सिराहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विस्फोट गराएको आशंकामा सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २७ वर्षीय बलराम मण्डल छन् ।
मण्डललाई सशस्त्र प्रहरीको टोलीले सिराहाको सुखीपुर नगरपालिका–२ विद्यानगरबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक दिपेश गिरीले जिल्ला प्रहरीबाट सशस्त्र प्रहरीलाई गरिएको पत्राचारका आधारमा मण्डललाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ गरिएका व्यक्तिको नाम सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालयले भने इन्कार गरेको छ । सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले पक्राउ गरिएका व्यक्तिको बयान, विस्फोटअघिको मालपोत कार्यालयको सिसिटिभी फुटेजलगायतको सूक्ष्म अनुसन्धान गरी यकिन भएपछि मात्र नाम सार्वजनिक गरिने बताए ।
सुरक्षा निकायले सिसिटिभिमा कैद भएको तस्बिरलाई अनुसन्धानको विषय बनाउँदै खोजबिन थालेको छ । मालपोत कार्यालयमा आइतवार बम विस्फोट हुँदा आठजना घाइते भएका थिए । विस्फोटमा परी गम्भीर घाइते भएका सेवाग्राही धनगढीमाई नगरपालिका–४ जयपुरका ३० वर्षीय दिनेश भण्डारीको एअर एम्बुलेन्सबाट काठमाडौं पुर्याएर वीर अस्पतालमा उपचार भइरहेको छ ।
मण्डल जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को कार्यकर्ता रहेको प्रहरीले आशंका गरेको छ । मण्डल करिब डेढ दशकभन्दा बढी समयदेखि विद्यानगरस्थित ससुरालीमा बस्दै आएकाले उनको विषयमा थाहा नभएको भदैयाका गाउँलेहरू बताउँछन् । उक्त विस्फोटको क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोइतले आइतबार अपराह्न विज्ञप्तिमार्फत जिम्मेवारी लिएका थिए ।
मालपोतको सेवा ठप्प
सेवाग्राहीको घुइँचो रहेको समयमा आइतबार बम विस्फोट गराइएकाले सोमबार कार्यालयको सेवा ठप्प रह्यो । सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बम विस्फोटपछि कार्यालयसँग सम्बन्धित कागजात छरपष्ट भएकाले सेवा प्रवाह रोकिएको बताए । ‘जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरूको मंगलबार बैठक आयोजना गर्दै छौँ,’ प्रजिअ कणेलले भने ‘त्यसपछि कार्यालयको कागजात मिलाएर सुरक्षा प्रबन्ध गरी सेवा प्रवाह गर्ने योजना छ ।’
लहान मालपोत कार्यालयमार्फत लहान, नगरपालिका, धनगढीमाई नगरपालिकाको १३ र १४ नं. वडा, सखुवानन्कारकट्टी र भगवानपुर गाउँपालिका तथा नवराजपुर गाउँपालिकाको १ र २ नं. वडा क्षेत्रका सेवाग्राहीलाई सेवा प्रवाह हुँदै आएको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले घाइतेहरू उपचारपछि घर फर्कन थालेको जानकारी दिए । लहान मालपोतमा नायब सुब्बा पदमा कार्यरत शिवकुमार यादव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी आइतबार राति घर फर्किएका छन् ।
उपचारमा आर्थिक कठिनाइ
विस्फोटमा परेर गम्भीर घाइते भएका धनगढीमाई नगरपालिका–४का ३० वर्षीय दिनेशकुमार भण्डारीलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । उनको काठामाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले उपचारमा समस्या भएको घाइतेका बाबु गंगाई भण्डारीले गुनासो गरे ।
‘गाउँघरको मन्दिर, देवस्थल, व्यक्तिको घर–घरमा फूल दिएर त्यसबापत पाउने धान–चामलले गुजारा गर्दै आएको छु,’ वृद्धावस्थाका भण्डारीले भने ‘छोरो घाइते भएकाले उपचारमा आर्थिक समस्या परेको छ ।’ उनका माहिला छोरा रमेश कर्तव्य ज्यानको अभियोगमा सिराहा कारागारमा छन् भने कान्छो छोरा प्रमोद घरमै बसिरहेका छन् । घाइते दिनेशका छिमेकी सञ्जय चौधरीका अनुसार उनी गोरखा फाइनान्सबाट लिएको ऋण चुक्ता गरी जग्गा फुकुवाका लागि आइतबार बिहान १० बजेतिर लहान मालपोतमा पुगेका थिए ।