मुलुकभरका १ सय १३ स्थानीय तहमा निर्माणाधीन स्वास्थ्यसेवा केन्द्रलाई अर्थ मन्त्रालयले १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ निकासा गरेको छ । मन्त्रालयले सशर्त अनुदानका रूपमा सो रकम निकासा गरेको हो । वडास्तरीय स्वास्थ्यसेवा केन्द्रको निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रकम निकासाको स्वीकृत दिएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्यसेवा उपलब्ध गराउने नीतिअनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्था निर्माणाधीन छन् । स्वास्थ्य संस्थाहरूको काम सम्पन्न भएका आधारमा वित्तीय हस्तान्तरणको रूपमा अर्थ मन्त्रालयले रकम पठाउने गर्छ ।
अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालका अनुसार चालू आर्थिक वर्षमा स्वास्थ्यसेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये यसअघि नै २ अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको छ । अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँबराबरको स्रोत सुनिश्चित गरेको थियो । सोहीअनुसार गत १५ मंसिरमा ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।