एस्ट्राजेनेकाले निर्माण गरेको कोभिड खोप हालसम्म दर्जनौँ मुलुकका करोडौँ मानिसले लगाइसकेका छन् । खोप लगाएकामध्ये केहीमा कमजोरी तथा सामान्य बिरामी देखिने कम्पनीले नै बताइरहेको छ । तर, त्यसबाहेक यो खोप सुरक्षित मानिन्छ । प्रयोगमा आउनुअघि दशौँ हजार मानिसमा भएको चिकित्सकीय परीक्षणमा पनि खोप सुरक्षित पाइएको छ । तर, भर्खरै युरोपमा खोप लगाएका केही मानिसमा रगत जम्ने तथा असामान्य रगत बग्ने समस्या देखिएपछि यसको सुरक्षाप्रति आशंका उत्पन्न भएको छ ।
रगत जम्ने अवस्था र खोपबीच कुनै सम्बन्ध पहिचान नभए पनि एक दर्जन मुलुकले अनुसन्धानका लागि भन्दै एस्ट्राजेनेका खोपको प्रयोगलाई आंशिक वा पूर्ण रूपमा रोकेका छन् । नर्वेमा चार गम्भीर केस सार्वजनिक भएपछि एकपछि अर्को युरोपेली मुलुकहरूले एस्ट्राजेनेका खोपको प्रयोग रोक्न थालेका हुन् । स्वास्थ्यकर्मीका अनुसार चारजनामध्ये दुईजनाको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको छ भने दुईजना अस्पतालमा भर्ना भएका छन् ।
त्यस्तै, अलग रूपमा डेनमार्ककी ६० वर्षीया एक महिला तथा इटालीमा ५७ वर्षीय पुरुषको मृत्यु भएको छ । यी मृत्युमा खोपको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको छ । तथापि, हालसम्मको अध्ययनले कुनै पनि मृतकको मृत्यु तिनलाई लगाइएको खोपबाट भएको पुष्टि भएको छैन । रगत जम्दा मानिसको रक्तसञ्चार प्रणालीमा बाक्लो थेग्लाजस्तो रगत जम्छ ।
जोन्स हप्किन्स विश्वविद्यालयमा खोपको सुरक्षा अध्ययन गर्ने संस्थानका निर्देशक डेनियल साल्मोनका अनुसार कुनै पनि खोपका कारण रगत जमेको घटना हालसम्म पहिचान भएको छैन । खासमा आमरूपमा धेरै मानिसलाई रगत जम्ने समस्या हुन्छ । स्वास्थ्य अधिकारीले खोप लगाएपछि रगत जमेको जति घटना बाहिरिएका छन्, ती संयोग हुन सक्ने बताएका छन् ।
हालसम्म एस्ट्राजेनेका खोप र युरोपमा भएका केही मृत्युबीच सम्बन्ध रहेको कुनै प्रमाण देखिँदैन । तर, अनुसन्धानका लागि भनेर एक दर्जन देशले खोपको प्रयोगमा रोक लगाएका छन् ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा बर्सेनि तीनदेखि ६ लाख मानिसको फोक्सो, खुट्टाको नसा वा शरीरका अन्य भागमा रगत जम्ने गर्छ । ‘यो तथ्यांकका आधारमा दैनिक एक–दुई हजार अमेरिकीले रगत जम्ने समस्या भोग्छन् । अमेरिकामा २५.३ करोड वयस्क छन् । यदि प्रत्येक दिन २३ लाख अमेरिकीलाई कोभिड खोप दिइयो भने कुल वयस्क जनसंख्याको एक प्रतिशले खोप पाउँछन्,’ युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाका हेमाटोलोजिस्ट तथा प्राध्यापक डा. स्टेफन मोलले भने ।
थप हिसाब गर्दा रगत जम्ने समस्या भएका एक हजारदेखि दुई हजार व्यक्तिको एक प्रतिशत १० देखि २० जना हुन आउँछ । अर्थात्, यति व्यक्तिमा सामान्य अवस्थामा पनि रगत जम्ने समस्या देखिन्थ्यो । ‘योभन्दा बढी दरमा रगत जमिरहेको तथ्यांक बाहिरियो भने मात्र खोप नै कारण भएको मान्न सकिन्छ,’ डा. मोलले भने । युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाको खोप क्लिनिकका निर्देशक डा. डोभिड ओहलका अनुसार स्वीकृति पाउनुअघि सम्पन्न चिकित्सकीय परीक्षणमा कोभिडका कुनै पनि खोपले रगत जमाएको थिएन । तर, परीक्षण र वास्तविक जीवनमा भिन्नता हुने डा. ओहल स्विकार्छन् ।
एस्ट्राजेनेका खोप सबैभन्दा बढी लगाइएको बेलायतमा अघिल्लो महिनासम्म ९७ लाख डोज खोप प्रयोग भइसकेको छ । ब्रिटेनबाट प्राप्त तथ्यांकअनुसार केहीमा रगत जम्ने समस्या देखिएको छ । तर, यो समस्या एस्ट्राजेनेकाको खोप लगाएका मानिस र पीफाइजरको खोप लगाएकोमा उत्तिकै समस्या देखिएको छ, जुन माथि भनिएजस्तै संयोग मात्र हुन सक्छ ।
बालबालिकालाई दादुरा, हाडे र रुबेलाविरुद्ध दिइने खोपले पनि केही समय प्लेटलेट्सको तह घटाइदिन्छ । मोडेर्ना, पीफाइजर तथा एस्ट्राजेनेकाले निर्माण गरेको कोरोनाको खोपले पनि थोरै मानिसमा प्लेटलेट्सको तह घटाएको देखिएको छ । एस्ट्राजेनेकाले अरूले भन्दा केही बढी मानिसमा प्लेटलेट्स घटाएको पाइएको छ । तर, प्लेटलेट्सको संख्या घट्दा रगत जम्दैन । बरु त्यसको संख्या धेरै बढ्दा यो समस्या हुन्छ ।
सोमबार युरोपियन मेडिसिन एजेन्सीले एस्ट्राजेनेका र स्वास्थ्यकर्मीसँग ‘पछिल्लो प्रकरणमा उपलब्ध तथ्यांक र चिकित्सकीय परिस्थिति’को मिहिन रूपमा जाँच गर्ने बताएको छ । अनुसन्धानका क्रममा खोप लगाएको जनसंख्या र खोप नलगाएको उस्तै जनसंख्या समूहलाई दाँजेर हेरिन्छ । त्यसबाहेक मृत्यु भएका मानिसमा खोप लगाउनुअघि मृत्युको कारण बताइएको समस्या रहे/नरहेको पनि खोजिन्छ । अनुसन्धानदाताले निश्चित उमेरसमूहका मानिसलाई बिरामी पार्न सक्ने अन्य कारणबारे पनि ख्याल राख्छन् । विश्वभर नै कोभिड खोपको पहिलो प्राथमिकतामा वृद्ध मानिस राखिएको छ । उनीहरूमा रगत जम्ने समस्या युवामा भन्दा बढी हुने सम्भावना हुन्छ ।
आफ्नो खोप सम्बन्धमा उत्पन्न समस्यालाई औँल्याउँदै अघिल्लो साता अस्ट्रियाले खोप दिन प्रतिबन्ध गरेपछि एस्ट्राजेनेकाले खोपबाट गम्भीर साइड इफेक्ट गराएको प्रमाण नरहेको बताएको थियो । बिहीबार डेनमार्कले पनि एस्ट्राजेनेकाले बनाएको सम्पूर्ण खोपलाई रोक्ने कदम उठाएपछि कम्पनीले पुनः एक वक्तव्य जारी गरेको छ । त्यसमा उसले आफ्नो खोपको सुरक्षा विषयमा बुँदागत प्रतिरक्षा गरेको छ । कम्पनीले आफूहरूसँग उपलब्ध एक करोड रेकर्डले कुनै पनि जनसंख्या समूह वा देशमा रगत जम्ने समस्या बढ्ने प्रमाण नदेखाएको बताएको छ ।
आइतबार अन्य देशले पनि खोपको प्रयोग रोकेपछि कम्पनीले आफ्ना खोपका विभिन्न साइड इफेक्ट उल्लेख गर्दै त्यसमा रगत जम्ने समस्या नदेखिएको बताएको छ । विगतमा पनि खोपसम्बन्धी विभिन्न डर फैलिने गथ्र्यो । तर, धेरैजसो डर आधारहीन पाइन्थ्यो । तथापि, अत्यन्त विरलै खोपमा समस्या पनि पाइएको छ । जस्तो– नवजात शिशुमा पखाला गराउने रोटाभाइरस संक्रमणविरुद्धको पहिलो खोपले आन्द्रामा अवरोध गर्ने जोखिम बढाउने पाइएपछि सन् १९९९ मा बजारबाट फिर्ता गरिएको थियो ।
तर, निराधार हल्लाले पनि खोपप्रतिको विश्वास कमजोर भएको इतिहास पनि भेटिन्छ । सन् १९९८ मा फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसन (एफडिए)ले लाइम डिजिजविरुद्ध अत्यन्त प्रभावकारी खोपलाई स्वीकृति दियो । तर, खोप लगाएपछि बाथ विकास भएको हल्लापछि एफडिएले सन् २००१ मा विज्ञको प्यानलमार्फत खोपको सुरक्षाको पुनर्मूल्यांकन गरायो । अध्ययनले खोपसम्बन्धी हल्लामा कुनै आधार नभएको देखायो । तर, आमजनतामा खोपप्रति निर्माण भएको डर हटेन । खोपको बिक्रीमा उल्लेख्य गिरावट आएपछि घटेपछि निर्माता ग्लाक्सोस्मिथक्लिनले सन् २००२ मा खोप निर्माण नै बन्द गर्यो ।
न्युयोर्क टाइम्सकी विज्ञान रिपोर्टर डेनिस ग्रेस पत्रिकाको स्वास्थ्य सम्पादक पनि हुन् । रोबिन्स कोभिड–१९ खोपको व्यावसायिक पाटोबारे लेख्छिन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य