भारतीय सहयोगमा ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माण हुने भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मंगलबार भवनको शिलान्यास गरेका छन् ।
ललितपुरमा आयोजित समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पूर्वसंस्कृतिमन्त्री तथा ललितपुरका पूर्वमेयर बुद्घिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्यामकिशोर सिंह, कुमारी छेँ उपभोक्ता समितिका सदस्य एवं समुदाय सदस्यहरू उपस्थित थिए ।
भारतीय दूतावासका अनुसार नेपालका आठ जिल्लामा सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि भारत सरकारले पाँच अर्ब ८० करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाएको छ । ‘सोही प्रतिबद्घताअनुरूप पुनर्निर्माण हुन लागेका २८ वटा सांस्कृतिक सम्पदामध्येको कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माण कार्य दोस्रो परियोजना हो,’ भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन्, ‘यी परियोजनाहरूको कार्यान्वयन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले गरिरहेको छ ।’
२०७२ सालको भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन तथा पुरातत्व विभागले निर्धारण गरेको मापदण्डअनुरूप कुमारी छेँ र कुमारी निवासको संरक्षण गरिने भारतीय दूतावासले जनाएको छ । पुनर्निर्माण कार्यमा पुरानो भवनको पुनर्स्थापना गरिनुका साथै भित्तेचित्रको संरक्षण पनि गरिनेछ, जसले कुमारी देवीको पूजा अर्चना गर्ने भवनका रूपमा काम गर्नेछ । हाल कुमारी छेँ भएको स्थानको पूर्वी दिशाको खाली जग्गामा नयाँ भवनको निर्माण गरिनेछ । नेपाल सरकारले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदनअनुरूप पुनर्स्थापना र विकास कार्यलाई अघि बढाइनेछ ।
अब बन्ने कुमारी निवासमा परम्परागत वास्तुकलालाई समेटिनेछ । नेवार समुदायको सामाजिक, धार्मिक तथा सांस्कृतिक जीवनमा कुमारी देवीको महत्वलाई यी परम्परागत विशेषताहरूले प्रतीकात्मक शैलीमा प्रतिनिधित्व गरेका छन् । ‘जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा एवं परम्पराको जर्गेना गर्न नेपालमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्स्थापनाका लागि नेपाल सरकारसँग जोडिन पाएकोमा भारत सरकार गौरवान्वित महसुस गरिरहेको छ,’ भारतीय दूतावासले विज्ञप्तिमा भनेको छ ।