प्रधानमन्त्री ओली भन्छन्– ममाथि शारीरिक हमला भए पनि अनौठो नमाने हुन्छ (भिडियोसहित)

सोमबार, १७ फागुन, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले आफूमाथि सम्पूर्ण रूपमा हमला भएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई पोखरामा सोमबार सम्बोधन गर्दै ओलीले सरकारले प्रभावकारी रूपमा काम गरेको देख्न नसक्नेहरूले सम्पूर्ण रूपमा हमला गरेको जिकिर गरे । 

उनले भने, ‘ममाथि शारीरिक हमला भएर तलमाथि भए पनि अनौठो नमाने हुन्छ ।’ उनले सतर्कता अपनाएको भन्दै प्रतिक्रियावादीसँग घुँडा नटेक्ने बताए । उनले देशलाई अन्धकारमा जानबाट रोक्न आवश्यक रहेको पनि बताए ।

ओलीले माधव नेपाल नेतृत्वमा छँदा कुनै कार्यक्रममा गएर बोल्नसमेत नपाउने गरेको दाबी पनि गरे । 
 

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहसँग बहुमत नरहेको जिकिर पनि गरे । उनले विधिवत् ढंगले बहुमत सिद्ध गर्न चुनौती दिएका छन् । बहुमत देखाउन केन्द्रीय कमिटी बैठकमा आउनुपर्ने र त्यो आधिकारिक बैठक अध्यक्ष र महासचिवले बोलाएको बैठक हुने उनको जिकिर छ । 

संसदीय दलको बैठक बोलाएर आफूलाई हटाउन र केन्द्रीय समितिको बैठक बोलाएर माधव नेपाललाई अध्यक्ष चयन गर्न उनले चुनौती दिए । तर, त्यो बैठक आफू र महासचिवले बोलाएको हुनुपर्ने उनको तर्क छ । 

केन्द्रीय सदस्य पनि हटाउने चेतावनी
आफूले नै नियुक्त गरेका संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइदिएको ओलीले बताए । केन्द्रीय सदस्य पनि आफैँले लेखेर दिएकाले हटाइदिने अधिकार पनि आफूसँग रहेको उनको भनाइ छ । ‘देवप्रसाद गुरुङलाई मैले नै नियुक्त गरेको हो, हटाइदिएँ । केन्द्रीय सदस्यहरूलाई पनि मैले नै लेखेर दिएको हो । मलाई हटाउने अधिकार छ,’ उनले भने ।

सुझावित समाचार