संखुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुका स्थानीयले घरघरमै खानेपानी पाएका छन् । एक गाग्री पानीका लागि दैनिक एक बिहानको समय बिताउँदै आएका यहाँका स्थानीयका दुःख अन्त्य भएको छ ।
चौबीसै घन्टा घरैमा स्वच्छ खानेपानी आउन थालेपछि ठूलो राहत मिलेको स्थानीय खगेन्द्र राईले बताए । दातृसंस्था कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज पोखराको सहयोगमा याफुमा घरघरमा धारा पुगेको हो ।
सिलिचोङ गाउँपालिका–५ याफुमा रहेको सिम्ले, पिसुवा, बडाहारे र खाम्खु टोलमा ६३ वटा धारा जडान भएको छ । संस्थाले कतिपय ठाउँमा प्रत्येक घर–घरमा खानेपानीको धारा उपलब्ध गराएको छ भने केही ठाउँमा विद्यालय र सार्वजनिक स्थलमा समेत धारा राखेको छ ।
कादुरी संस्थाको ४९ लाख ६८ हजार सात सय २२ रुपैयाँ र स्थानीय उपभोक्ताको ११ लाख २४ हजार पाँच सय गरी कुल ६० लाख ९३ हजार दुई सय २२ रुपैयाँबराबरको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।
०७६ वैशाखबाट सुरु भएको बृहत् खानेपानी आयोजना केही दिनअगाडि मात्रै सम्पन्न भई उपभोक्तालाई हस्तान्तरण गरिएको संस्थाका प्रोजेक्ट मेनेजर देवान राईले जानकारी दिए । उनले याफुका स्थानीयले दुई घन्टा टाढाको खोला र कुवाबाट बोकेर खानेपानीको जोहो गरिरहेको देखेपछि संस्थाले सहयोग गरेको बताए ।
सिम्लेपिसुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष फौदासिं मेवाहाङले कादुरी संस्थाले गाउँलेलाई स्वच्छ खानेपानी उपलब्ध गराई ठूलो गुन लगाएको बताए । खानेपानी योजनामा दुईवटा इन्टेक, कलेक्सन च्याम्बर दुईवटा, रिजर्भ ट्यांकी चारवटा, डिस्ट्रिब्युसन च्याम्बर एउटा, मिटरजडित धारा ५९ वटा र चार हजार आठ सय ८२ मिटर लम्बाइ पाइपलाइन रहेको छ ।