आन्द्रेई स्टेनिन अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता सुरु

बिहिबार, ६ फागुन, २०७७
डिजिटल संस्करण

सातौँ आन्द्रेई स्टेनिन अन्तर्राष्ट्रिय फोटो प्रतियोगिताका लागि मस्कोमा आवेदन लिन सुरु भएको छ । यस प्रतियोगितामा संसारभरका युवा व्यावसायिक फोटो पत्रकार (१८–३३ वर्ष) ले भाग लिन पाउनेछन् । यस प्रतियोगिता आयोजना गर्नुको उद्देश्य युवा फोटो पत्रकारलाई सहयोग गर्नु र फोटो पत्रकारिताको चुनौतीबारे आममानिसलाई ध्यान आकर्षित गर्नु रहेको छ । यो प्रतिभाशाली युवा फोटो पत्रकारका लागि अवसर रहेको आयोजकको भनाइ छ । 

प्रतियोगिताका लागि युवा पत्रकारले एकल फोटो चार विधामा बुझाउन सक्छन् । तिनीहरूमा टप न्युज, स्पोर्टस्, माई प्लानेट र पोट्रेट : अ हिरो अफ आवर टाइम रहेका छन् । यस प्रतियोगिताका लागि २८ फेब्रुअरी २०२१ सम्म भाग लिन पाइनेछ । सन् २०२१ का लागि प्रत्येक विधामा पहिलो, दोस्रो र तेस्रो हुनेका लागि क्रमशः एक लाख २५ हजार, एक लाख र ७५ हजार रबल छ । 

तर, प्रतियोगितामा भाग लिनेमध्ये सबैभन्दा उत्कृष्ट फोटोले सात लाख रबल प्राप्त गर्नेछ । उत्कृष्ट फोटोलाई युरोप, एसिया, ल्याटिन अमेरिका, अफ्रिका र मध्यपूर्वका विभिन्न सहरमा प्रदर्शनी गरिनेछ । प्रदर्शन आयोजक ओक्साना ओलेइनिकले हरेक नयाँ वर्षमा फोटो प्रतियोगिता थालनी गर्नु उत्साह र आनन्ददायक क्षण भएको बताए । कोडिभ– १९ को यो अप्ठ्यारो समयमा यो प्रतियोगिताले नयाँ यथार्थ, बानी र कामको नयाँ अवस्थालाई उजागर गर्ने उनको भनाइ छ । 

आन्द्रेई स्टेनिन रोसिया सेगोड्न्या नामको समाचार एजेन्सीको विशेष फोटो पत्रकार थिए । जसको मृत्यु काम गर्ने सिलसिलामा भएको थियो । उनैको नामबाट यो प्रतियोगिताको नाम राखिएको हो । यो फोटा प्रतियोगिता युनेस्कोका लागि रसियन फेडेरेसन आयोगको संरक्षकत्वमा रोसिया सेगोड्न्याले आयोजना गर्छ । यस प्रतियोगितामा भाग लिन चाहने युवा फोटोपत्रकारले https://stenincontest.com मा गएर आवेदन दिन सक्नेछन् ।

सुझावित समाचार