मिडवाइफी अभाव : अकालमा ज्यान गुमाउँदै मातृशिशु

नौ हजार मिडवाइफ आवश्यक, ११ जना मात्रै दर्ता

बिहिबार, १३ फागुन, २०७७
डिजिटल संस्करण

गत आर्थिक वर्ष २०७५/७६ मा जन्मिएका एक लाख शिशुमध्ये सात सय ४८ जनाको मृत्यु भएको थियो । कोरोना महामारीका कारण आधारभूत स्वास्थ्य सेवा समेत उपलब्ध नहुँदा मातृशिशु मृत्युदर बढेको स्वास्थ्य सेवा विभागको तथ्यांकमा उल्लेख छ । लकडाउनको अवधि (११ चैतदेखि ३१ कात्तिक)मा मात्रै पनि एक सय ३४ आमा र शिशुको मृत्यु भएको थियो । 

मातृशिशु मृत्युदर न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनले विभिन्न मापदण्ड तयार गरेको छ । जसमध्ये मिडवाइफ अर्थात् दक्ष प्रसूतिकर्मी पनि पर्छन् । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालमा हाल करिब नौ हजार मिडवाइफ आवश्यक छन्, तर नौ हजार मिडवाइफ हुनुपर्ने स्थानमा जम्मा ११ मात्रै उपलब्ध छन् । सुरक्षित मातृत्वका लागि मिडवाइफको उच्च माग भए पनि सरकारी तहबाट तीन वर्षअघि मात्रै मिडवाइफ अध्यनसम्बन्धी कार्यक्रम ल्याइएको थियो । 

सुरक्षित मातृत्व क्षेत्रमा नेतृत्व प्रदान गर्नका लागि सरकारले ०६२ सालमा मिडवाइफ उत्पादनसम्बन्धी दीर्घकालीन नीति पनि अवलम्बन गरेको थियो । तर, करिब एक दशकपछि मात्र ०७२ सालमा निजीस्तरको काठमाडौं मेडिकल कलेजले मिडवाइफ कार्यक्रम सुरु ग¥यो । त्यसपछि ०७३ सालमा सरकारी तवरबाट न्याम्स (नेसनल एकेडमी अफ मेडिकल साइन्स, वीर अस्पताल) ले स्नातक तहको मिडवाइफ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यसबाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पनि मिडवाइफ कार्यक्रम सञ्चालन छ । यी सबै शैक्षिक संस्थामा हाल मिडवाइफको दोस्रो ब्याचले अध्ययन गरिरहेका छन् । न्याम्सबाट मात्रै यो १४ जना मिडवाइफ पासआउट हुनेछन् । 

नर्सबाटै काम चलिहाल्छ भन्ने मानसिकताले मिडवाइफ न्यून 
 डा. लक्ष्मी तामाङ
प्रमुख, मिडवाइफ्री सोसाइटी अफ नेपाल

अन्तर्राष्ट्रिय स्तरमा मिडवाइफ स्नातक तहका लागि तीन वर्षे कोर्स पूरा गर्नुपर्ने हुन्छ । अर्थात् प्रमाणपत्र तह नर्सिङ गरेकाहरूले नेपालमा मिडवाइफको कोर्स निजीमा चारवर्षे र सरकारी शैक्षिक संस्थामा तीनवर्षे कोर्स पढ्न पाउँछन् । तर, मिडवाइफ्री सोसाइटी अफ नेपालकी प्रमुख डा. लक्ष्मी तामाङका अनुसार नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन भए पनि उत्पादन निकै कम छ । उनी भन्छिन्, ‘सुरक्षित मातृत्वका लागि कामचलाउको रूपमा नर्सहरूले नै मिडवाइफको काम गरिरहेका छन् ।

केही महिना मिडवाइफसम्बन्धी तालिम लिएको वा पढेको भरमा मिडवाइफको जिम्मेवारी नर्सले निभाइरहेका छन् । नर्स हुँदाहुँदै मिडवाइफ किन चाहियो भन्ने मानसिकता छ, जसले मातृ स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ ।’ मिडवाइफले मातृशिशु र सुत्केरी गराउने विषयमा विशेष ज्ञान ह्रास गर्ने हुँदा उनीहरूमार्फत सुत्केरी गराउँदा जोखिम कम हुन्छ । तर, दुई महिनाको सामान्य तालिमका भारमा प्रसूति गराउँदा मातृशिशुकै जीवनमा जोखिम हुने चिकित्सकहरू नै बताउँछन् ।

मिडवाइफहङले प्रसूति गराउँदा ८३ प्रतिशत सुरक्षित हुने गरेको अध्ययनले देखाएका छन् । विशेष अवस्था अर्थात् शल्यक्रिया नै गर्नु परे मात्रै विशेषज्ञ चिकित्सक आवश्यक पर्छन । तर, सबै स्वास्थ्य संस्थामा दक्ष चिकित्सक उपलब्ध नहुँदा मिडवाइफको आवश्यकता झन् बढी देखिन्छ । 

दुईमहिने तालिमको भरमा प्रसूति सेवा 
देशभरिका सरकारी स्वास्थ्य संस्थामा सात हजार ६ सय मिडवाइफ र तीन सय मिडवाइफ अफिसर आवश्यक रहेको सरकारी तथ्यांक छ । तर, सरकारले ‘स्किल वर्थ एटेन्डेन्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकीहरूमा १८ महिने कोर्स गरेका अनमीलाई दुईमहिने तालिमको भरमा प्रसूतिको जिम्मेवारी दिएको छ ।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी टुईटुईका अनुसार नेपालमा नर्सिङको पाठ्यक्रममा थोरै मिडवाइफसम्बन्धी विषयवस्तु राखिएको छ, जसको आधारमा पिसिएल नर्स र अनमीहरूले प्रसूति गराउँदै आएका छन् । उनी भन्छिन्, ‘दुई महिनाको ‘स्किल वर्थ एटेन्डेन्स’ तालिम लिइसकेपछि केही हदसम्म दक्ष छन् भन्ने आधारमा अनमीहरू प्रसूति सेवामा संलग्न गराइन्छ । अहिले मिडवाइफ उत्पादनमा जोड गर्नुपर्ने आवश्यक देखिन्छ, तर नेपालमा तीनओटा कलेजमा मात्रै यो कार्यक्रम रहेको छ । दक्ष जनशक्ति र प्रयोगात्मक क्षेत्रको अभावका कारण तत्काल आवश्यकता पूरा गर्न गाह्रो देखिन्छ ।’ 

प्रसूति अस्पतालमा दैनिक ७५ जनाको प्रसूति, मिडवाइफ जम्मा ५ जना
 आशा लक्ष्मी शाक्य, नर्सिङ प्रमुख, परोपकार प्रसूतिगृह

नेपालकै सबैभन्दा ठूलो प्रसूतिगृह परोपकार प्रसूतिगृह थापाथलीमा जम्मा पाँचजना मिडवाइफ छन् । यहाँ दैनिक ७० देखि ७५ जनाको प्रसूति हुन्छ । परोपकार प्रसूतिगृहमा एक सय ८० जना नर्स कार्यरत छन् । अस्पतालकी नर्सिङ प्रमुख आशा लक्ष्मी शाक्यका अनुसार प्रसूतिगृहमा मात्रै करिब ४० भन्दा बढी मिडवाइफ आवश्यक छ । उनी भन्छिन्, ‘सुरक्षित प्रसूतिका लागि नर्ससँगै मिडवाइफको सहकार्य आवश्यक छ । तर, हामीसँग जम्मा पाँचजना मात्रै छन्, पाँचजनामध्ये पनि ड्युटीको आधारमा सबै समय उपलब्ध गराउन नसकिने हुँदा एक समयमा एक वा दुईजना मात्रै अस्पतालमा रहन्छन् ।’

अर्थात् एकजना मिडवाइफले दैनिक सयभन्दा बढी प्रसूतिको केसहरू हेर्नुपर्ने बाध्यता छ । हाल नेपालमा उपलब्ध मिडवाइफहरूमध्ये पाँचजना परोपकार प्रसूतिगृह थापाथली, जुम्ला, संखुवासभा, कीर्तिपुर अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पतालमा एक–एकजना कार्यरत छन् । एकजना भने स्वास्थ्य समस्याका कारण अस्पतालमा कार्यरत छैनन् ।  

सुझावित समाचार