कोरोना प्रभावित व्यवसायलाई राहत दिन तथा शिथिल भएको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित सरकारले ल्याएको कर छुटको सुविधाबाट करिब ५ लाख व्यवसायी लाभान्वित भएका छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत लघु, घरेलु तथा साना उद्यम र पर्यटन व्यवसायीलाई आयकरमा २० देखि ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको थियो । सोही घोषणाअनुसार ५ लाख ११ हजार व्यवसायीले करिब २ अर्ब रुपैयाँ कर छुट लिएका हुन् ।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आव ०७७/७८ को बजेटमार्फत कोरोना प्रभावित व्यवसायलाई राहत दिन, आर्थिक गतिविधिलाई चलायमान बनाउन तथा आर्थिक पुनरुत्थान गर्न भन्दै लघु, घरेलु तथा साना उद्यम र पर्यटन व्यवसायलाई आर्थिक वर्ष ०७६/७७ को आयकरमा छुट दिने घोषणा गरेका थिए । उक्त घोषणाअनुसार आन्तरिक राजस्व विभागले आयकरमा छुट दिइरहेको विभागका प्रवक्ता अर्जुन ढकालले बताए ।
सरकारले बजेटमार्फत २० लाखसम्म कारोबार गर्ने करदातालाई आर्थिक वर्ष ०७६/७७ को आय विवरणअनुसार लाग्ने आयकरमा ७५ प्रतिशत छुट दिने घोषणा गरेको थियो । यस्तो सुविधा साढे ४ लाख करदाताले लिएको आन्तरिक राजस्व विभागको तथ्यांक छ । ती करदाताले यस सुविधाअनुसार १ अर्ब ५० करोड रुपैयाँको छुट लिएको उनले बताए ।
बजेटले २० लाखदेखि ५० लाखसम्म कारोबार गर्ने करदातालाई आयकरमा ५० प्रतिशत छुट दिने बजेटले व्यवस्था गरेको थियो । यस्तो सुविधा १९ हजार करदाताले लिएका हुन् । उनीहरूले ५० करोड रुपैयाँ छुट लिएको उनले बताए । त्यस्तै, बजेटले ५० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने करदातालाई आयकरमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । यस सुविधाअनुसार ४२ हजार करदाताले ३३ करोड रुपैयाँ छुट लिएको प्रवक्ता ढकालले जानकारी दिए ।
सरकारले कोरोना प्रभावित पर्यटन व्यवसायीलाई समेत ०७६÷/७७ को आयकरमा छुट दिने घोषणा गरेको थियो । बजेटले कोरोना संक्रमणबाट बढी प्रभावित भएका हवाई सेवा, यातायात सेवा, होटेल, ट्राभल तथा ट्रेकिङ व्यवसायीलाई आर्थिक वर्ष ०७६/७७ को आय विवरणअनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । यस सुविधाअनुसार २ सय ३९ करदाताले ५ करोड रुपैयाँ छुट लिएको उनले बताए ।
‘बजेटले दिएको छुट सुविधाको अनुभूति भएन’
नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिबी बस्नेतले बजेटले गरेको छुट सुविधा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए । ‘हामीलाई विभिन्न जिल्लाका साथीहरूले गरेको रिपोर्टिङअनुसार कुनै जिल्लामा छुट भएको छ, कुनैमा भएको छैन,’ उनले भने, ‘कर कार्यालयका हाकिम र व्यवसायीको पहुँचअनुसार छुट सुविधा उपलब्ध गराइएको गुनासो छ ।’
घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले भने उद्यमीले अनुभूति गर्ने गरी छुट सुविधा पाउन नसकिएको बताए । ‘चालू आर्थिक वर्षको बजेटले गरेको छुट सुविधा असाध्यै राम्रो थियो, हामीले त्यसको स्वागत पनि गरेका थियौँ,’ उनले भने, ‘तर, आज पनि नवीकरण शुल्क तिर्नैपरेको छ, दर्ताशुल्क लिएकै छन्, आयकर पनि हामीले अनुभूति गर्ने गरी छुट दिइएको छैन ।’ यद्यपि, विभागको तथ्यांकअनुसार स्वचालित रूपमा उद्यमीले छुट प्राप्त गरेको हो भने त्यसलाई पनि सकारात्मक रूपमै लिनुपर्ने उनले बताए । बजेटबाट घोषणा गरिएका थुप्रै छुट सुविधा अझै कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।