नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेहरूको संलग्नतासमेतमा हिमालयन बैंक स्थापना भएको थियो । पाँडेका ससुरा हिमालयनशमशेर राणाले हिमालयन बैंक सुरु गरेका थिए । हाल राणा बैंकको सञ्चालक समितिमा प्रमुख सल्लाहकारका रूपमा छन् भने उनका छोरा अशोक राणा बैंकको प्रमुख कार्यकारी अधिकृत छन् ।
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुने लगभग पक्का भएको छ । दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्यांकन (ड्यु डेलिजेन्स रिपोर्ट) प्रतिवेदन तयार भएपछि मर्जरका लागि बाटो खुलेको हो । दुवै संस्थाले केही दिनमा नै सञ्चालक समितिबाट मर्जर सहभागी (पार्टनर) बारे टुंगो लगाउने भएको छ । एक साताभित्र इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिको बैठक बस्दै छ ।
‘हामीले अहिले हिमालयन बैंकसँग मात्रै मर्जरको कुरा अगाडि बढाएका छौँ,’ नेपाल इन्भेष्टमेन्ट बैंकका एक सञ्चालकले भने, ‘दुईबीच नै मर्जर हुने सम्भावना बलियो पनि देखिएको छ ।’ नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेहरूको संलग्नतासमेतमा हिमालयन बैंक स्थापना भएको थियो । पाँडेका ससुरा हिमालयनशमशेर राणाले हिमालयन बैंक सुरु गरेका थिए । हाल राणा बैंकको सञ्चालक समितिमा प्रमुख सल्लाहकारका रूपमा छन् भने उनका छोरा अशोक राणा बैंकको प्रमुख कार्यकारी अधिकृत छन् ।
हिमालयन बैंकसँग भने नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक र सिभिल बैंकले पनि मर्जरका लागि कुराकानी अगाडि बढाएको हिमालयन बैंकका एक सञ्चालकले बताए । ‘इन्भेष्टमेन्ट बैंकसँगै मर्जरको तयारी भए पनि अन्य केही बैंकहरूसमेत इच्छुक देखिएकाले सञ्चालक समितिले नै अन्तिम टुंगो लगाउने हिमालयन बैंकका एक सञ्चालकले बताए । ‘केही दिनमा हाम्रो सञ्चालक समितिको बैठक हुँदै छ,’ हिमालयन बैंकका ती सञ्चालकले भने, ‘धेरै हदसम्म इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने भन्ने नै छ, तर समितिले नै यसको अन्तिम टुंगो लगाउनेछ ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा अप्रत्यक्ष रूपमा पाँडे र राणा दुवै समूहको क्रस होल्डिङसमेत छ । हिमालयन बैंकमा पाँडेको लगानी रहेको छाया इन्टरनेसनलको ८ दशमलव ८९ प्रतिशत सेयर स्वामित्व छ । पारिवारिक सम्बन्ध रहेका यी दुई बैंकलाई मर्जरका लागि राष्ट्र बैंकले जोड दिँदै आएको थियो । बैंक स्रोतले भने राष्ट्र बैंकले दबाब नदिएको बताएको छ ।
‘हामीलाई राष्ट्र बैंकले मर्जरमा जान स्वागत नै गरेको छ,’ इन्भेष्टमेन्ट बैंकका ती सञ्चालकले भने, ‘अहिले धेरै बैंकहरू मर्ज गरेर ठूला भएका छन्, हामी दुईबीच मर्जर भएमा २७ अर्ब चुक्ता पुँजीको बैंक हुनेछौँ, त्यसैले पनि मर्जरमा जाने सोचका साथ अगाडि बढेका हौँ ।’
हाल हिमालयन बैंकमा हबिब बैंक, कर्मचारी सञ्चय कोष, एन ट्रेडिङ कम्पनी, म्युचुअल ट्रेडिङ कम्पनी, अभा इटरनेसनल, छाया इन्टरनेसनल र शशीकान्त अग्रवालको १ प्रतिशत माथि लगानी छ । चालू आवको दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकको १४ अर्ब २४ करोड र हिमालयन बैंकको १० अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजी छ । दुई बैंकको निक्षेप २ खर्ब ९६ अर्ब, कर्जा लगानी २ खर्ब ५७ अर्ब र शाखा संख्या १ सय ५७ पुग्नेछ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूबीच मर्जर गराउने प्रयास विगत केही वर्षदेखि गर्दै आएको भए पनि हालसम्म पाँच जोडी वाणिज्य बैंकहरू मर्जर हुँदा पाँच वाणिज्य बैंक विलय नै भएका छन् ।
यसअघि वाणिज्य बैंकहरूमा कमर्स एन्ड ट्रस्ट बैंक र ग्लोबल आइएमई बैंक, जनता बैंक र ग्लोबल आइएमई बैंक, बैंक अफ एसिया र नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक, लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू तथा किस्ट बैंक र ग्रान्ड बैंक (हाल प्रभु बैंक) बीच मर्जर भएको थियो ।