए पनि त्यसको पैसा अझै नपाएको जग्गाधनीको गुनासो छ ।

‘भवन बनाउनका लागि ३३ लाखमा ५ सय ३९ वर्गमिटर जग्गा दिएँ, गत साल भदौ मसान्तसम्म पैसा तिर्ने सम्झौता थियो, तीन वर्ष बित्यो, तर पैसा पाइएन्’ जग्गाधनी जितेन्द्र शाहीले गुनासो गरे । ‘मेरो जग्गामा भवन ठडिसक्यो, सबै गरेर ६ लाख मात्र पाएको छु,बाँकी पैसा दिने सुरसार छैन, विभिन्न निकायबाट लाखौँ पैसा भित्रिएको सुन्छु, तपाईंलाई दिने पैसा होइन भन्दै निर्माण समितिले टारिरहेको छ ’, ‘तोकिएको भाकामा त पैसा दिएनन, तर पैसा भएका वेला त दिनुपर्छ, अब मलाई पैसा चाहिएन, बनेको भवन भत्काएर मेरो जग्गा खाली गरिदिएभयो’ उनले थपे ।

‘करोडौँ मूल्य पर्ने सदरमुकामको जग्गा पुष्पलाल स्मृति भवन बनाउने बहानामा त्यसै हडपिएको छ, सम्झौताअनुसारको पैसा दिलाइदिन भन्दै प्रहरी प्रशासन,जिल्ला समन्वय समिति र एमालेकै केन्द्रीय कार्यालय काडमाडौंमा समेत पुगेँ, तर कसैले मेरो कुरा सुनेनन्’ उनले गुनासो गरे । ‘जग्गा बेच्दा आएको रकम बालबच्चाकाे पढाइ–लेखाइ गरौँला भनेर हो, जग्गा धेरै भएर होइन, केही गरी न्याय पाइएन भने अदालको ढोका पुग्छु ’शाहीले भने । उक्त जग्गा उनकी श्रीमती नन्दा शाहीको नाममा रहेको छ ।

काम गर्ने श्रमिकले पनि सात लाख पाएनन् 

उक्त भवनको जग निर्माण गर्ने मजदुरहरूले लाखौं रकम पाएका छैनन् । ठेक्कामा भवन निर्माणको जिम्मा लिएर पहिलो चरणमा जग हालेका रुकुम(पश्चिम) आठबिसकोट नगरपालिकाका कामदारहरूले करिब सात लाख रुपैयाँ तीन वर्षसम्म नपाएका हुन् ।

‘अर्काको बिरानो ठाउँमा आएर मजदुरी गर्न लागेको करिब तीन वर्ष भयो, कमाउने आसमा ५०औँ जना मान्छे लाएर जग हाल्यौँ, तर काम गरेको ६ लाख ८० हजार रकम अझै पाएका छैनौँ’ रुकुम(पश्चिम) आठबिसकोट नगरपालिका ५ का टीकाराम थापाले भने ।

सुझावित समाचार