नेपोलियनको युद्धकला

मंगलबार, ११ फागुन, २०७७
डिजिटल संस्करण

फ्रान्सका सम्राट् नेपोलियन बोनापार्ट सन् १८०३ मा गठबन्धन युद्धमा सहभागी थिए । युद्धमै रहँदा एक दिन उनी आफ्नो पालमा मस्त सुतिरहेका थिए । मध्यरात्रिमै अचानक अंगरक्षकले उनलाई बिउँझाउँदै भने, ‘महाराज, सेनापति तपाईंसँग तत्कालै भेट गर्न चाहनुहुन्छ ।’ नेपोलियनले कोल्टे फेर्दै भने, ‘सोध के कुरा हो ।’

सेनापतिको कुरा लिएर अंगरक्षक लगत्तै उनका अघिल्तिर आए र भने, ‘दक्षिणतिरबाट शत्रुको सेनाले हमला गरेछन् । अब के गर्ने भनेर सेनापति तपााईंसँग छलफल गर्न चाहनुहुन्छ ।’ नेपोलियन अंगरक्षकको कुरा सुनेर अलिकति पनि विचलित भएनन् । उनले सेनापतिलाई नबोलाई अंरक्षकलाई भने, ‘कुनाको बक्सामा ३४ नम्बरको एउटा नक्सा राखिएको छ । त्यो सेनापतिलाई देऊ र बिहान आएर मलाई युद्धको रिपोर्टिङ गर्न भन ।’

त्यो नक्सामा दक्षिणतिरका सेनाले आक्रमण गरेमा जवाफी कारबाही कसरी गर्ने भन्ने युद्ध रणनीति तय गरिएको थियो । नेपोलियनको सेनाले त्यहाँ लेखिएअनुसार नै युद्ध लड्यो र विजय हासिल गर्यो । भोलिपल्ट सेनापतिले विजयको सूचना दिँदै नेपोलियनलाई सोधे, ‘यति छिट्टै युद्धको योजना कसरी बनाउनुभयो ? के कुनै देवताले तपाईंलाई मद्दत गरेका हुन् ?’

नेपोलियनले जवाफ दिए– ‘हो, विचार र दूरदर्शिता नामक दुई देवता सधैँ मेरा साथमा छन् । उनैले भविष्यको सम्भावनाप्रति मानिसले पहिलादेखि नै जागृत र सावधान हुनुपर्छ भन्ने सिकाए ।’ कुनै पनि व्यक्तिमा विचार र दूरदर्शिता भयो भने जतिसुकै अप्ठेरो अवस्थामा पनि आत्तिनुपर्दैन ।

सुझावित समाचार