एकतर्फी प्रेममा परेका किशोरबाट कविताको हत्या

बुधबार, ४ चैत, २०७७
डिजिटल संस्करण

कविता बोहरा हत्याको रहस्य १३ महिनापछि खुल्यो

गत वर्ष भ्यालेन्टाइन डेको रात सल्यानमा भएको एक किशोरी हत्याको रहस्य १३ महिनापछि खुलेको छ । २ फागुन ०७६ मा त्रिवेणी गाउँपालिका– १ तल्लोकाभ्राकी १६ वर्षीया कविता बोहराको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । 

जिल्ला प्रहरी कार्यालय सल्यानले हत्याको १३ महिनापछि मंगलबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न १६ वर्षीय किशोरलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार आरोपी किशोर कविताकै गाउँका छिमेकी हुन् । अनुसन्धानका क्रममा गाउँकै एक १६ वर्षीय किशोरले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द थापाले जानकारी दिए । ‘सोही ठाउँ बस्दै आएका र कवितासँग एउटै विद्यालयमा पढ्दै आएका ती किशोरले कवितासँग प्रेम प्रस्ताव राख्न असफल भएपछि हत्या गरेको स्वीकारेका छन्,’ डिएसपी थापाले पत्रकार सम्मेलनमा भने । 

प्रहरीले पत्रकार सम्मेलनमा किशोरलाई भने उपस्थित गराएको थिएन । डिएसपी थापाका अनुसार ती किशोरले कवितालाई एकतर्फी प्रेम गरेको, पटक–पटक प्रयास गर्दा पनि प्रेम व्यक्त गर्न नसकेकाले आवेगमा आई हत्या गरेको बयान दिएका छन् । प्रहरीले किशोरसँगको प्रारम्भिक बयान सकेर अदालतमा पेश गरेको थियो । ‘अदालतले पुर्पक्षका लागि सुधार गृहमा राख्न आदेश दिएकाले ती किशोरलाई नेपालगन्जमा रहेको बाल सुधारगृह नेपालगन्ज पठाएका छौँ,’ डिएसपी थापाले भने । 

डिएसपी थापाका अनुसार किशोरले धारिलो हतियार प्रयोग गरी कविताको हत्या गरेका थिए । घटनाको भोलिपल्ट ३ फागुन ०७६ मा प्रहरीले कविताको शव श्वासनली काटिएको अवस्थामा घरनजिकै फेला पारेको थियो । अनुसन्धानबाट प्राप्त तथ्यहरूका आधारमा प्रहरीले घटनाको प्रमुख कारण एकोहोरो प्रेमलाई मानेको छ । डिएसपी थापाले दुवैजना स्थानीय जनता मावि काभ्रामा अध्ययनरत रहेको जानकारी दिए । प्रहरी अनुसन्धानको क्रममा दुई वर्षदेखि किशोरले कवितालाई पछ्याउँदै आएको खुलेको छ । किशोरको परिवारले कविताको जग्गा अँधियामा कमाउने भएकाले दुई घरबीच आउजाउ हुने गरेको थियो । त्यसक्रममा ती किशोर कविताको घरै गएर काममा समेत सघाउने गरेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार कक्षा ९ मा पढ्ने कवितालाई कक्षा १० मा पढ्ने ती किशोरले एकतर्फी प्रेम गर्दै आएका थिए । उनी भ्यालेन्टाइन डेमा किशोरीबाट प्रेम प्रस्ताव आउने आशामा थिए । प्रेम प्रस्ताव नआएपछि त्यही रात उनले हत्याको योजना बनाएका थिए । त्यसपछि राति ११ बजेतिर घरबाटै खुकुरी लिएर हत्या गर्न निस्किएका थिए । भान्सा कोठामा रहेको खुकुरी लिएर हिँडेका किशोरले घरनजिकै रहेको ढुंगामा उद्याएका थिए । त्यसपछि कवितामाथि आक्रमण गरेका थिए । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार हत्या गरेपछि नजिकैको खोलामा पुगेर उनले रगत लागेको खुकुरी र आफ्नो कपडा पखाली घरमा गएर सुतेका थिए । 

बिहान ६ बजे उनकी आमाले ‘कविताको कसैले हत्या गरेको रहेछ जाउँ हिँड्’ भनेपछि उनी आमासँगै घटनास्थल पुगेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानकै क्रममा उनीसहित चारजनालाई शंका गरी नियन्त्रणमा लिएको थियो । तर, उनले लगातार हत्या अस्वीकार गर्दै आएका थिए । 

स्थानीयको दबाबपछि प्रहरी सक्रिय
हत्याको वर्ष दिन बितिसक्दासमेत हत्यारा पत्ता नलागेपछि पीडित परिवार, अधिकारकर्मी, सञ्चारकर्मीले प्रहरीको अनुसन्धान क्षमतामै प्रश्न उठाएपछि प्रहरी दबाबमा परेको थियो । पछिल्लो समय घटना अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुखको आदेशमा एसपी माधवप्रसाद श्रेष्ठको कमान्डमा सइ नारायणप्रसाद शर्मा, असइ प्रेमप्रसाद शर्मासहितको पाँच सदस्यीय अनुसन्धान टोली गठन भएको थियो । २ फागुनमा जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीको कमान्डमा घटना अनुसन्धानका लागि टोली घटनास्थल पुग्यो । 

‘घटना भएकै दिन इलाका प्रहरी कार्यालय लुहामबाट तत्कालीन प्रहरी प्रमुख प्रहरी निरीक्षक जगत दमाईंसमेतको टोलीले घटनास्थलको सूक्ष्म अनुसन्धान गरी घटनास्थल तथा शव मुचुल्कासमेत तयार गरेको थियो । उक्त टोलीले त्यसअघि प्रहरीले गरेका अध्ययन–अनुसन्धानका मिसिल सबै अध्ययन ग¥यो । त्यो अध्ययनपछि नयाँ ढंगले अनुसन्धान गर्ने रणनीति तयार भयो,’ अनुसन्धानमा संलग्न एक अधिकृतले नयाँ पत्रिकासँग भने ।

अनुसन्धान अधिकृतलाई सम्मान
१३ महिनादेखि पर्दा खुल्न नसकेको कविता हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको छ । कविता बोहरा हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानले इन्स्पेक्टर लक्ष्मण वलीलाई सम्मानित गरेको हो । मंगलबार घटना सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख डिएसपी थापाले ओलीलाई सम्मान गरेको बताए । घटनाबारे इन्स्पेक्टर ओलीको नेतृत्वमा प्रहरीले अनुसन्धान गरेको थियो । 

यसरी पत्ता लाग्यो हत्या अभियुक्त
पुनः अनुसन्धानमा जुटेको प्रहरीले प्रेममा असफलताकै कारण हत्या भएको हुन सक्ने ठानी अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमा प्रहरीले कविताको मोबाइल मात्र फेला पारेको थियो । प्रहरीका अनुसार कवितालाई मोबाइलमा २४ घन्टाअगाडि तथा २४ घन्टापछाडि फोन र एसएमएस गरेका चारजना मानिस थिए । तर, घटना भएको समयमा उनीहरूको लोकेसन धेरै टाढा देखिएकाले उनीहरूबाट हत्या गर्न सम्भव थिएन भन्नेमा प्रहरी स्पष्ट भयो । 

त्यसपछि अनुसन्धान टोलीले घटनास्थल पुगेर गाउँलेसँग सोधपुछ थाल्यो । त्यसक्रममा ६ फागुनमा ४० भन्दा बढी स्थानीयलाई इलाका प्रहरी कार्यालय लुहाममा बोलाएर लेख्न नजान्ने १५ जनालाई मौखिक सोधपुछ तथा लेख्न जान्ने २६ जनालाई प्रश्न दिएर उत्तर लेख्न लगाएको थियो । ‘उनीहरूलाई कविता बोहराको बानी–व्यहोरा, मृतकसँग बढी फोन गर्ने र सँगै हिँड्ने व्यक्ति, मृतकलाई कसले के कारण हत्या गरेको हुन सक्छ भन्ने प्रश्न सोधेका थियौँ,’ अनुसन्धानमा संलग्न अधिकृतले भने ।

ती अधिकृतका अनुसार सहभागी २६ जनामध्ये अरूले केही थाहा नभएको लेखेका थिए । तर, एक किशोरले भने कवितालाई रोल्पा घर भएका एक व्यक्तिको नामै किटेर उसैले हत्या गरेको भनी लेखेका थिए । ‘एक किशोरले रोल्पाका एक व्यक्तिको नामै किटान गरेर ती व्यक्तिले कवितालाई बारम्बार फोन गर्ने, सँगै हिँड्ने, विवाह गर्छु भन्ने गरेको तर अति नै फटाहा स्वभावको भएकाले उसैले हत्या गरेको हो भनेर जवाफ लेखेकोले हामीले उसमाथि नै आशंका गरी अनुसन्धान केन्द्रित गरेका थियौँ,’ ती अधिकृतले भने । 

त्यसक्रममा ७ फागुनमा पुनः इलाका प्रहरी कार्यालय बोलाएर पुनः सोही प्रश्न दिएर लेख्न लगाउँदा अर्कै व्यक्तिले हत्या गरेको जवाफ लेखेपछि प्रहरीलाई किशोरमाथि आशंका बढ्यो । थप आशंका भएपछि असइ प्रेमप्रसाद शर्माले छुट्टै कोठामा लगेर किशोरलाई सोधपुछ गरेका थिए । भोलिपल्ट उनलाई इलाका प्रहरी कार्यालय शीतलपाटी बोलाएर डिएसपी शर्मा र असइ प्रेमप्रसाद शर्माले सोधपुछ गर्दा किशोरले घटना स्वीकार गरेका थिए । 

‘अनुसन्धान साँघुरो बनाउँदै लगेपछि किशोरले हत्या गरेको स्वीकार गरे,’ डिएसपी थापाले भने, ‘त्यसपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थप अगाडि बढायौँ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी १० फागुनमा जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गर्यौँ ।’ जिल्ला अदालतले १ चैतमा थुनछेक बहसपछि किशोरलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दियो । अदालतको आदेशपछि आफूहरूले किशोरलाई बाल सुधारगृह बाँके पठाएको डिएसपी थापाले जानकारी दिए । 

सुझावित समाचार