चीनमा एक वर्षमा दुई सय ५९ अर्बपति थपिए

बुधबार, १९ फागुन, २०७७
डिजिटल संस्करण

गत वर्ष कोरोना भाइरसका कारण नाम चलेका धेरै कम्पनी आर्थिक रूपमा कमजोर बने, तर केही कम्पनीले भने आम्दानी निकै बढाएको हुरुन ग्लोबलले जनाएको छ

यस वर्ष टेस्ला कार कम्पनीका सिइओ एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । एलनलाई पछ्याउँदै अमेजोनका जेफ बेजोस दोस्रो स्थानमा छन् भने भारतको रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्तिमा परेको हुरुन ग्लोबलले मंगलबार जारी गरेको विश्वका धनीहरूको लिस्टमा उल्लेख छ । हुरुन ग्लोबलले हरेक वर्ष यस्तो लिस्ट सार्वजनिक गर्दै आएको छ । 

हुरुन ग्लोबलले तयार पारेको लिस्टअनुसार यस वर्ष विश्वमा तीन हजार दुई सय २८ जना अर्बपति बनेका छन् । यस वर्ष चार सय १२ जना नयाँ अर्बपति थपिएका हुन् । हुरुन ग्लोबलले विश्वका ६८ देशका धनी व्यक्तिको सम्पत्तिमाथि अध्ययन गरेको थियो । यसैगरी दुई हजार चार सय दुई कम्पनीको एक वर्षको आम्दानी रेकर्ड पनि अध्ययन गरेको हुरुन ग्लोबलले जनाएको छ । सन् २०२० मा विश्वमा दुई हजार आठ सय १४ जना अर्बपति थिए ।

अर्बपतिमा चीनको वर्चस्व
हुरुन ग्लोबलका अनुसार विश्वकै अर्बपति लिस्टमा चीनको अधिपत्य रहेको छ । यस वर्ष चीनमा एक हजार ५८ जना अर्बपतिको लिस्टमा परेका छन् । चीनबाट मात्रै दुई सय ५९ नयाँ अर्बपति बनेको ग्लोबलले जनाएको छ । चीनको दुई प्रमुख ठूला सहरमा अर्बपतिको होडबाजी चलेको छ । बेइजिङमा एक सय ४५ र सांघाईका एक सय १३ जना अर्बपतिको लिस्टमा सूचीकृत भएको हुरुन ग्लोबलले उल्लेख गरेको छ । 

चीनपछि धेरै अर्बपति भएको राष्ट्र अमेरिका हो । अमेरिकामा ६ सय ९६ व्यक्ति विश्वकै धनी लिस्टमा छन् । अमेरिकामा यस वर्ष ७० जना अर्बपति थपिएका छन् । अमेरिकाको न्युयोर्कबाट मात्रै एक सय १२ जना अर्बपति बनेका छन् । धेरै अर्बपति भएको राष्ट्रमा भारत तेस्रो स्थानमा छ । भारतमा एक सय ४१ अर्बपति छन् । 

भारतका एक नम्बर धनी अम्बानीले यस वर्ष २४ प्रतिशत सम्पत्ति बढाएका छन् । गत वर्ष उनको कुल सम्पत्ति ६७ अर्ब डलर थियो । यस वर्ष उनले ८३ अर्ब डलर पुर्याएको हुरुन ग्लोबलले उल्लेख गरेको छ । मुम्बईमा ६१, नयाँदिल्लीमा ४० तथा बैंग्लोरमा २२ जना अर्बपति भएका छन् । 

कोरोनाबीच अर्बपतिहरूको आम्दानी झनै बढ्यो
गत वर्ष कोरोना भाइरसका कारण नाम चलेका धेरै कम्पनी आर्थिक रूपमा कमजोर बने, तर केही कम्पनीले भने आम्दानीसमेत बढाएको हुरुन ग्लोबलले जनाएको छ । समग्रमा यस वर्ष अर्बपतिहरूले ३२ प्रतिशत सम्पत्ति जोडेका छन् । एसियाबाट समेत एक हजार ६ सय ५३ जना विश्वकै धनी लिस्टमा परेका छन् । 

२३१ जना महिला अर्बपति
हुरुन ग्लोबलले यो वर्ष दुई सय ३१ जना महिला अर्बपति बनेको जनाएको छ । अचम्म के छ भने ६६ प्रतिशत अर्बपति महिला चीनबाट छन् । हैनसोहका फाउन्डर झोङ हुजुआङ २३ अर्ब डलरका साथ चीनकै महिलातर्फ शीर्ष स्थानमा छिन् । वालमोर्टकी एलिस वाल्टन महिलातर्फ विश्वकै धनी हुन् । उनको कुल सम्पत्ति ७४ अर्ब डलर रहेको छ । 

यी हुन् विश्वका पाँच धनी व्यक्ति

१. एलन मस्क
कार उत्पादक कम्पनी टेस्लाका मालिक एलन मस्कले सुरुवाती करिअरमा धेरै क्षेत्रमा हात राखेका थिए । व्यापार, म्याग्नेट, औद्योगिक डिजाइनर, इन्जिनियर अमेरिकी एयरस्पेस निर्माता तथा अन्तरिक्ष सेवा कम्पनीका संस्थापक, सिइओ एलनले यो वर्ष एक सय ९७ अर्ब डलर धन आर्जन गरेका छन् । गत वर्ष उनको कुल सम्पत्ति एक सय ५१ अर्ब डलर थियो । यस वर्ष उनको आम्दानी २१ प्रतिशले बढेको छ । 

२. जेफ बेजोस
जेफ बेजोस एलनपछि विश्वकै दोस्रो धनी व्यक्तिमा पर्छन् । अमेजोन कम्पनीका संस्थापक बेजोसले यस वर्ष एक सय ८९ अर्ब डलर आर्जन गरेका छन् । बेजोसले अमेरिकाको इन्टरनेट सेवा, औद्योगिक, मिडिया तथा विभिन्न क्षेत्रमा लगानी गरेका छन् । बेजोसले अमेरिकामा दुई सय अर्ब डलर भएको व्यक्तिका रूपमा आफूलाई स्थापित गर्न कोसिस गरिरहेका छन् । सन् २०१८ मा उनी विश्वकै धनी व्यक्ति थिए । सन् १९९४ मा बेजोसले आफ्नो कम्पनी स्थापना गरेका थिए ।

३. बनान्र्ड अर्नाउल्ट
लक्जरियर्स वस्तु उत्पादन गर्ने कम्पनीका मालिक बनान्र्ड अर्नाउल्ट विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । लुइस भुइटन मोइट हेनेन्सी (एलभिएमएच) समूहका मालिक बनान्र्डले यस वर्ष एक सय १४ अर्ब डलर कमाएका छन् । विभिन्न क्षेत्रको अनुभव लिएपछि उनले आफ्नो करिअर लक्जरियस सामग्री उत्पादनतर्फ बढाएका थिए ।

४. बिल गेट्स
माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सले लामो समयसम्म विश्वका धनी व्यक्तिको ताज पहिराएका थिए । व्यापारमा आएको ह्रासका कारण उनी अहिले चौथो धनी व्यक्तिमा परेका छन् । यस वर्ष बिल गेट्सले एक सय १० अर्ब डलर कमाएका छन् । एकल परिश्रममै विश्वकै अर्बपति बन्ने व्यक्तिमा बिल गेट्स पनि पर्छन् । करिअरमा बिल गेट्स माइक्रोसफ्टका चेयरम्यान, प्रमुख कार्यकारी अधिकृत (सिइयो) साथै सफ्टवेर निर्माणका प्रमुखसमेत बने । सन् ७० र ८० को दशकमा कम्प्युटरमा आमूल परिवर्तन ल्याउनमा उनको योगदान अधिक मानिन्छ । वर्षभरि कमाएको सम्पत्तिमध्ये ३५.८ अर्ब डलर माइक्रोसफ्ट स्टक्स कोषमा उनले जम्मा गर्छन् । 

५. मार्क जुकरबर्ग
मार्क जुकरबर्ग सामाजिक सञ्जाल फेसबुकका संस्थापक हुन् । केवल २३ वर्षको उमेरमै उनी अर्बपतिको लिस्टमा पर्न सफल भएका थिए । यस वर्ष मार्कले एक सय एक अर्ब डलर कमाएका छन् । निकै छोटो समयमै उनले स्थापना गरेको सामाजिक सञ्जाल फेसबुक विश्वमै प्रसिद्ध भयो ।  

एजेन्सीको सहयोगमा

See More On

सुझावित समाचार