जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले संविधान संशोधन र रेशम चौधरी रिहाइको कुरा गर्दा सरकारमा आउने प्रस्ताव गरिएको बताउँदै रेशम चौधरीको विषयलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका हुन् ।
चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुने उनकाे भनाइ छ । थरुहट आन्दोलनका सबै आन्दोलनकारीलाई राजबन्दीसरहको व्यवहार हुनुपर्ने र राजनीतिक समस्याको रूपमा लिएर समस्या समाधान गरिनुपर्ने उनले बताए । उनले भने, ‘हामी संविधान संशोधनका कुरा गर्दा तपाईंहरू सरकारमा आइदिनुपर्यो । हामी रेशम चौधरीको कुरा गर्दा सरकारको लेनदेनको विषय बनाउँछन् । मलाइ लाग्छ, रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन । त्यसलाई सर्तको रूपमा बुझ्नुहुँदैन । नत्र त्यो राजनीतिक बेइमानी हुन्छ । त्यो राष्ट्रिय समस्या हो । राजबन्दी हो । त्यसलाई त्यही राजबन्दीसरह व्यवहार गरेर जसरी सिके राउतसँग व्यवहार भयो । जसरी नेत्रविक्रम चन्दसँग व्यवहार भयो त्यसैगरी थरुहट आन्दोलनमा भएका सम्पूर्ण आन्दोलनकारीहरूसँग राजबन्दीसरह व्यवहार गरेर राजनीतिक समस्या जसरी समाधान हुन्छ त्यसरी गरेर समाधान गर्नुपर्छ । न कि त्यसलाई सरकारमा आउने–जाने, सरकारको लेनदेनको विषय ।’
सांसद यादवले जसपा फुटको हल्ला मिडियामा आएको भन्दै कुनै लोभ–लालचमा नफस्ने र पार्टीलाई नफुटाउने बताए । जसपाले सही समयमा सही निर्णय लिने उनको भनाइ छ । उनले भने, ‘सहमतिको राजनीतिलाई अगाडि बढाउनुस् हाम्रो दल त्यसका लागि तयार छ । हाम्रोबारेमा मिडियामा जसरी कुरा आएको छ कि जनता समाजवादी पार्टी अहिले निर्णायक छ । जनता समाजवादी पार्टी एकढिक्का छ । र, कसैको कारणले हामी फुट्नेवाला छैनौँ । हामी कुनै लोभ, लालचमा फस्नेवाला छैनौँ । हामी विवेकपूर्ण, देशको हितमा हामी यो मुलुकलाई अगाडि बढाउन सही समयमा सही निर्णय लिन्छौँ ।’