‘कर्णाली उत्सव कुडा कर्णालीका’ दोस्रो दिन पैकेलो, आम्नै कथा आम्नै बान्की, कहरी सुकालो होला, कइले जाला कैठ ? र हाट र भोट सत्र सञ्चालन भए । यी सत्रहरूमा लेखक, पत्रकार, खेलाडी, राजनीतिक दलका नेताहरू, समाजशास्त्रीलगायतको कर्णालीका सुख–दुःखमाथि विचारविमर्श गरेका छन् ।
उनीहरूले कर्णालीको विगत र वर्तमान अवस्थामाथि मन्थन गरेका थिए । यहाँको धर्मसंस्कृति, नागरिकको स्वास्थ्य अवस्था, साहित्यका विविध पाटामा विज्ञहरूले आफ्नो धारणा राखेका थिए । उनीहरूले कर्णाली केवल रोग, भोक, अशिक्षा र गरिबीको पर्यायवाची नभएर कर्णाली अथाह सम्भावना बोकेको क्षेत्रका रूपमा व्याख्या गरेका थिए ।
पैकेलो
आफ्नै कथा आफ्नो पैकेलो अर्थात् (अर्थ हिरो होइन, साहसी, वीर योद्धा, लडाकु) विषयमा कर्णालीका गाउँगाउँमा भेटिने सहासिक, सुरवीर, कीर्तिमानी पैकेलाको कथाहरू सुनाउने कर्णाली उत्सवको अभियानमा पहिलो पैकेलो जुम्लाकी धावक सुनमाया बुढाले बोलिन् । उनले आफ्नो भोगाइ र सफलताको कथा सुनाइन् ।
‘आम्नै कथा आम्नै बान्की’
यो सत्रमा कर्णालीको कथा र कथा भन्ने शैलीबारे छलफल भएको थियो । साहित्यकार बुद्धिसागर चपाई, रंगकर्मी हिरा बिजुली नेपाली, देउडा गायक नेत्रराज शाही, लेखक सरला गौतमसँग गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले अन्तक्र्रिया गरेका थिए ।
कहरी सुकालो होला, कइले जाला कैठ ?
कहरी सुकालो होला, कइले जाला कैठमा जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारी, संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी र प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा. दुर्गा थापासँग लेखक माधव चौलागाईले अन्तक्र्रिया गरेका थिए । कर्णालीमा रोगको खानीका रूपमा चित्रण गर्ने गरिएको भए पनि कर्णालीमा अहिले स्वास्थ्य क्षेत्रमा धेरै फड्को मारेको संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताए ।
हाट र भोट जाने
कर्णाली उत्सव कुडा कर्णालीमा अर्को सत्र बहस गरिएको थियो हाट र भोट जाने । यो विषयमा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, समाजसेवी धनराम बुढाथोकी र मानवशास्त्री डा. जनक राईसँग पत्रकार नगेन्द्र उपाध्यायले सहजीकरण गरेका थिए ।