पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर सुरु हुँदै छ । हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

कार्यक्रममा फाइनप्रिन्टबाट ०७७ सालमा प्रकाशित कृतिका लेखकको उपस्थिति रहनेछ । साथै उनीहरूका रोचक एवं बाैद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चा–परिचर्चा गर्नुका साथै पाठकसँग संवाद एवं अन्तर्क्रिया पनि गर्ने जनाइएको छ ।
कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन् । विशेष छुटमा पुस्तक बिक्री तथा प्रदर्शनीका साथै अन्य रचनात्मक कार्यक्रम पनि गरिने फाउन्डेसनका महाप्रबन्धक दामोदर भण्डारीले बताए।
कार्यक्रमले पाठक एवं लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ । चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको कार्यक्रममा सहभागिताका लागि शुल्क लाग्दैन । कार्यक्रममा सहभागी हुन चाहनेहरूलाई लक्षित गरी नवलपुरको कावासोती र चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस गेटबाट नि:शुल्क यातायातको व्यवस्था गरिएको छ । नि:शुल्क बस शुक्रबार दिउँसो एक बजेदेखि र शनिबार बिहान १० बजेदेखि प्रत्येक एक–एक घन्टामा छुट्ने छन् ।
फाइनप्रिन्ट फिभरका अवसरमा सांसद गगन थापा, महानायक राजेश हमाल, अभिनेत्री मनीषा कोइराला र सञ्चारकर्मीहरूको समेत सहभागिता रहनेछ । उक्त अवसरमा ‘देशजगत्’ शीर्षकको कार्यक्रममा लेखक एवं उद्यमी जीवा लामिछानेसँग कांग्रेस नेता गगन थापाले संवाद गर्नेछन् ।
‘अर्थनीति र राजनीति’ शीर्षक सत्रमा विनोद चौधरीसँग नयाँ पत्रिकाका सम्पादक उमेश चौहानले कुराकानी गर्नेछन् । ‘किताब मनको साथी’ शीर्षक सत्रमा महानायक राजेश हमालले पुस्तकबारेमा आफ्ना अनुभव, पुस्तकप्रति आफ्नो आकर्षण एवं लगावबारे चर्चा गर्नेछन् ।
यसैगरी अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले ‘बाँच्ने अभिलाषा’बारे संवाद गर्नेछन् । ‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवं नेता रवीन्द्र मिश्रसँग सञ्चारकर्मी रवि लामिछानेले छलफल गर्नेछन् । उक्त अवसरमा मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ विमोचन गर्ने कार्यक्रम पनि छ ।
‘पुँजीवाद र स्वतन्त्र समाज’ नामक सत्रमा मुराहरि पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्ने बताइएको छ । साथै ‘धमिराहरू’ शीर्षक सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद चलाउने कार्यक्रम छ ।
यसैगरी ‘इन्द्रेणी’ शीर्षकको सत्रमा निरञ्जन कुँवरसँग उनको पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर प्रतीक्षा कट्टेलले संवाद गर्नेछिन् । ‘रहर’ कथासंग्रहका लेखक सुरेश बडालसँग ‘रहरका रङ’ शीर्षक सत्रमा प्रकृति भट्टराई बस्नेतले संवाद गर्नेछिन् । फिभरका अवसरमा कवितासंग्रह ‘क’का लेखक असीम सागरको कविता वाचन हुनेछ ।
कार्यक्रमका अवसरमा ‘सेतो धरतीको एक दशक’ शीर्षक सत्र पनि रहनेछ । यसमा लेखक अमर न्यौपानेले पुस्तक बजारमा आइसकेपछि पाठकबाट कस्तो प्रतिक्रिया पाए, यसले आफ्नो जीवनमा के–कस्तो प्रभाव पार्याे भन्ने विषयमा पनि उनले आफ्नो धारणा राख्नेछन् । फिभरका अवसरमा ‘सेतो धरती’को विशेष संस्करण लोकार्पण गर्ने कार्यक्रमसमेत छ ।