कोरोनापछि पर्यटक भित्र्याउने योजना मन्त्रिपरिषदमा अलपत्र

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

कोरोनाविरुद्धको भ्याक्सिन धमाधम लगाउन सुरु भए पनि आगामी पर्यटकीय सिजनमा कसरी पर्यटक ल्याउने भन्ने विषयमा अझै टुंगो लागेको छैन । पर्यटन विभाग, पर्यटन बोर्ड तथा व्यवसायीहरूले क्वारेन्टिन हटाउने, भ्याक्सिन लगाएका पर्यटकलाई निर्बाध घुम्न दिनुपर्ने तथा विमानस्थलबाट सीधै पिसिआरको नमुना परीक्षण गराउनेलगायतको प्रस्ताव तयार पारिएको थियो । 

प्रस्ताव पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा गएको धेरै भए पनि निर्णय हुन सकेको छैन । जसले गर्दा पदयात्रा र हिमाल आरोहणको मुख्य सिजन सुरु हुनै लाग्दा आरोहणमा आउने पर्यटकको व्यवस्थापनको विषयसमेत टुंगो लागेको छैन । ‘प्रस्ताव पठाएको भए पनि आजसम्म निर्णय भएर आएको छैन,’ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने, ‘अहिले पनि ७ दिनको अनिवार्य क्वारेन्टिनको व्यवस्था कायम छ ।’

विमानस्थलमै पिसिआरको नमुना परीक्षण गर्ने र दुईवटा भ्याक्सिन लगाएर आउनेलाई निर्बाध घुम्न दिने विषयमा पनि निर्णय नहुँदा टुंगो नलागेको तामाङले बताए । पछिल्लो समय केही सयको संख्यामा पर्यटक आगमनमा वृद्धि भए पनि सरकारले ठोस निर्णय नगर्दा अन्योल थपिएको व्यवसायीहरूको आरोप छ । 

सन् २०२१ को फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटक आएका छन् । गत जनवरीमा ८ हजार ८ सय ४७ पर्यटक आएका थिए । त्यस्तै, नोभेम्बरमा १ हजार ९ सय ५६ र डिसेम्बरमा ४ हजार २ सय ४५ पर्यटक आएका थिए । सरकारले १ कात्तिकदेखि विदेशी पर्यटक आगमन खुला गरे पनि पर्यटक आगमनमा उल्लेख्य सुधार हुन सकेको छैन । ‘सरकारलाई पटक–पटक आग्रह गर्यौँ, पटक–पटक पर्यटन मन्त्रालयमार्फत प्रस्ताव लगेर क्वारेन्टिन हटाऔँ भन्दा कसैको ध्यान नै दिएनन्,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले भने । पर्यटन मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति (सिसिएमसी)मा क्वारेन्टिनको विषय र कोरोना बिमाको विषय हटाउनका लागि आधादर्जनपटक प्रस्ताव नै पठाएको थियो । सिसिएमसीले पनि निर्णय गरेर मन्त्रिपरिषद्मा पटक–पटक पेस गरेको छ । तर, निर्णय भने हुन सकेको छैन ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले पटक–पटक माग बुझाउँदा–बुझाउँदा थाकेको बताउँछन् । पिसिआर रिपोर्ट नेगेटिभ भएका र कोभिड खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई निर्बाध घुम्न दिनुपर्ने मागसमेत अध्यक्ष सुवेदीले गरेका छन् । 

केही महिनाअगाडि भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथाको कालापत्थर पुगेर विनाअनुमति रिपोर्ट बनाएका थिए । उनले त्यस रिपोर्टमा सगरमाथामा भारतको समेत दाबी हुनुपर्ने बताएका थिए । त्यसको नेपालमा चर्को विरोध भएपछि चौधरीले माफीसमेत मागेका थिए । त्यसपछि पर्यटन विभागले पर्वतारोहण व्यवस्थित बनाउन भन्दै पर्वतारोही र पर्वतारोहण दलका सदस्यले आरोहण गतिविधिबाहेक अन्य प्रयोजनका लागि फोटो, भिडियो खिच्न नपाउने निर्णय गरेको छ । विभागले मंगलबार जारी गरेको सूचनामा अन्य प्रयोजनमा फोटो, भिडियो र फिल्मिङ गराउने काम गर्न नपाइने उल्लेख छ । गतिविधिको जोखिम बढेसँगै विभागले पर्वतारोहणको समयमा आरोहण गतिविधिबाहेकका फोटो, भिडियो खिच्न मनाही गरेको हो । 

पर्वतारोहणका दौरान आरोहणबाहेक अन्य गतिविधि गर्नुपर्ने भए पर्यटन विभागबाट अग्रिम स्वीकृति लिनुपर्नेछ । पर्वतारोहण दल ल्याउने एजेन्सीले विभागबाट अनलाइन ब्रिफिङको फाराम भर्नुपर्ने भएको छ । त्यसपछि पर्वतारोहीले आरोहण अनुमति पाउने भएका छन् । सिजनको अन्तिम आरोहण अनुमति जारी भएको १५ दिनपछि मात्र आरोहणको प्रमाणपत्र जारी गर्ने काम सुरु हुने भएको छ । पर्वतारोहीले आफू हिमाल चढ्न योग्य भए–नभएको बारे स्वघोषणा गर्नुपर्ने भएको छ । 

सुझावित समाचार