नयाँ वर्षमा करिश्माको कोसेली : आत्मकथा

सोमबार, १० फागुन, २०७७
डिजिटल संस्करण

चालीसको दशकमा नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर अभिनय, सिनेमा निर्माण, राजनीति, अध्ययनलाई समेटेर पुस्तक लेख्दै 

बिहान सबेरै उठ्ने, मर्निङवाकमा निस्कने, त्यसपछि दिनभर लेखेर बस्ने । अचेल अभिनेत्री करिश्मा मानन्धरको दैनिकी यसरी नै बित्ने गरेको छ । नेपाली सिनेमा क्षेत्रमा तीन दशक बिताइसकेकी करिश्माले कैयौँ खुसीका पलहरू, अप्ठ्यारा सम्बन्ध र पीडाहरूलाई पटुकी कसेर बसेकी थिइन् । तिनै उहापोहलाई पुस्तकको रूप दिँदै छिन् । आफ्नो जीवनकथा (आत्मकथा) का ५०–६० हजार शब्द उतारिसकेकी छिन् । कथाका शृंखला थपिँदै गएका छन् । जति लेख्दै गयो, उति विगततिर बरालिँदै पनि छिन् । विगतका ती उज्याला दिनहरू, अँध्यारा रातहरू फेरि ब्युँतिइरहेका छन् । 

पहिलोपटक ‘सन्तान’ चलचित्रमा काम गर्दाका अनुभूति र घटना होस् या अमेरिकातिर बरालिँदाका । अथवा, सन् ९० को दशकको व्यस्त जीवनका कथा होस् या आमा र मामाघरका स्मृतिहरू । सबै सबैलाई सिलसिलेबर गरिरहेकी छिन्, चलचित्रसँग नभएको साइनो, चलचित्रसँग बनेको साइनो र त्यसमार्फत करिश्माको चम्किएको करिश्मा । सात कक्षामा पढिरहँदा त उनले खासै चलचित्र नै हेरेकी थिइनन् ।

सानैमा मामाघर बसेकी थिइन्– सिन्धुपाल्चोक । आमाका पिता अर्थात् हजुरबा बितेपछि मामाघर गएकी थिइन् । सात वर्षसम्म मामाघरको बसाइ बिट मार्दै काठमाडौं फिरिन्– थापागाउँ । करिश्माका दुई आमाका सम्बन्धदेखि इलामको ब्यारेकमा गणपति भएकै अवस्थामा नवमीको दिन बितेका पिताका कथा लेखिरहेकी छिन् । लेखिरहँदा कहिले भावुक हुन्छिन् ती दिन सम्झेर । कहिले उत्साहित हुन्छिन् । कहिले उदास त कहिले खुसी । हरेक दिन विगततिर फर्कदा कहिले त उकुसमुकुस पनि हुन्छिन् । ‘बिर्सिकेका घटना र दिनहरू आँखैअघि आइदिन्छन् । जति खोतल्दै गयो उति धेरै कुरा आउँदा रहेछन्,’ उनी सुनाउँछिन् ।

एक समय थियो, नेपालमा पाकिस्तानी चलचित्र खुबै सुटिङ हुने गथ्र्यो । चालीसको दशकमा एकाध नेपाली चलचित्र पनि बन्ने गर्थे । त्यहीवेला करिश्मालाई उज्ज्वल घिमिरेले ‘फोटो खिचौँ चलचित्रका लागि’ भनेर प्रस्ताव राखे । उक्त चलचित्र ओम प्रोडक्सनमा पुगेर पनि पाकिस्तानी चलचित्रका टिमसम्म पुगिसकेछ । यसपछि चलचित्रको टिमबाट भेट्न अनुरोध आयो उनलाई चोभारमा । टिमले उनलाई हेरेपछि प्रतिक्रिया दियो, ‘ओहो, यो त बच्चै छ । बच्चाको भूमिका सुहाउला बरु । राम्री त राम्री छिन् । तर, अहिल्यै वेला भएको छैन, पछि हेरौँला ।’ 

समय बित्दै गयो । करिश्मा हुर्र्कदै गइन् । र, चलचित्रमा डेब्यु गर्ने साइत जुर्यो– ‘सन्तान’मा । भगवानदास श्रेष्ठ, उज्ज्वल घिमिरे, अर्जुनजंग शाहीलगायतको टिम ‘सन्तान’ बनाउन कस्सिएको थियो । र, छोटो भूमिका पाइन् एक गीतसहितको । सात कक्षामा पढिरहेकी करिश्मा यसपछि बिस्तारै हुर्कदै गइन् । ‘सन्तान’ हुर्किएर हलमा पनि पुग्यो । यता नेपाली चलचित्र पनि हुर्कन थाल्यो । उता करिश्मा पनि हुर्कँदै गइन् । दुवै सँगसँगै हुर्किए ।

बीचमा निर्देशक प्रकाश थापासँग करिश्माको झगडा पर्यो । त्यो पनि चलचित्र क्षेत्रमा पाइला राखेकै समयमा । सुटिङको क्रममा थापालाई करिश्माले ‘जा बुढो’ भनेकी थिइन् । यसको असर पछि देखियो । थापा बम्बईमा काम गरेर आएका निर्देशक थिए । अभिनय, सम्पादन, निर्देशनको ज्ञान भएका । पछि थापाले अरू मान्छेलाई करिश्माबारे भनेको थाहा पाइन्, ‘यो त सन्की रहिछे ।’ यसपछि करिश्माका हातबाट धेरै चलचित्र गए । करिश्माका हातमा चलचित्र आउनै छाडे । 

दोस्रो चलचित्र ‘निष्ठुरी’मा शम्भु प्रधानसँग काम गरिन् । ‘निष्ठुरी’ एक महिना मात्रै सुटिङ भएर निष्ठुरी नै बन्यो । चलचित्र निर्माण रोकियो । तर, लगत्तै करिश्माले उनै प्रधानसँग ‘मायालु’मा काम गरिन् । छ, सात गीत थिए । दिनभरि सार्वजनिक गाडी चढेर सुटिङमा जान्थिन् । धेरै कुरा थाहा पाएकी थिइनन् । ‘मायालु’ले सिकायो । यसपछि पढ्न पनि गइन् बम्बई ।
पढ्न त करिश्मा अहिले पनि पढिरहेकी छिन्, प्लस टु ।

आठ कक्षाबाट स्कुल गएर सरासर पढेर एसइई दिएकी थिइन् । ती कक्षाहरू, जो करिश्माले उमेरमा पढ्न सकिनन् । उमेरअनुसार पढ्न छुटाइन् । मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सात पढ्दापढ्दै पढ्नै छाडिदिएकी उनले ३२ वर्षपछि स्कुल टेकेकी थिइन् । स्कुल टेक्दाको करिश्माको अनुभव छँदै छ । साथै जब क्लासमा छिर्थिन् र सहपाठीहरू देख्थिन् अनि सोच्थिन्, ‘मैले यो समय छुटाएँको थिएँ । यही जीवन छुटाएकी थिएँ । तर, अब फेरि यही जीवनमा फर्कँदै छु । यही जीवन बाँच्दै छु ।’ यसपछि करिश्मामा पढ्ने जाँगर आउँथ्यो । ‘मैले आठ कक्षादेखि एसइईसम्म एक दिन पनि क्लास छुटाइनँ । बिहान ९ बजेदेखि साँझ ६–७ बजेसम्म स्कुलमै हुन्थेँ । यसरी तीन वर्ष बिताएँ ।’ 

‘भाग्यरेखा’मा करिश्माले पहिलोपटक अभिनेता राजेश हमालसँग काम गर्दाका अनुभूति लेखिरहेकी छिन् । यसपछि हमालसँगै गरेका चलचित्रहरूबारे लेख्नेछिन् । अमेरिका गइन् । त्यहाँ एक किसिमको संघर्ष थियो करिश्माको । आफ्नै निर्माणमा बनेको ‘बाबुसाहेब’ असफल बनेपछि अमेरिका गइन् । एक दशकपछि फेरि नेपाल फिरिन् । चलचित्रहरू गरिन् । चलचित्रका गीतमा नाचिन् । राजनीतिमा लागिन् । त्यो चर्चाको विषय बन्यो । पछि बाबुराम भट्टराईको नयाँ शक्ति छाडिन् । अहिले राजनीतिमा उनलाई त्यति चासो छैन ।

सन् १९९१ मा विनोद मानन्धरसँग विवाह गरेपछि केसीबाट मानन्धर बनेकी थिइन् करिश्मा । अहिले त ३० वर्षको भइसक्यो विनोद–करिश्माको वैवाहिक जीवन । यसबीचमा चित्त दुखाइ भए होलान् । खुसीका पलहरू भए होलान् । अप्ठ्यारोमा साथ र हौसला थिए होलान् । सन् १९९४ मा छोरी कविता मानन्धर जन्मिइन् । छोरीलाई बोेकेर सुटिङमा गइन्, आइन् । ‘यी सबै कथालाई लेख्दै छु । विनोदको साथ, सहयोग । कविताप्रतिको माया, स्नेह सबै लेख्दै छु । मेरो जिन्दगीको प्याकेज बनेर आउँदै छ आत्मकथा,’ गोदावरीको घरमा कुराकानी गर्दै करिश्माले सुनाइन् ।

करिश्माले आत्मकथा ल्याउने चर्चा ६ वर्षअघिदेखि नै थियो । तर, योबीचमा उनको आत्मकथा आएन । बरु धेरै घटनाहरू थपिए । उनले एसएलसी पास गरिन् । राजनीतिबाट बाहिर निस्किइन् । यसपटक भने आत्मकथा जसरी पनि ल्याउने योजनामा छिन् । १ वैसाखमा विमोचन गर्ने उनको चाहना छ । ‘फागुन महिनाभरमा सकिन्छ होला किताब । त्यसपछि अन्तिम काम गरेर १ वैशाख विमोचन गर्ने योजना छ । तर, हेरौँ के हुन्छ । किताब त वैशाखमै आउँछ,’ करिश्माले सुनाइन् ।

सुझावित समाचार