२ हजार ३ सय ७० को टेवा पाएर बढ्यो नेप्से

आगामी हप्ताबाट परिसूचक र कारोबार दुवैमा सुधार आउने अपेक्षा

बिहिबार, ५ चैत, २०७७
डिजिटल संस्करण

मंगलबार झिनो अंकले बढेको नेप्से परिसूचकमा बुधबार ४० अंकको वृद्धि भएको छ ।  केही हप्ताको बजार करेक्सनपछि नेप्सेमा सुधार आउँदा पनि कारोबार रकम भने बढ्न सकेको छैन । नेप्से परिसूचक बढ्नु र कारोबार रकम घट्नुलाई विश्लेषक तथा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको व्याख्या गरेका छन् । 

अझै लगानीकर्ता ‘पर्ख र हेरकै’ अवस्थामा रहेकाले बिहीबारसम्मै कारोबार रकम नबढ्ने सम्भावना रहेको एक विश्लेषकको प्रक्षेपण छ । ‘यस हप्ता लगानीकर्ता पर्ख र हेरकै अवस्थामै रहे, आगामी हप्ताबाट नेप्सेसँगै कारोबार रकममा पनि सुधार आउने संकेत देखिएको छ,’ ती विश्लेषकले भने । 

नेप्से परिसूचकले केही समयदेखि २ हजार ३ सय ७० को बिन्दुमा टेवा परीक्षण गरिरहेको थियो । बजार यो बिन्दुमा टेवा पाएर फर्किएको भए पनि दिशा स्पष्ट हुन बाँकी नै देखिन्छ । बैंकहरूमा रहेको अधिक तरलता कम भइरहेकाले यसको प्रभावसमेत कारोबार रकममा देखिन सक्छ । यद्यपि चैत्र महिना लागेसँगै सूचीकृत कम्पनीहरूको तेस्रो त्रैमासको नाफाको प्रक्षेपण वा अपेक्षाले बजारलाई केही समय सकारात्मक प्रभाव भने पार्न सक्ने देखिन्छ । लगानीकर्ताहरूले प्राविधिक विश्लेषण मात्रै नभई अन्य आधारभूत पक्ष, कम्पनीको अवस्थालगायतलाई समेत ध्यानमा राख्दै लगानीका लागि निर्णय लिनु सही हुन्छ । 

यस दिन नेप्से परिसूचक ४० दशमलव ४० अंकले बढेर २ हजार ४ सय ३२ बिन्दुमा पुगेर रोकिएको छ । कारोबारमा आएका १३ वटै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको सूचक ४ प्रतिशतले बढेको छ भने अन्य समूहको सूचक १ देखि २ प्रतिशतले बढेका छन् ।

त्यस्तै ‘क’ वर्गको कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यस दिन बढेको छ । यस दिन ८ दशमलव ११ अंकले बढेर ४ सय ३८ बिन्दुमा पुगेको हो । धितोपत्र र ऋणपत्र गरी २ सय १२ वटा कम्पनी कारोबारमा आउँदा ८६ लाख २६ हजार ६ सय ६७ कित्ता÷एकाइ सेयर किनबेच भई ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार रुपैयाँमा सीमित हुन पुगेको छ । 

पाँच कम्पनीमा सर्किट ब्रेक
बुधबार पाँचवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यस दिन चन्द्रागिरी हिल्स, जोशी हाइड्रो डेभलपमेन्ट, ग्रिन लाइफ हाइड्रो पावर, युनाइटेड इडी मार्दी, पञ्चकन्या हाइड्रो पावर र खानीखोला हाइड्रो रहेका छन् । सबैभन्दा धेरै चन्द्रागिरी हिल्स ९ दशमलव ९२ प्रतिशत पुगी सर्किट लागेर बन्द भएको छ । चन्द्रागिरी हिल्स यस हप्ता हरेक दिन लगातार सर्किट लागेर बन्द हुँदै आएको छ । त्यस्तै, सो दिन सबैभन्दा धेरै गुमाउनेमा घलेम्दी हाइड्रो लिमिटेड रहेको छ । सो यस कम्पनीले ८ दशमलव ९५ प्रतिशतले घटेको छ । 

See More On

सुझावित समाचार