सोलुखुम्बुको लिखुपिके गाउँपालिका र सदरमुकाम सल्लेरीबीच अझै पनि सडक सञ्जाल जोडिएको छैन । स्थानीय सरकार गठन भएको तीन वर्ष भइसक्दा पनि लिखुपिके गाउँपालिका सदरमुकामसँग सडक सञ्जालले नजोडिएको हो ।
सीधा सडक नबन्दा लिखुपिकेका नागरिक आठ घन्टा पैदल यात्राबाट सदरमुकाम सल्लेरी धाउनुपर्ने बाध्यता रहेको छ ।
सल्लेरी आइपुग्न रामेछापको मन्थली–खुर्कोट–घुुर्मी–ओखलढुंगा हुँदै गाडी रिजर्भ गर्नुपर्छ । लिखुपिकेका नागरिक नागरिकता र राहदानी बनाउन सल्लेरी नै आउनुपर्छ । गाडी नचढ्ने हो भने घन्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । सदरमुकामसँग सडक जोडिन सकेको खण्डमा कम्तीमा पनि दुई घन्टामै सदरमुकाम पुग्न सकिने त्यहाँका स्थानीय बताउँछन् ।
‘सीधा सडक नबन्दा लिखुपिकेका नागरिक आठ घन्टा पैदल यात्राबाट सदरमुकाम सल्लेरी धाउनुपर्ने बाध्यता छ,’ लिखुपिके– १ का वडाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले भने, ‘सल्लेरी आइपुग्न रामेछापको मन्थली–खुर्कोट–घुुर्मी–ओखलढुंगा हुँदै गाडी रिजर्भ गर्नुपर्छ । लिखुपिकेका नागरिक नागरिकता र राहदानी बनाउन सल्लेरी नै आउनुपर्छ । गाडी नचढ्ने हो भने घन्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।’
सदरमुकाम पुग्न दुई जिल्ला पार गर्नुपर्ने बाध्यता
सदरमुकाम पुग्न पनि अन्य दुईवटा जिल्लाको सडक पार गर्नुपर्ने उनले बताए । सल्लेरीबाट लामजुरा हुँदै लिखुपिके जोड्ने सडकको काम सम्पन्न भएको छैन । तर, सोलु–दूधकुण्ड नगरपालिकाको भूभागबाट लामजुरासम्म पुग्न आठ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ ।
पिके हुँदै लामजुराको पैदल यात्रा गर्न समस्या हुने गरेको स्थानीय आङङिमा शेर्पाले बताए । बर्खाको समयमा जंगलको बाटो हिँड्नुपर्दा जंगली जनावरको जोखिम हुनका साथै आर्थिक भार पर्ने गरेको शेर्पाको गुनासो छ । हिउँदको समयमा पिके क्षेत्रमा अत्यधिक मात्रामा हिउँ पर्ने भएकाले पैदल यात्रा गर्न सम्भव नहुने उनको भनाइ छ ।
खाद्यान्न ढुवानीमा अरू जिल्लाको भर
सदरमुकामसँग सीधा सडक सञ्जाल नजोडिँदा लिखुपिकेमा रामेछाप, काठमाडौं र जिरीलगायत स्थानबाट खाद्यान्न ढुवानी गरिन्छ । सदरमुकाम नपुगी नहुने कामका लागि नागरिकले पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । तर, खाद्यान्न ढुवानीमा भने समस्या नभएको स्थानीयले बताए । सदरमुकामसँग सीधा सडक सञ्जाल नजोडिएको भए पनि रामेछाप हुँदै गाउँपालिकामा जोडिएको सडक प्रत्येक वडावडामा पुगेको छ । पाँचवटा वडा रहेको लिखुपिकेका हरेक वडामा ग्रामीण सडक विस्तार भइसकेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले बताए ।
सदरमुकामदेखि लामजुरासम्मको सडक विस्तारका लागि आर्थिक वर्ष ०७६/७७ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट ५० लाख बजेट विनियोजन गरी कार्यान्वयनको जिम्मा नगरपालिकालाई दिइएको थियो । सो रकमबाट साढे दुई किलोमिटर सडक विस्तार गरिएको छ ।
सोही सडक विस्तारको कामलाई सम्पन्न गर्न चालू आर्थिक वर्षमा पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रतिनिधिसभाका पूर्वसदस्य हेमकुमार राई शूरवीरले बताए । सडक विस्तार क्षेत्रमा घना जंगल परेकाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) बाँकी रहेकाले काम रोकिएको हो । इआइए प्रतिवेदन स्वीकृत भएपछि सडक विस्तारलाई तीव्रता दिने नगरपालिकाले जनाएको छ । सडक विस्तार क्षेत्रमा घना जंगल परेकाले इआइए निर्माण रोकिएको र स्वीकृतपछि सडक विस्तार गरिने शेर्पाले बताए ।