इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि

शुक्रबार, ६ चैत, २०७७
डिजिटल संस्करण

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।

संघले आज विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रु‌पैयाँ बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरूप हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको संघले जनाएको छ । 

संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साबिकको मूल्यमा सबैभन्दा बढी रु. ९० र कम्तीमा छोटो दूरीमा रु. पाँच भाडा बढेको छ । काठमाडौँ–धनगढी गन्तव्यमा रु. ९०, काठमाडौँ–भद्रपुरमा रु. ६० भाडा बढेको छ भने पर्वतीय उडानमा रु. ७० बढेको छ ।
    
हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ । आयल निमगले हालै मात्र हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो । बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भएको संघले जनाएको छ । रासस

सुझावित समाचार