प्रि–मनसुरु सुरु, १८ जेठसम्म रहने

मंगलबार, १८ फागुन, २०७७
डिजिटल संस्करण

नेपालमा सोमबारबाट प्रि–मनसुन सुरु भएको छ । मौसमविद्का अनुसार आगामी १८ जेठसम्म रहने यो याममा हावाहुरी चल्नुका साथै मेघ गर्जन, चट्याङसहित असिनापानी पर्नेछ । नेपालमा सामान्यतः १० जुनबाट मनसुन सुरु हुन्छ । जाडोयामपछि र मनसुनअघिको अवधिलाई प्रि–मनसुन भनिन्छ । ‘यो याममा हावाहुरी बढी नै चल्छ, यो स्थानीय वायुको प्रभावले हो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले भनिन् । उनका अनुसार घाम लागेर जमिनसँगै वायु तातेपछि १२–१ बजेपछि हावाहुरी चल्ने सम्भावना बढी रहन्छ । 

विशेषगरी तराईमा फुसका घरसमेत हुने भएकाले यो याममा हावाहुरीले घरका छाना उडाउने समस्या हुन्छ । १७ चैत ०७५ मा बारा र पर्सामा आएको चक्रवातले दुई हजार ६ सय ३७ घरमा क्षति पुर्याएको थियो भने २८ जनाको ज्यान गएको थियो । ‘हावाहुरी धेरै चल्ने भएकाले यो याममा आगलागी र वनजंगलमा डढेलोका घटना पनि धेरै हुने गर्छ,’ वासीले भनिन्, ‘यसमा सजगता अपनाउनुपर्ने हुन्छ ।’

 पानी कम पर्ने, तापक्रम औसतभन्दा बढ्ने
प्रि–मनसुनलाई सुक्खायाम पनि भनिन्छ । खासै पानी पर्दैन, परे पनि खण्डवृष्टि हुन्छ । जस्तो, बानेश्वरमा पानी परिरहेका वेला बालाजुमा घाम लागिरहेको हुन्छ । ‘पश्चिमी वायु र मनसुनी प्रभाव भएको भए धेरै क्षेत्रमा एकैपटक पानी पर्ने हुन्छ,’ उनले भनिन्, ‘तर, यो याममा स्थानीयस्तरमा विकसित वायु रहने भएकाले एकैछिन फाटफुट पानी पर्ने हुन्छ ।’

 विश्व मौसम संगठनले यो वर्ष प्रि–मनसुन अवधिमा कम पानी पर्ने र तापक्रम पनि औसतभन्दा बढी रहने आकलन यसअघि नै गरिसकेको छ । विश्व मौसम संगठनले नेपालसहित १२ वटा मुख्य केन्द्रको आगामी तीन महिनाको वर्षा र तापमान आकलन गर्दा यस अवधिमा औसत तापमान सरदरभन्दा बढी हुने सम्भावना ६०–८० प्रतिशत छ । यसैगरी, यो अवधिमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४०–६० प्रतिशत मात्र छ । यद्यपि, सुदूरपश्चिम प्रदेशको उत्तरी क्षेत्रमा वर्षाको सम्भावना देखिएको जनाएको छ ।

गत वर्ष फेबु्रअरी–अप्रिल (१९ माघदेखि १७ वैशाख)मा औसत १८७ मिलिमिटर वर्षा भएको थियो । जसमा सबैभन्दा बढी ताप्लेजुङमा २३५ मिलिमिटर पानी परेकामा सबैभन्दा कम नेपालगन्जमा ५७ मिलिमिटर औसत वर्षा भएको थियो । गत वर्ष यी तीन महिनाको औसत तापक्रम २३.१ डिग्री सेल्सियस रहेकामा यो वर्ष बढ्ने आकलन गरिएको हो ।

यस वर्ष हिउँदयाममा निकै कम वर्षा भएको छ । यो अवधिमा कुल वार्षिक वर्षाको ६०.९ प्रतिशत पानी पर्नुपर्ने भए पनि औसत १५.४ मिलिमिटर मात्र वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ । गत हिउँदमा १५०.३ मिलिमिटिर वर्षा भएको थियो ।

सुझावित समाचार