कुपछि म्यानमारमा सेना र प्रहरीको गोली लागेर अढाई सय मानिसको ज्यान गइसकेको छ, तर देशव्यापी भद्र अवज्ञा आन्दोलन घट्नुको साटो बढिरहेको छ
कुपछि म्यानमारमा सेना र प्रहरीको गोली लागेर अढाई सय मानिसको ज्यान गइसकेको छ । यति धेरैको ज्यान गइसक्दा पनि देशव्यापी भद्र अवज्ञा आन्दोलन घट्नुको साटो बढिरहेको छ । फेब्रुअरी १ मा सेनाले नागरिक सत्ता अपदस्थ गरेर सत्ता हातमा लिएपछि सुरु भएको प्रदर्शनले म्यानमारको अर्थतन्त्रदेखि सरकारी कामकाजलाई पनि असर गर्न थालेको छ ।
आइतबार साँझ म्यानमारको पुरानो राजधानी यांगुनको ह्लाइङथाया जिल्लामा थुप्रै प्रदर्शनकारीको हत्या भयो । सो क्षेत्र औद्योगिक श्रमिक बहुल क्षेत्र हो र त्यहाँ पहिलेदेखि उग्र रूपमा प्रतिरोध भइरहेको थियो । सेना र प्रहरी अधिकारीको ठूलो डफ्फाले ह्लाइङथाया पसेर गोलीबारी गर्दा कम्तीमा ३१ प्रदर्शनकारीको ज्यान गयो । कुपछि सेनाले एकै स्थानमा सबैभन्दा बढी मानिसको ज्यान सोही स्थानमा लिएको छ ।
आइतबार साँझ नै म्यानमारको जुन्ताले ह्लाइङथाया क्षेत्रमा मार्सल कानुन घोषणा गरेको छ । सेनाले सत्ता हातमा लिएपछिको यस्तो खालको कानुन लागू गरिएको पनि पहिलो नै हो । सो क्षेत्रमा चिनियाँ स्वामित्वमा रहेका दुईवटा उद्योगमाथि आक्रमण भएपछि मार्सल कानुनको घोषणा गरिएको थियो । घोषणाअघि चिनियाँ दूतावासले म्यानमारको सरकारलाई ‘सम्पूर्ण आतंकवादी गतिविधि रोक्ने गरी’ कडा कदम चाल्न एक वक्तव्य जारी गरेको थियो ।
ह्लाइङथायामा मार्सल कानुन लगाइएको केही घन्टापछि नै सरकारले यांगुनको स्ववेप्यिथा जिल्लालाई पनि मार्सल कानुनअन्तर्गत राख्ने निर्णय ग¥यो । आइतबार स्ववेप्यिथामा पनि ठूलो प्रदर्शन भएको थियो ।
उता, स्वघोषित नागरिक सरकारका एक नेता मह्न विन खइङ थानले भूमिगत स्थानबाट फेसबुक लाइभमार्फत जातीय विद्रोहीहरूलाई आमप्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । म्यानमारमा जातीय पहिचानका आधारमा संघीयताको माग गर्दै आएका विभिन्न जातीय विद्रोही समूह र म्यानमारको सेनाबीच दशकौँदेखि युद्ध चलिरहेको छ । थानले तिनै समूहहरूलाई आमप्रदर्शनमा सहभागी हुन र सैन्य शासन विस्थापित गरेर संघीय प्रजातन्त्र स्थापनाका लागि सहकार्यको प्रस्ताव गरेका हुन् । थान सैन्य कुअघि म्यानमारको संसद्को माथिल्लो सदनका सभामुख थिए ।
म्यानमारका सत्तारूढ जनरलहरू हिंसा र हत्यामार्फत आमप्रतिरोधलाई मत्थर पार्ने रणनीतिमा देखिन्छन्, तर अहिलेसम्मको हत्याहिंसाले प्रतिरोधलाई थप बल प्रदान गरेको छ
उनले शनिबार जारी फेसबुक लाइभ भिडियोमा आफू आबद्ध ‘कमिटी रिप्रिजेन्टिङ द म्यानमार पार्लियामेन्ट’ले उत्तरी म्यानमारको ठूलो हिस्सा नियन्त्रण कायम गरेको सशस्त्र जातीय समूहका नेताहरूसँग जुममार्फत कुराकानी गरेको जानकारी दिए । अल्पसंख्यक करेन समूहका थान पछिल्लो क्रान्तिले विभिन्न जातीय समूहबीच एकताको अवसर ल्याएको बताए ।
पछिल्लो ६० वर्षको अधिकांश समय म्यानमारमा सेनाको शासन रहेको छ । त्यस अवधिमा म्यानमारको जातीय अल्पसंख्यक समुदायहरूले विभिन्न दमन सामना गरिरहेका छन् । सेनाको धेरै समय दमनविरुद्ध उठेको प्रतिरोधविरुद्ध जुधेर बितेको छ । पछिल्लोपटक सन् २०१७ मा म्यानमारको सेनाले मुसलमान अल्पसंख्यक रोहिंग्याविरुद्ध जातीय सफाया अभियान सञ्चालन गरेको थियो । सो नरसंहारको विश्वले आलोचना गरेको थियो । धेरैजसो जातीय अल्पसंख्यक समुदाय प्राकृतिक स्रोतले सम्पन्न क्षेत्रमा बसोवास गर्ने भएकाले सेनाको चासो रहने गरेको छ ।
सेनाले विगतमा जातीय समूहमाथि प्रयोग गरेकै रणनीति र केही स्थानमा जातीय समूहविरुद्ध प्रयोग गरिएको सैन्य टुकडीलाई अहिले सहरमा प्रयोग गरेको छ । आर्मीको उच्च कमान्डरको निर्देशनमा सेना र प्रहरीले प्रदर्शनकारीको भिडमाथि गोली बर्साइरहेका छन् । न्युयोर्क टाइम्सले प्राप्त गरेको सूचनाअनुसार प्रदर्शन सुरु भएपछि मारिनेमध्ये २० प्रतिशतको प्रदर्शकारीको टाउकोमा गोली लागेको छ । सत्तारूढ जनरलहरू हिंसा र हत्यामार्फत प्रतिरोधलाई मत्थर पार्ने रणनीतिमा देखिन्छन् । तर उल्टै, हालसम्मको हत्याहिंसाले प्रतिरोधलाई बल प्रदान गरेको छ ।
फेब्रुअरी ४ मा म्यानमारको दोस्रो ठूलो सहर म्यान्डलेमा कुपछिको पहिलो ठूलो सडक आन्दोलन सुरु भएको थियो । सो सहरमा पछिल्लो समय प्रहरी धरपकड उल्लेख्य बढेको छ । सहरमा शनिबार सुरक्षाकर्मीको हातबाट पाँच प्रदर्शनकारीको ज्यान गयो । त्यस दिन गोलीबारी सुरु भएपछि प्रदर्शन गरिरहेका केही दर्जनौँ विद्यार्थी प्रदर्शनस्थलबाट नजिकै रहेको ४९ वर्षीया ड प्यिओनको घरमा शरण लिन पुगे । प्रहरी तथा सेना प्यिओनको घरभित्र पस्न खोज्दा उनले रोकिन् । प्रदर्शनकारीसँगै घरभित्र ब्ल्यांकेटमा लुकेर बसेकी प्यिओनकी छोरी टिन निलार सानका अनुसार उनकी आमाले प्रतिरोध जनाएकी कारण उनको टाउकोमा गोली हनियो ।
‘म लुकेर रोइरहेकी थिएँ, तर डरको कारण म कामेर भित्रै बसेँ । मेरी आमालाई मैले सबैभन्दा महŒवपूर्ण क्षणमा पनि साथ दिन सकिनँ,’ २८ वर्षीया टिन निलार सानले दुःखी हुँदै बताइन् । प्यिओनको हत्यापछि सेनाले घरभित्र अन्धाधुन्द आक्रमण गर्न थाले । लुकिरहेका विद्यार्थी बाहिर निस्किन थाले । १८ जना पक्राउ परे ।
प्रहरी र सेना गइसकेपछि सान र पछि आएका केही विद्यार्थीले हल्का सास फेरिरहेकी सानकी आमालाई नजिकैको बौद्ध गुम्बा लिएर गए । गुम्बामा केही चिकित्सकले स्वयंसेवी रूपमा घाइते प्रदर्शनकारीको उपचार गर्ने व्यवस्था मिलाएका थिए । तर, ड प्यिओनलाई एम्बुलेन्सबाट ओराल्नुअघि २० जनाजति सेना तथा प्रहरी अधिकारी गुम्बामा आएपछि त्यहाँ रहेका स्वयंसेवी सबै भाग्न बाध्य भए । गुम्बाको आकस्मिक सेवाको समन्वय गरिरहेका टिन टुन पनि एम्बुलेन्सनजिक लुक्न पुगेका थिए । एम्बुलेन्सनजिक रहेकाले उनले त्यहाँ सेनाले प्यिओनको ज्यान गइसकेकाले अन्तिम संस्कार गर्नुपर्ने भनेको सुने । लगत्तै सेनाले नै एम्बुलेन्स अघि लिएर गयो ।
त्यसपछि प्यिओन देखिएकी छैनन् । उनका परिवारजनले उनको खोजीमा कारागार, प्रहरी थाना, सेनाको अस्पतालको चक्कर लगाइसकेको तर अझै सफलता हासिल हुन सकेको छैन । छोरी टिन निलार सान आफ्नी आमालाई सम्झँदै भन्छिन्, ‘मेरी आमा निकै दयालु महिला थिइन् । उनले आफ्नो घरमा लुकेका विद्यार्थीलाई बचाउनका लागि आफ्नो जीवन जोखिममा पारिन् ।’
५० देशमा विदेशी संवाददाता भएर कम गरिसकेका रिचर्ड सी. प्याडकले सन् २०१६ देखि न्युयोर्क टाइम्समा आबद्ध रहेर मध्यपूर्व एसियाको रिपोर्टिङ गर्छन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य